
सभापति सुशील कोइरालाको निधनअघि नै विभिन्न मुलुकका राजनीतिज्ञहरूलाई निमन्त्रणा गरिसकिएको थियो । 'उहाँको निधनपछि पुनः स्मरण गराइएको छ,' कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले भनिन्, 'धेरैबाट सकारात्मक जवाफ आएको छ ।' उनले छिमेकी मुलुक भारतसहित दक्षिण एसियाली तथा अन्य मित्र मुलुकका चर्चित र नेपालप्रति चासो राख्ने नेताहरूलाई निमन्त्रणा गरेको बताइन् । 'हामीले विदेशी अतिथिहरूको स्वागत तथा बस्ने चाँजोपाँजो मिलाउँदै छौं,' उनले भनिन् ।
छिमेकी भारतका सबै राजनीतिक दलका प्रमुख र नेपालप्रति चासो राख्ने नेताहरूलाई निमन्त्रणा गरिएको भए पनि संसदको बजेट सेसन रहेकाले सांसदहरू सहभागी हुने सम्भावना न्यून रहेको जनाइएको छ । विदेश विभाग प्रमुख कोइरालाका अनुसार म्यान्मारकी प्रजातान्त्रवादी नेतृ आङ सान सुची, भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विहारका मुख्यमन्त्री नीतिश कुमार, कंग्रेस आई विदेश विभाग प्रमुख करण सिंह, भारतीय जनता दलका नेताहरू तथा अन्य राजनीतिक दलका नेताहरूलाई निम्ता गरिएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङदेखि सबै वरीयताका नेताहरूलाई निम्ता गरिएको उनले बताइन् । 'अहिले नै कुन-कुन नेताहरू आउँछन् भन्न सकिँदैन तर वरिष्ठ नेताहरू आउनेमा दुईमत छैन,' कोइरालाले भनिन् ।
कांग्रेसले विदेशी अतिथिहरूको स्वागत तथा त्रिभुवन विमानस्थलबाट होटेलसम्म आउजाउका लागि परराष्ट्र मन्त्रालय र सुरक्षा निकायको सहयोग लिनेसमेत तयारी गरेको छ । यसका लागि परराष्ट्र मन्त्रालयको शिष्टाचार महापालको कार्यालयमा पत्राचारसमेत भएको विभागले जनाएको छ ।
अतिथिमा कतिपय बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू रहने हुनाले पनि शिष्टाचारको प्रबन्ध सबै परराष्ट्रको सहयोगमा मिलाउन पत्राचार गरिएको हो । विभागका एक अधिकारीका अनुसार बंगलादेशबाट सूचना तथा सञ्चारमन्त्री आउने निश्चित भइसकेको छ । अधिकांश विदेशी पाहुना फागुन १८ र १९ मै काठमाडौं उत्रनेछन् ।
Post a Comment