
लामो दूरीको रकेट प्रक्षेपण गरेको केही सातापछि यो निर्णय भएको हो ।
उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम रोक्न अस्वीकार गरेका हुनाले थप नाकाबन्दीसम्बन्धी विधेयक गत साता कंग्रेसले सजिलै पास गरेको हो । नाकाबन्दीको उद्देश्य नयाँ आणविक हतियार विकासमा आवश्यक पर्ने रकम उत्तर कोरियाले नपाउने स्थिति बनाउनु हो ।
नयाँ नाकाबन्दीकै लागि तयार भइरहेको राष्ट्रसंघीय प्रस्तावमाथि अमेरिका र चीनले संवाद गरिरहेका छन् । चीनले केही नाकाबन्दीका कारण उत्तर कोरियाको अर्थतन्त्र अपांग हुनेमा चिन्ता व्यक्त गरेको छ ।
नयाँ अमेरिकी नाकाबन्दीअनुसार उत्तर कोरियाको आणविक वा हतियार कार्यक्रमसँग सम्बन्धित कुनै व्यापार गर्ने वा मानवअधिकार हननमा प्रयुक्त कसैको पनि सम्पत्ति जफत हुनेछ । विधेयकले उत्तर कोरियामा मानवअधिकार प्रवद्र्धन गर्न र उत्तर कोरियातर्फ रेडियो प्रसारण बढाउन ५० मिलियन डलर बराबरको रकमसमेत छुट्टयाइएको छ ।
उत्तर कोरियाले हालै मात्र लामो दूरीको रकेट प्रक्षेपण गरेको हो । जसलाई आलोचकहरूले प्रतिबन्धित मिसाइल प्रविधिसँग जोडेर आरोप लगाएका छन् । उत्तर कोरियाले उक्त रकेटमार्फत् पृथ्वीको कक्षमा सफलतापूर्वक भूउपग्रह प्रविष्ट गरेको दाबी गरेको छ ।
‘उत्तर कोरिया एउटा तानाशाही राज्य हो । यसले भड्काउको काम गर्छ । यसले बारम्बार राष्ट्रसंघीय नियमहरूको उल्लंघन गरेको हो । आणविक हतियार परीक्षण र निर्माण गरेको छ । र, यतिखेर उनीहरू रकेट प्रक्षेपण प्रणाली बलियो पार्न खोजिरहेका छन्,’ ओबामाले प्रक्षेपणलगत्तै प्रतिक्रिया दिएका थिए ।
उत्तर कोरियाले यही जनवरीमै चौथो आणविक परीक्षण गरेको थियो ।
त्यसलाई हाइड्रोजन बम भनेर दाबी गरिए पनि पुष्टि हुन बाँकी नै छ । विश्लेषकरुका अनुसार किम जोङ उन मेमा हुने सातौं पार्टी कंग्रेस अगाडि आफूलाई शक्तिशाली देखाउन लागिपरेका छन् ।
‘उक्त विधेयक उत्तर कोरियालाई मात्रै लक्षित गरेर एकदमै छिटो पास गरिएको हो । हामीलाई आशा छ, यसले अमेरिकालाई उत्तरविरुद्ध बलियो र प्रभावकारी कदम उठाउने आधार दिनेछ,’ दक्षिण कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
दक्षिणले अमेरिकासँग मिसाइल प्रतिरक्षा प्रणाली स्थापना गर्ने सम्बन्धमा पनि छलफल गर्ने जनाएको छ ।
Post a Comment