प्रहरीले शान्तिपूर्ण धर्ना बसेका आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरी निर्मम हत्या गरेको आरोप लगाउँदै फोरमले घटनाको विरोध गरेको हो ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ती जारी गर्दै सप्तरीको घटनाले सरकार वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्ने र मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रमाणित भएको आरोप लगाएका छन् ।
उनले सरकारले वार्ताको नामा जनतालाई भ्रम छर्ने अनि तिनै जनतालाई दमन गर्ने दोहोरो चरित्र प्रस्तुत गरेको भन्दै वार्ता मार्फत् नै समाधान चाहेको हो भने शान्तिपूर्ण धर्ना, जुलूश र विरोधका अन्य कार्यक्रममाथि प्रहरी दमन तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले मोर्चा र आफ्नो दल वार्ताबाटै समस्याको समाधान गर्न प्रतिबद्व रहेको भन्दै भनेका छन् ,‘ वार्ताको नाटक गरि जनतामा भ्रम सिर्जना गर्ने अनि अर्कोतिर जनतामाथि दमन गर्ने सरकारको दोहोरो चरित्रको फोरम नेपाल भत्र्सना गर्दछ ।सरकारले वार्ता मार्फत् नै समाधान चाहेको हो भने शान्तिपूर्ण धर्ना, जुलूश र विरोधका अन्य कार्यक्रममाथि प्रहरी दमन तुरुन्त बन्द गर्नुपर्छ ।’
यादवले गोली लागेर घाइते भएकाहरुको उपचारमा संलग्नहरुमाथि समेत प्रहरीले दुर्व्यवहार र कुटपीट गरेको समेत दाबी गरेका छन् । घाइते आन्दोलनकारीको उपचार किन गरेको भन्दै गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकहरुलाई प्रहरीले दुव्र्यवहार तथा कुटपिट गरेको यादवको दाबी छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच वार्ता प्रक्रिया चलिरहेकै अवस्थामा प्रहरीको गोली लागेर गएराती सप्तरीको भारदह र रुपनीमा दुई जना आन्दोलनकारीको मृत्यु भएको थियो भने डेढ दर्जन आन्दोलनकारी घाइते भएका थिए ।
शुक्रबार राजधानीमा बसेको मोर्चाको बैठकले मंसिर ५ गते देखि राजमार्ग अवरुद्ध गर्ने निर्णय गरे अनुसार राजमार्गमा धर्ना बसेका आन्द्योलनकारीले अराजक गतिविधि गरेपछि भएको झपडमा प्रहरीको गोलीलागि जमुनी ९ मध्यपुर रुपनीका २२ वर्षीय नागेश्वर यादव र बलिया ७ गाढा भारदहका १८ वर्षीय विरेन्द्र कुमार रामको मृत्यु भएको थियो । यस्तै प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताहरु लक्ष्मण राम, श्रीयार यादव, श्रवण झा, श्याम मण्डल, धर्मेन्द्र साह, कोइलारी बरसाइन, दानी मण्डल, लाल झा, रघु रजक, सुरेन्द्र नोगिया लगायत १५ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
Post a Comment