बागलुङ, माघ १८ गते । देख्दा सामान्य लागे पनि पकौडा–ससेज बेचेर यहाँका एक युवाले राम्रो कमाइ गर्नुभएको छ । धम्जा–३ घर भई बागलुङ सदरमुकाममा व्यवसाय गर्ने दानबहादुर आलेले ‘ससेज सेन्टर’ चलाएर मासिक रु ३० हजार जति कमाउन सफल हुुनभएको छ ।
चार वर्षअघि ८० हजारको लगानीमा सुरु गरेको व्यवसायमा दैनिक सरदर चार हजार बराबरको कारोबार हुने गरेको छ । साँझपखको समयमा खुल्ने ‘ससेज सेन्टर’मा खाजा खान आउने गरेको सञ्चालक आलेले बताउनुभयो । आलेले भन्नुभयो, “चार हजारको व्यापार हुँदा एक हजार ५०० जति चोखो नाफा हुन्छ ।” बेच्ने सामग्री एक घन्टामै तयार हुने हुँदा धेरै समय पनि खर्चन नपर्ने उहाँको भनाइ छ ।
बिहान र दिनभरको समय अन्य काममा दिन सकिने हुँदा उक्त व्यवसायबाट आफू पूर्ण सन्तुष्ट रहेको आलेले बताउनुभयो । “मेरो कामबाट म पूर्णरुपमा खुसी र सन्तुष्ट छु, यतिको कमाइ गर्न खाडी मुलुक जानु पर्दैन”, आलेले भन्नुभयो, “आफ्नै लगानी, आफ्नै मिहेनतमा स्वतन्त्र हिसाबले व्यवसाय गर्न पाइएको छ, महिनाको रु ३० हजारसम्म कमाइ छ ।” आलेले सबै परिकार आफैँ बनाउने गर्नुभएको छ । सडकको किनारमा राखिएको ‘ससेज–सेन्टर’ मा साँझपख ग्राहकको भीड नै लाग्ने गर्दछ ।
सत्ताइस वर्षीय आलेले कमाउन विदेश जाने सोच नै त्यागेर स्वदेशमै आत्मनिर्भर बन्नतिर लाग्नुभएको हो । कपिपयले यस्तो व्यवसाय गर्न हिच्किचावट गरे पनि आलेले भने गौरवको अनुभूति हुने धारणा राख्नुभयो । बफ, चिकेन ससेज पोखराबाट ल्याउने गरिएको आलेले जानकारी दिनुभयो । त्यस बाहेकका परिकार बनाउने सामग्री भने बागलुङमै उपलब्ध हुने गरेको छ ।
बिहान र दिउँसोको समयमा भने आलेले पत्नी अमृता र भाइ धनबहादुसँगै ‘आले फ्रेस हाउस’ पनि चलाउनुहुन्छ । ‘ससेज सेन्टर’मा आलेलाई श्रीमती र भाइले पनि आवश्यक पर्दा सघाउने गरेका छन् । पकौडा प्रतिप्लेट रु ३५, बफ ससेज ३० र चिकेन ससेज ३० मा बिक्री हुने गरेको छ । रासस
Post a Comment