
बेलबारीको सोमबारे साप्ताहिक पशुहाटमा असुविधाका कारण विक्रेता, व्यापारि र ग्राहकको संख्यामा ५० प्रतिशतले कमी हुँदा नगरपालिकाको आफ्नै लापरवाहीका कारण आयस्रोत नै घट्ने संभावना बढेर गएको छ ।
बजारमा पिउनेपानी, उपयुक्त स्थानमा शौचालय, टहरा, गोठ जस्ता पुर्वाधारको अभावले ग्राहक तथा व्यापारीहरु बजार आउनै छाडेको व्यापारीहरु बताउँछन । बेलबारी नगरपालिकाले आर्थीक वर्ष २०७२–०७३ को लागी ३५ लाख ७ हजार रुपैयाँमा स्थानिय दिवराज राईलाई ठेक्का दिएको छ ।
तर नगरपालिकाले बजारको सुविधाका लागि भनेर ७ हजार पनि खर्च नगरेको स्थानिय व्यापारी तथा ठेकेदारहरु बताउँछन । भएको एउटा शौचालय समेत व्यवस्थित र उपयुक्त स्थानमा नहुँदा बजारका लागी आएका मानिसहरु नजिकैको लोहन्द्रा खोलको किनार, पारिपट्टि सिसौघारी धाउन बाध्य छन ।
यसबाट खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्यको बेलबारी नगरपालिकाले खिल्ली उडाएको छ । यस्तो तरिकाले नगरपालिकाले बजारको विकास त कता हो कता संरक्षण पनि गर्न नसक्ने बेलबारी ३ बाट बजारमा आएका कुलमान बस्नेतले बताए ।
उनले भने, “नगरपालिकाको हेलचेक्राई हो यो, यस्तो तालले बजार छिट्टैै विस्थापित हुनसक्छ ।” “राजस्व चैँ लाखमा उठाउने तर सुविधा भने सय रुपैयाँको पनि नदिँदा पहिलेको तुलनामा अहिले बजार सुकेको छ” उनले थपे ।
बजारकालागी अनुकुल समय ( सिजन ) भएपनि यि यस्तै असुविधाका कारण बजारमा मानिसहरुको संख्या न्युन हुँदै गएको विगत लामो समय देखि हप्तै पिच्छे बजार आउने बाहुनी २ का टंक प्रसाद ढकाल बताउँछन ।
बजारको विकास र संरक्षणकोलागी नगरपलिका कार्यालयले चासो नदिँदा अहिले आउँदै गरेका ग्राहकहरुले समेत गुनासो गर्ने गरेको विगत २५ वर्ष देखि पशु खरिद विक्री गर्दै आएका बेलबारी पशुहाटका मुख्य व्यापारी मध्येका एक दर्वेशाका शेरु चिरौटि बताउँछन । उनि भन्छन, “न शौचालय छ, न पिउने पानि छ, न बस्ने ठाउँ छ, यस्तो बजारमा कसरी आउँछन ग्राहक ? राजस्व मात्रै उठाउने अनि बजार व्यवस्थापनकोलागी चासो नदिने नगरपालिकाको यो चालाले बजार विस्थापित हुन्छ होला ।” नगरपालिकाले बजारमा सुरक्षाकोलागी समेत चासो नदिएको उनको भनाई छ । पशुहाट परिसर मै गोठ बनाएर बस्दै आएका अर्का व्यापारि राजु मियाँले सितल ताप्ने छहारी समेतका आधारभुत पुर्वाधार नहुँदा साह्रै गाह्रो भएको ग्राहकले गुनासो गर्ने गरेको सुनाए । २०४२ साल देखि पशु खरिद विक्री गर्दै आएका मियाँले “वर्षाको मौषममा बजार परिसर हिलाम्ये हुने गर्छ, गिट्टि बालुवा हाल्न नगरपालिकाले चासो दिए त्यो समयमा पनि बजार राम्रै चल्थ्यो”, मियाँले भने ।
मरेका पशुहरु र फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा पशुहाट क्षेत्रमा दुर्गन्ध फैलने गरेको छ । सोहि कारण विभिन्न सरुवा रोग लाग्ने जोखिम समेत बढेर गएको स्थानियबासी बताउँछन । विगत १५ वर्ष देखि राजस्व संकलन गर्नकालागी खटाईएका पुष्प घिमिरेले विगतको तुलनामा बजार आधा सुकेको बताए । “सुविधा केहि छैन, व्यापारि आउनै छाडे ।”
सुंगुर बंगुरको व्यापार बढी हुने मोरङ जिल्ला मध्येकै बजार बेलबारी पनि एक हो । तर अहिले यिनै समस्याका कारण बजार सुक्दै गएको विगत ७ वर्ष देखि सुंगुर वंगुर व्यापार गर्दै आएका देवदास राई बताउँछन । उनि भन्छन, “सौचालय र पिउने पानिको बजारमा अभावका कारण नजिकै रहेको मेरो घर मै लगेर व्यापारि साथीहरुलाई उनिहरुको समस्या टार्ने गरेको छु ।”
यी समस्याहरुको समाधानमा थोरै बहुत सहयोग गर्ने कर्तव्य त तपाईहरुको पनि होला नि भन्ने प्रश्नमा प्रमुख ठेकेदार दिवराज राईले, “हामिहरुले एक मुष्ट नगरपालिकालाई बुझाउने राजस्व ठेक्का हाल्दै बुझाईसकेका छाँै, राजस्व निकासी भएको १ प्रतिशत पनि बजार व्यवस्थापनमा खर्च नगर्दा यो अवस्था आएको हो ।
Post a Comment