
वर्तमान सरकार गठन हुँदा आफ्नो भागमा परेको गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेमा एमाओवादीभित्र निकै रस्साकस्सी भयो । धेरैले अनुमान नै नगरेका, तर पार्टीभित्र पहिलादेखि नै तयारीमा बसेका स्थायी समिति सदस्य शक्ति बस्नेतले बाजी मारे र गृहमन्त्री बने । ‘मिडिया फ्रेन्ड्ली’ र मिजासिला गृहमन्त्री बस्नेतका बानी र स्वभावबारे उनकी पत्नी सत्या पहाडीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :
मन्त्री/सांसद
१. देशको गृहमन्त्री बन्नुभएको छ । जीवनशैलीमा कत्तिको फरक आएको छ ?
त्यस्तो खासै फरक छैन । मलाई त उस्तै लाग्छ । कार्यव्यस्तता बढेको छ, त्यो स्वाभाविक नै हो।
२. घरमा खुसीयाली कत्तिको छ ?
खुसीयाली नै छ । यो त राजनीतिक सफलता पनि भयो, सबै खुसी हुने नै भए । अलिकति देशको परिस्थिति ठीक छैन, त्यति मात्रै हो । यस्तो वेला गृहमन्त्री नै नबन्ने कि भन्ने कुरा पनि उठेका थिए ।
३. परिवारका सदस्यहरूको तर्फबाट कस्तो सुझाब दिनुभएको थियो ?
मैले र छोरीले त ‘गृह मन्त्रालयको जिम्मेवारी नलिँदा पो ठीक हुन्छ कि’ भनेर सुझाब दिएका थियौँ।
४. उहाँले के भन्नुभयो त ?
‘जिम्मेवारी पनि खोजेर हुने हो र ?, समयले, परिस्थितिले दिने हो’ भन्नुभयो।
५. उहाँ मन्त्री हुँदै हुनुहुन्छ भन्ने तपार्इंले कहिले थाहा पाउनुभयो ?
पार्टीको केन्द्रीय सदस्य पनि भएकाले छलफल चलिरहेको छ भन्ने त सुरुदेखि नै थाहा थियो ।
६. होइन, गृहमन्त्री नै बन्दै हुनुहुन्छ भन्ने कुरा नि ?
अध्यक्षले उहाँलाई ‘तपार्इंले गृहमन्त्रीको जिम्मेवारी लिनुपर्ने पनि हुन सक्छ’ भनेर भन्नुभएको थियो । पार्टीले निर्णय नै गरेपछि त थाहा हुने भइहाल्यो ।
७. गृहमन्त्रीकी पत्नी हुनुहुन्छ । ‘सरुवा, बढुवा, प्रमोसनको सिफारिस गरिदिनुपर्यो’ भनेर आउनेहरूको भीड कति बढेको छ ?
म पार्टीको नेता पनि हो, स्वाभाविक रूपमा आउने त भइहाल्छ । तर, त्यति धेरै भीड मकहाँ हुँदैन । मैले ‘उहाँको सचिवालय छ, त्यहाँबाट जाँदा ठीक हुन्छ’ भन्ने गरेका कारण पनि होला, मकहाँ कम आउने ।
८. गृहमन्त्रीलाई सफल बनाउन तपार्इंले कस्तो भूमिका खेल्दै हुनुहुन्छ नि ?
मैले उहाँको सचिवालय गठन गर्न, चुस्त बनाउन सहयोग गरिदिएकी छु । कार्यकर्ता भेटघाटमा सहज बनाइदिएकी छु । उहाँले व्यस्तताका कारण पढ्न नपाएका कुरा ‘समराइज’ गरेर सुनाइदिने, केही सुधार गर्नुपर्ने कामको सल्लाह दिने काम गरेर सघाइरहेकी छु ।
प्रेम/विवाह
९. तपाईंहरूको मागी विवाह कि प्रेम विवाह हो ?
प्रेम विवाह हो, युद्धकालमै बिहे गरेका हौँ, २० वर्ष पुग्न थाल्यो।
१०. प्रेम प्रस्ताव कसले पहिला राख्नुभयो ?
शक्तिजीले नै प्रस्ताव राख्नुभयो।
११. के भन्नुभएको थियो उहाँले ?
‘पार्टीमा साथीहरूले मेरो बिहे गर्न खोजिदिएकी महिलासँग मलाई बिहे गर्न मन छैन, तपाईंसँग गर्न मन छ, तपार्इं के भन्नुहुन्छ ?’ भनेर सोध्नुुभयो ।
१२. तपार्इंले एकैपल्टमा प्रस्ताव स्वीकार गर्नुभयो ?
गरिनँ नि । उहाँको प्रस्ताव सुनेर चकित भएँ, त्यस्तो केही सोचेकै थिइनँ मैले। ‘मलाई के देखेर त्यस्तो मन पराउनुभयो’ भनेर सोधेँ। उहाँले ‘पार्टीमा त्यसरी प्रतिबद्ध, आफ्नो काम मज्जाले गर्ने बानी मन पर्यो’ भन्नुभयो। ‘एक–अर्कालाई बुझौँ, पछि निर्णय गरौँला’ भनेँ मैले।
१३. अनि, कहिले उहाँसँगै बिहे गर्ने निर्णयमा पुग्नुभयो ?
उहाँले प्रस्ताव गरेको तीन वर्षपछि भयो हाम्रो विवाह । त्यसअघि दाइ, आमालाई ‘के गरूँ’ भनेर सोधँे । उहाँहरूले पनि ‘तिमीलाई जे राम्रो लाग्छ गर, जिन्दगी तिमीले बिताउने हो’ भन्नुभयो ।
१४. सशस्त्र युद्धमा हुनुहुन्थ्यो, बिहेपछि सँगै बस्नुभयो कि छुट्टाछुट्टै ?
कहाँ सँगै बस्नु नि ? कहिलेकाहीँ त एक–डेढ वर्षमा मात्र भेट हुन्थ्यो।
१५. युद्धका वेला सुरक्षाकर्मीसँगको भिडन्तमा नेताहरू मारिएका झुटा समाचार पनि आउँथे । उहाँको बारेमा पनि त्यस्ता समाचार सुन्नुभएको थियो ?
ए, कति सुनिए कति। म जेलमा भएका वेला एकपल्ट त प्रहरीले ‘शक्ति बस्नेत मारियो’ भन्दै शरीर टुक्रा–टुक्रा पारिएको क्षतविक्षत् मान्छेको फोटो ल्याएर देखायो। अनुहार राम्रो देखिएको थिएन। हेर्दा हात–खुट्टा र जिउडाल उहाँको जस्तै थियो, म त बेहोस नै भएँ। प्रहरीले कसरी मिलाएर बनाएको रहेछ फोटो कुन्नि ?
जिद्दी
१६. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी त कुरै नगर्नुस्, उहाँलाई लागेको कुरामा सितिमिति टसमस हुनुहुन्न।
१७. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
उहाँलाई ठीक लागेका वा गर्न खोजेका काममा अडान लिनुहुन्छ । त्यस्तो वेला उहाँलाई सम्झाउनै गाह्रो हुन्छ।
१८. जिद्दी गरेपछि सम्झाउँदा पनि मान्नुहुन्न ?
मान्न त मान्नुहुन्छ। तर, निकै मिहिनेत गर्नुपर्छ।
१९. उहाँले गलत निर्णय गरिरहेको थाहा पाउँदा कत्तिको सम्झाउनुहुन्छ ?
भन्छु मैले पनि । तर, सम्झाउन धेरै समय लाग्छ।
रक्सी/चुरोट
२०. केही अम्मल छ कि छैन ?
पहिला त थियो। अचेल छैन।
२१. केको अम्मल थियो ?
चुरोट–खैनी खानुहुन्थ्यो ।
२२. तपाईंले नखान भन्नुहुन्थेन ?
कति भनेँ कति नि। माने पो। ‘यो राम्रो होइन, खान हुन्न’ भन्ने सबै थाहा छ, फेरि पनि खाने। आदत न हो। आदतले त मान्छेलाई दास बनाउँछ । एकपल्ट त मैले उहाँका चुरोट–खैनी जम्मा पारेर आगो बालेरसमेत तापेँ।
२३. अनि, के भन्नुभयो त ?
‘राम्रो होइन, थाहा छ। तर, साथीभाइसँग हुँदा खान मन लागिहाल्छ’ भन्नुभयो।
२४. कुन चुरोट खानुहुन्थ्यो ?
यही भन्ने हुँदैनथ्यो, जुुन फेला पर्यो, त्यही खानुहुन्थ्यो।
२५. दिनमा कति खानुहुन्थ्यो ?
सात–आठ खिल्ली खानुहुन्थ्यो होला । बुढापाका नेताहरूसँग बस्दा धेरै खानुहुन्थ्यो।
२६. छाडेको कति भयो ?
धेरै भयो छाडेको पनि। एकपल्ट पार्टीले सुर्ती–चुरोटका कारण पनि पक्राउ पर्न सकिएला भनेर नखाने’ निर्देशन दिएको थियो। त्यतिवेला छाड्नुभएको, त्यसपछि खानुभएन।
२७. रक्सी खानुहुन्छ कि खानुहुन्न ?
रक्सी त कहिल्यै खानुभएन । त्यसको त गन्धसमेत मन पराउनुहुन्न ।
२८. ‘कहिलेकाहीँ खाइदिए हुन्थ्यो’ भन्ने लाग्छ कि लाग्दैन ?
त्यस्तो लाग्न त के लाग्थ्यो ? तर, कहिलेकाहीँ ‘त्यत्रो पोको पारेर खैनी त खानुहुन्थ्यो, साथीभाइसँग बसेर कहिलेकाहीँ त थोरै खाइदिए भइहाल्यो नि’ भनेर जिस्क्याउने गर्छु ।
२९. अनि, के भन्नुहुन्छ त ?
‘नराम्रो कुरा नगरेकै कारण साथीभाइहरूले चित्त दुखाउन त भएन नि’ भन्नुहुन्छ ।
सुत्ने/उठ्ने
३०. बिहान कति बजे उठ्नुहुन्छ ?
चार–पाँच बजेभित्र उठिसक्नुहुन्छ ।
३१. चिया/कफी के रुचाउनुहुन्छ ?
उहाँले एकदमै मन पराउने मिल्क कफी हो ।
३२. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
बिहान गर्नुहुन्छ । पहिला–पहिला मर्निङवाकमै पनि जानुहुन्थ्यो, कामको चाप बढेपछि घरमै गर्नुहुन्छ।
३३. योगा पनि गर्नुहुन्छ ?
योगा त गर्नुहुन्न ।
३४. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ?
फुर्सद नै हुँदैन ।
३५. राति कतिखेर सुत्नुहुन्छ ?
हेरी–हेरी हुन्छ । केही पढ्नुपर्ने भयो भने दुई–तीन बजेसम्म पनि सुत्नुहुन्न ।
३६. घरमा बस्दा कस्ता लुगा लगाउन मनपराउनुहुन्छ ?
ट्रयाकसुट लगाउनुहुन्छ।
पत्रपत्रिका/टेलिभिजन
३७. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
पत्रिका त एकदमै पढ्नुहुन्छ । समाचारमा अपडेट रहनुहुन्छ । बिहान अनलाइनमा समाचार पनि हेर्नुहुन्छ । एकदमै विपन्न अवस्थामा हुँदा पनि उहाँले पत्रिका किन्ने पैसा छुट्याएर राख्नुहुन्थ्यो।
३८. टेलिभिजन कति हेर्नुहुन्छ ?
समाचारका लागि हेर्नुहुन्छ । बिहानको अखबार कार्यक्रम छुटाउनुहुन्न।
३९. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया हुन्छ ?
त्यस्तो खासै प्रतिक्रिया जनाउनुहुन्न । ‘आफूले राम्रो गर्ने हो । जसले जस्तो बुझ्छन्, त्यस्तै लेख्ने हुन्’ भन्नुहुन्छ ।
खाना/खाजा
४०. बिहानको खाजामा के लिनुहुन्छ ?
बिहानमा त्यति खाजा खान रुचाउनुहुन्न । तर, धेरै मन पर्नेचाहिँ मकैको रोटी र दूध हो ।
४१. खानामा के मन पराउनुहुन्छ ?
सादा खाना । दाल, भात, तरकारी खानुहुन्छ ।
४२. रातिको खानामा के रुचाउनुहुन्छ ?
रातिमा ‘हेभी’ खाना खान हुँदैन भन्ने उहाँको आफ्नै ‘फर्मुला’ छ। त्यसैले खाए पनि थोरै खानुहुन्छ । कहिलेकाहीँ बाहिर कार्यक्रममा खाजा खाएर आउनुभयो भने खानुहुन्न।
४३. खानामा कमेन्ट गर्ने बानी कत्तिको छ ?
अहँ, केही भन्नुहुन्न । खानामा नुन नलागेको भए पनि केही नभनी खानुहुन्छ। आफूले खाँदा थाहा पाएपछि ‘ए, नुन कम लागेको रहेछ’ भनेर राखिदिनुपर्छ।
४४. राम्रो–नराम्रो केही नभन्दा त पकाउने मान्छेलाई रिस उठ्छ रे नि त ?
अँ, त्यो त हो।
४५. तपाईंले केही भन्नुहुन्न ?
‘के खान मन छ’ भनेर सोध्छु । उहाँले ‘तात्तातो भात र दूध भए केही चाहिन्न’ भन्नुहुन्छ । बाँकी खानामा कमेन्ट गर्नुहुन्न।
४६. कहिलेकाहीँ किचनमा पसेर आफैँ पकाउन रुचि देखाउनुहुन्न ?
किचनमा पस्न त रुचाउनुहुन्छ । तर, पकाउन आउँदैन । चिया, कफी मात्रै हो उहाँले कहिलेकाहीँ पकाउने।
४७. अरू परिकार पकाउन केही पनि आउँदैन ?
भात र भिन्डीको तरकारी मीठो पकाउनुहुन्थ्यो । तर, अचेल पकाउनुहुन्न । हामीले पनि उहाँलाई पकाउन दिन्नौँ।
४८. उहाँले पकाएको तपार्इंले खान नपाएको कति भयो ?
धेरै भयो । काठमाडौं आएदेखि पकाउनुभएको छैन ।
रेस्टुरेन्ट
४९. कहिलेकाहीँ तपाईंलाई खाना–खाजा खुवाउन रेस्टुरेन्ट लैजानुहुन्छ कि हुन्न ?
फुर्सद नै हुँदैन । रेस्टुरेन्टहरूमा गएर खाइन्नँ । बरु घरमै बनाएर खाइन्छ ।
५०. गुनासो गर्नुहुन्न तपार्इंले ?
गर्दिनँ । मलाई पनि बाहिर त्यति खान रुचि हुँदैन ।
सिनेमा/गीत–संगीत
५१. सिनेमा हेर्न कत्तिको रुचि छ ?
हेर्नुहुन्छ कहिलेकाहीँ। तर, सिनेमा हेर्नकै लागि अरू काम छाडेर जानुहुन्न ।
५२. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
नेपाली मन पराउनुहुन्छ।
५३. टेलिभिजनमा कत्तिको हेर्नुहुन्छ ?
टेलिभिजनमा पनि कहिलेकाहीँ हेर्नुहुन्छ।
५४. दुईजना सँगै हलमै गएर सिनेमा हेर्नुभएको छ कि छैन ?
हेरेका छौँ, तीन–चारवटा सिनेमा ।
५५. कुन–कुन हेर्नुभएको छ ?
‘सहिद’, ‘जनयुद्ध’, ‘भीमदत्त’ हेर्यौँ । ‘राजनीति’ भन्ने सिनेमा पनि हेर्यौँ ।
५६. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
धार्मिक, ऐतिहासिक कथावस्तु भएका सिरियल कहिलेकाहीँ हेर्नुहुन्छ । टिभीमा उहाँले हेर्ने ‘रेस्लिङ’ हो । एकदमै मन पराउनुहुन्छ । भलिबल, फुटबल पनि हेर्नुहुन्छ ।
५७. उहाँले रेस्लिङ हेर्दा तपाईंलाई झ्याउ लाग्दैन ?
म त्यति मन पराउँदिनँ । उहाँले रेस्लिङ हेर्दा म लेखपढ गर्नतिर लाग्छु । उहाँलाई पहिलादेखि नै बहादुरीपूर्ण खेलहरू हेर्न मन लाग्ने भएकाले रेस्लिङमा रुचि देखाउनुभएको होला ।
५८. गीत–संगीत कत्तिको सुन्नुहुन्छ ?
गीत–संगीतमा त रुचि छ । सुन्नुहुन्छ ।
५९. कस्ता गीतहरू रुचाउनुहुन्छ ?
लोकगीतहरू रुचाउनुहुन्छ । मैले लेखेको ‘भेरी नदी सुसाउँदा…’ भन्ने गीत वेला–वेलामा गुनगुनाउनु पनि हुन्छ । तर, उहाँलाई नाच्न भने फिटिक्कै आउँदैन ।
६०. तपार्इंले लेखेका गीतहरूको पहिलो श्रोता उहाँ नै त होला नि, हैन ?
हो । पहिलोपल्ट उहाँले नै सुन्नुहुन्छ ।
६१. गीत सुन्न झ्याउ त मान्नुहुन्न ?
मान्नुहुन्न ।
परिवार
६२. सरकारी निवासमा परिवारका कति सदस्य बस्नुहुन्छ ?
हामी बुढाबुढी, छोरी, भतिजासहित सात–आठजना छौँ ।
६३. परिवारलाई कति समय दिनुहुन्छ ?
फुर्सद हुँदा समय दिनुहुन्छ । छोरीसँग खेल्ने, मुमासँग गफगाफ गर्ने गर्नुहुन्छ ।
६४. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
सबै खालका हुन्छन् । घरपरिवारका देखि राजनीतिसम्मका सबै कुरा हुन्छन् ।
६५. समग्र राजनीतिको हुन्छ कि आफ्नो पार्टीको मात्रै ?
धेरै आफ्नै पार्टीको हुन्छ । समग्र राजनीतिको पनि कुरा हुन्छ । तर्क–विर्तक हुन्छन् ।
६६. आफूले थाहा पाएका राजनीतिक गतिविधि तपाईंसँग कत्तिको सेयर गर्नुहुन्छ ?
मलाई मात्रै होइन, छोरीलाई समेत बताउनुहुन्छ । म पार्टीको केन्द्रीय सदस्य छु । केन्द्रीय समितिमा भन्न नहुने राजनीतिक कुरा त केही पनि हुँदैन । त्यसैले मलाई सबै कुरा बताउनुहुन्छ । बाहिर लैजान नमिल्ने पार्टीका कुराहरू मलाई मात्रै भन्नुहुन्छ ।
घुमघाम
६७. विदेश जाँदा, काठमाडौंबाहिर जाँदा तपाईंलाई सँगै लैजान कति रुचाउनुहुन्छ ?
लैजान मन त गर्नुहुन्छ । तर, कामका कारण सँगै जान सकिँदैन । सँगै हिँड्न निकै कम पाइन्छ ।
लुगा/पहिरन
६८. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
एकदमै सचेत हुनुहुन्छ। चिटिक्क पर्ने लुगा लगाउन मन पराउनुहुन्छ ।
६९. कस्ता लुगा मन पराउनुहुन्छ ?
पाइन्ट, सर्ट एकदमै मन पराउनुहुन्छ। कोट उहाँले त्यति मन पराउनुहुन्थेन। मैले कर गरी–गरी लगाउन थाल्नुभएको हो। त्यस्तै, दौरासुरुवाल लगाउन भने मन पराउनुहुन्छ।
७०. दौरासुरुवाल त्यति मन पराउने मान्छे, मन्त्रीको शपथ लिँदा कोट–पाइन्टमै जानुभयो नि ?
उहाँको खुट्टामा समस्या छ, रड राखिएको छ । दौरासुरुवाल टाइट हुन्छ, त्यसैले हो । सिलाएको पनि थिएन । कतिखेर सिलाएर लगाएर जानु नि ?
७१. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्नुहुन्छ । पहिला लगाउनुहुन्थ्यो पनि । तर, अचेल समय नपाएका कारण लगाउनुहुन्न ।
७२. तपार्इंले लगाइदिनुहुन्छ ?
मलाई लगाउन आउँदैन । भतिजा, छोरीले लगाइदिन्छन् ।
७३. पहिले आफ्ना लुगामा आइरन लगाउँदा तपार्इंका लुगामा पनि गरिदिनुहुन्थ्यो ?
एकदमै सहयोगी बानी छ । आइरन लगाउने मात्रै होइन, लुगा धोइदिने पनि गर्नुहुन्थ्यो । श्रम सबैले गर्नु पर्छ भन्ने उहाँको मान्यता छ ।
७४. उहाँका लागि लुगा कसले किनिदिन्छ ?
उहाँ आफैँ पनि जानुहुन्छ, हामी पनि किनिदिन्छौँ । कपडाको रङ आफैँले छान्नुहुन्छ ।
७५. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
यस्तो ब्रान्ड नै भन्ने छैन । नयाँ–पुरानो केही भन्नुहुन्न, तर सफा, चिटिक्कको भने हुनुपर्छ ।
तलब
७६. आफ्नो तलब तपाईंलाई दिनुहुन्छ कि दिनुुहुन्न ?
बाँडेरै सक्नुहुन्छ । उहाँको यस्तो स्वभाव छ कि पैसा पाएका वेला साथीभाइहरूले ‘समस्या भयो, पैसा छैन’ भनेपछि पूरै पैसा दिएर आफू रित्तै आउनुहुन्छ। बचाएर ल्याउनुभयो भनेचाहिँ दिनुहुन्छ।
७७. कसलाई बाँड्नुहुन्छ र ?
साथीभाइलाई बाँड्नुहुन्छ नि । कुन दिन सर्ट, पाइन्ट, कोट पनि बाँडेर आउनुहुन्छ भन्ने चिन्ता लाग्छ।
७८. आफ्ना लुगा पनि बाँड्नुहुन्छ र ?
युद्धकालमा आफ्ना लुगासमेत साथीभाइलाई दिनुहुन्थ्यो । आफूसँग एकजोर मात्रै हुन्थ्यो । तर, त्यसरी दिएको पनि जानकारी भने गराउनुहुन्छ ।
७९. तपार्इंसँग पैसा कत्तिको माग्नुहुन्छ ?
सकिएपछि माग्नुहुन्छ । कहिलेकाहीँ त उहाँको गोजीमा पाँच रुपैयाँसमेत हुँदैन ।
८०. तपाईंले दिँदा धेरैमा कति दिनुभएको छ ?
त्यो त हेरी–हेरी हुन्छ । आफ्ना लागि मात्रै हो भने ‘पाँच सय भए हुन्छ’ पनि भन्नुहुन्छ । सामूहिक काम हो, पार्टीको काम हो भने लाख, त्योभन्दा बढी पनि हुन्छ ।
८१. उहाँले खर्च केमा गर्नुहुन्छ ?
व्यक्तिगत खर्च त धेरै छैन उहाँको। कफीको सौखिन हुनुहुन्छ। साथीभाइसँग बसेर कफी खानमै हो उहाँको खर्च हुने।
८२. पैसाको बारेमा बुढाबुढीबीच कहिले किचलो भएको छ कि छैन ?
पैसाकै बारेमा ठूलो किचलो त भएको छैन। पहिलो संविधानसभा विघटन भएपछि छोरी कलेजबाट फर्कंदै थिई, म पनि सँगै थिएँ। उहाँ पश्चिमतिर हुनुहुन्थ्यो। हामीसँग पैसा नै थिएन। बाटोमा छोरीले ‘ममी ससेज खान मन लाग्यो, हामीले मासु नै नखाएको पनि तीन–चार महिना भयो’ भनेर भनी। त्यतिवेला यति रुन मन लाग्यो कि के भनूँ ? उहाँलाई फोन गरेर कराएँ। ‘हाम्रो त त्यस्तै हो, तपार्इंले छोरीको भविष्य हेरेर दुई-चार पैसा बचाइदिएको भए यस्तो हुँदैनथ्यो’ भनेर कराएँ।
८३. अनि, के भन्नुभयो त ?
के भन्नुहुन्थ्यो र ? ‘यस्तै हो हाम्रो जिन्दगी, दु:ख–सुख हुन्छ’ भनेर सम्झाउनुभयो ।
८४. तपार्इंले उहाँसँग पैसा माग्नुुहुन्छ कि हुन्न ?
माग्छु नि म पनि ।
८५. उहाँले त पैसा नै राख्नुहुन्न रे नि त ?
‘अप्ठ्यारो परेका वेला खोजेर पनि ल्याउनुहोस्’ भन्छु । ‘तपाईंले साथीभाइलाई जसरी दिनुहुन्छ, त्यसरी नै तपाईं पनि माग्नुस्’ भन्छु ।
रिस/खुसी
८६. रिसाउने बानी कति छ ?
रिसाउने त बानी नै छैन भन्दा पनि हुन्छ । एकदम कम रिसाउनुहुन्छ ।
८७. कस्ता कुरामा रिसाउनुहुन्छ ?
यस्तो कुरा रिस उठ्यो भनेर भन्नु नै हुन्न, बरु बोल्नुहुन्न । त्यही त नराम्रो बानी छ । । उहाँ बोल्नुभएन भने बुझ्नुपर्छ, रिसाउनुभयो भनेर ।
८८. रिसाएपछि कसले पहिला फकाउँछ ?
फकाउन त छोरी मिडिएटर भइहाल्छे नि । ‘के हो तपाईंहरूको पारा’ भन्छे । अनि, म बोलिहाल्छु । धेरैबेर बोलचाल बन्द हुन्न ।
८९. तपाईं कत्तिको रिसाउनुहुन्छ ?
उहाँभन्दा धेरै त म नै रिसाउँछु । तर, मैले ‘यस्तो गर्नुभयो’ भन्छु ।
उपहार
९०. परिवारका सदस्य र अरूलाई उपहार कत्तिको दिनुहुन्छ ?
उपहार दिनुहुन्छ । बर्थडे, एनिभर्सरीमा उपहार ल्याइदिनुहुन्छ ।
९१. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ?
लुगा, घडी ल्याइदिनुहुन्छ । मलाई मन पर्ने सामानहरू ल्याइदिनुहुन्छ ।
९२. विदेशबाट आउँदा पनि ल्याइदिनुहुन्छ होला नि ?
ल्याउनुुहुन्छ । केही न केही ल्याइदिनुहुन्छ ।
९३. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार के हो ?
एकपटक एउटा कार्यक्रममा भारत जानुभएको थियो । त्यतिवेलासम्म म दुई–तीन सयवाला घडी लगाउँथेँ । उहाँले एउटा राम्रो घडी ल्याइदिनुभएको थियो । साह्रै मन पर्यो । अचेल पनि वेला–वेलामा लगाउँछु ।
९४. तपार्इंले उहाँलाई कत्तिको उपहार दिनुहुन्छ ?
मैले पनि दिन्छु वेला–वेलामा ।
९५. कस्ता चिजहरू दिनुहुन्छ उपहार ?
प्राय: डायरीहरू दिन्छु । एकपल्ट राम्रो ठूलो डायरी ल्याइदिएकी थिएँ । त्यसमा उहाँले मज्जाले लाइन मिलाएर लेख्नुभयो । अरू वेला लाइन नमिलाएर लेख्नुहुन्छ । त्यस्तै, आइडी कार्ड, भिजिटिङ कार्ड, पेन राख्न मिल्ने डायरी दिएकी थिएँ, त्यो पनि उहाँलाई निकै मन पर्यो ।
ठट्टा/रमाइलो
९६. ठट्टा, रमाइलो गर्ने बानी कति छ ?
वेलावेलामा गर्नुहुन्छ । जोकहरू सुनाउने, उखानहरू भन्ने गर्नुहुन्छ ।
९७. जिस्कने कत्तिको गर्नुहुन्छ ?
जिस्कनुहुन्छ । कहिले छोरीसँग केटाकेटी बनेर, मसँग महिला बनेरसमेत गफ गर्नुहुन्छ । रमाइलो गर्नुहुन्छ ।
९८. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
कहिलेकाहीँ बन्नुहुन्छ ।
९९.गीत गुनगुनाउनुहुन्छ कि हुन्न ?
वेला–वेला गुनगुनाउनुहुन्छ । मैले ‘कस्तो राम्रो स्वर, बोरा च्यातेजस्तो’ भनेर जिस्क्याइदिन्छु ।
१००. अनि, के भन्नुहुन्छ ?
‘अहिले नभए पनि पहिला त राम्रै हो नि’ भन्नुहुन्छ।
१०१. दुवैजना राजनीतिमा सक्रिय हुनुुहुन्छ, समयको व्यवस्थापन कसरी गर्नुभएको छ ?
समय व्यवस्थापन गर्नकै लागि एकपल्ट हामीले हप्ताभरिको ‘सेड्युल’ बनायौँ । शनिबार कतै नजाने, दुवैजना मिलेर घरको काम गर्ने, हप्ताको एक दिन बाहिर घुम्न निस्कनेलगायतका कार्यक्रम बनाएका थियौँ । दुई–तीन हप्ता त लागू भयो, तर पछि त्यसअनुसार हिँड्न सकेनौँ।
Post a Comment