
चार महिनासम्म सरकारले भाडा नदिएपछि घरबेटीले समेत ताकेता गरेपछि पूर्वराष्ट्रपतिले अन्यत्रै सारिदिन भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो सुन्न पठाएका स्वकीय सचिव ईन्द्र भण्डारीसँग पूर्वराष्ट्रपतिले अर्को घरको व्यवस्था गर्न आग्रह गरेका हुन् ।
‘धेरै हिसावले यो घर बस्न असहज भयो,’ पूर्वराष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘अरुतिरै सारिदिए हुन्थ्यो ।’
पूर्वराष्ट्रपतिको स्वकीय सचिवालयले सरकारलाई घरमा भएको समस्याबारे लिखितरुपमै जानकारी पठाएको छ ।
विद्या भण्डारी निर्वाचित भएकै दिन कात्तिक ११ गतेदेखि पूर्वराष्ट्रपति यादवलाई सरकारले बागडोलस्थित भाडाको घर उपलब्ध गराएको थियो ।
पूर्वराष्ट्रपति यादवले निवासमा खानेपानी, बिजुलीको समेत राम्रो व्यवस्था नभएको गुनासो राखेका थिए । उनले अग्लो पर्खाल नभएकाले घरमा सुरक्षासमेत नभएको, सुरक्षाकर्मीलाई बस्ने आवासको राम्रो व्यवस्था नभएको जानकारी गराएका थिए ।
पूर्वराष्ट्रपति यादवले घर माथि बिजुलीको हाइटेन्सन लाइन हुँदा स्वास्थ्यमा गम्भीर समस्या हुने र जोखिमपूर्ण भएको गुनासो गरेका अधिकारीले जानकारी दिए ।
घरबेटी रविभक्त विष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि पूर्वराष्ट्रपतिलाई अन्यत्रै सारिदिन सरकारसमक्ष लिखित निवेदन दिएका थिए । पूर्वराष्ट्रपतिले पनि उक्त घरमा बस्न असहज महसुस गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले गुनासो सुन्न स्वकीय सचिवलाई निर्देशन दिएका थिए ।
Post a Comment