
बसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने होलीलाई सदभाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एकआपसमा रंग दलेर यो पर्व मनाउने चलन छ ।
काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुको मौसम केही चिसो भए पनि लोला हान्ने, पानी छ्पाप्ने र अबिर लगाइदिएर होली खेल्ने क्रम जारी छ । बिभिन्न सामाजिक संस्थाहरुले होली मिलन समारोह लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरेका छन् ।
विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ । होलीको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिङ्गलाई टोल टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ ।
होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
Post a Comment