
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चीनसँग ईन्धन सम्झौता हुन्छ । ईन्धन आपूर्ति गर्ने विषयमा एमओयू भईसकेको छ । दुई देशका आयल निगमबीच पनि धेरै कुरा भईसकेकोले सम्झौता हुन्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै बेला सम्झौता हुने विश्वास व्यक्त गर्दै नभए त्यसपछि तुरुन्तै हुने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमण दलमा आफू नपरेकोले सम्झौता नहुने हो कि भन्ने जिज्ञासामा उनले आफू भ्रमणमा जाँदा वा नजाँदा सम्झौतालाई कुनै फरक नपर्ने बताए । प्रधानमन्त्रीको भ्रमण टोलीमा परे नपरेको कारणको विषयमा आफूलाई भन्दा पनि प्रधानमन्त्रीलाई सोध्न आग्रह गरे ।
‘यो भ्रमण प्रधानमन्त्रीको हो त्यसैले यसमा म पर्ने कि नपर्ने भन्ने कुरा मलाई भन्दा प्रधानमन्त्रीलाई सोध्दा राम्रो हुन्छ,’ पुनले भने । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन, स्वतन्त्र ब्यापार, रोड कनेक्टीभटी र ईन्धन लगायतका सम्झौता हुने बताए ।
चाँडै इन्धन आपुर्ति सहज हुने बताउँदै उनले भने, ‘अहिले ८९ हजार ६ सय किलोलिटर डिजेल आएको छ । हामीले १५० किलोलिटर माग गर्दै छौं त्यसपछि सहज हुन्छ ।’ ग्यास पनि ३३ हजार मेट्रिक टन माग गरेकोमा २१ हजार मात्रै आएको भन्दै उनले सबै उपाय अपनाएर एक–दुई महिनामा आपूर्ति सहज बनाउने दावी गरे ।
पुनले अहिले मुलुकमा पेट्रोलियम पदार्थको भण्डारन ७१ हजार किलोलिटर मात्र रहेको र यसले १५ दिनका लागि मात्रै पुग्ने भन्दै नयाँ निर्माण र पुरानाको क्षमता विस्तार गरेर ९० दिनको भण्डारनको ब्यवस्था गर्न लागेको जानकारी दिए ।
यसका लागि पाँचखाल, बट्टार र खैरेनीटरामा जग्गा प्राप्तिको प्रतिवेदन आईसकेको, सबै प्रदेशमा भण्डारनको ब्यवस्था गर्न अध्ययन भईसकेको, मध्य पहाडी क्षेत्रमा भण्डारन गर्न अध्ययन टोली बनाउने तयारी भईरहेको र ग्यासको स्टोरेज बनाउन पाँचखालमा प्रक्रिया सुरु भईसकेको उनले जानकारी दिए ।
निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको भनी लागेको अरोप प्रष्ट पार्दै उनले तत्कालीन असहज अवस्थालाई सहज बनाउन भएको निर्णय मात्रै भएको बताए ।
Post a Comment