
मुलुक भित्रै पहिचानको संघर्ष गरिरहेका मधेसीसमूदायले चार हजार वर्ष अगाडि काठमाडौंको निर्माणमा भूमिका खेलेको ऐतिहासिक दस्तावेज सहित दावी गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र झाले पानीपोखरीका रुपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारडाँडाबाट बगेपछि समथर भूभागबाट आएका पशुपालकहरुले चार वर्षअगाडि पशुपतिनाथ मन्दिर र काठमाडौंको निर्माणमा भूमिका खेलेको दावी गरे । 'उनीहरु गोपालवंशी थिए,' झाले भने 'नेपालको निर्माण हुन अघि अस्तित्वमा रहेको विदेह गणराज्यबाट आएर उनीहरुले नेपालको निर्माण गरे ।'
गोपाल र महिषपाल मिलाएर ७ सय वर्ष उनीहरुले साशन गरेको ऐतिहासिक चर्चा गर्दै झाले साशकहरुले पृथ्वीनारायण शाहपछिको २ सय ६५ वर्षको समयलाई मात्रै 'हाइलाइट' गरेर त्यसअघिको पूरानो इतिहासलाई निमिट्यान्न पार्न खोजेको बताए ।
गोपालवंशपछि काठमाडौंमा लिच्छिविकाल, भित्रि मधेसमा सेन वंश र तल्लो क्षेत्रमा कर्नाटक वंश मार्फत मधेसीले नेपालको निर्माणमा भूमिका खेलेको झाको दावी थियो ।
नयाँ शक्तिले आयोजना गरेको नेपाल निर्माणमा गोपलवंशको निर्माण विषयको अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै झाले शासक वर्गले मधेसीलाई भारतीय र विखण्डानकारीका रुपमा देख्नु र विखण्डनको नारा बोकेका एकथरीले मधेसलाई मात्र आफ्नो भन्नु गलत भएको उल्लेख गरे । 'सिंगो नेपालमाथि मधेसीको स्वामित्वको ऐतिहासिक प्रमाण छ,' उनले भने 'मधेसीले आफूलाई राष्ट्र निर्माताका रुपमा बुझ्नुपर्छ ।'
कार्यक्रममा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नेपालको कुरा गर्दा मानव सभ्यताको विकास तल्लो क्षेत्रमा पहिले देखिएकाले निश्चित रुपमा नेपाल निर्माणमा उनीहरुको भूमिका रहेको चर्चा गरे । कांग्रेस नेता प्रदीप गिरीले भक्तिभावमा लेखिएको इतिहास शाहवंशीय खालको भएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा त्रिविका पूर्व प्राध्यापक इतिहासविद् त्रिरत्न मानन्धर, राजविराज क्याम्पसका इतिहासका प्राध्यापक पिताम्बर लाल यादव र रामरिझन यादव लगायतले मधेसको ऐतिहासिकताबारे चर्चा गरेका थिए ।
Post a Comment