
ग्रामीण भेगमा रहेका काम गर्ने बहुसङ्ख्यक युवा विदेशिएकाले घरमा रहेका किसानले जोत्ने गोरुको विकल्पका रुपमा ट्र्याक्टर प्रयोग गर्दै आएका थिए । कात्तिक पहिलो हप्तामै धान उठाइसकेका पूर्वी मोरङका कृषकले यतिखेर बाली लगाएर खेत हरियाली बनाइसक्नुपर्ने हो । तर इन्धन अभावमा खेत जोत्न नपाएपछि चिन्ताले पिरोलिएका हुन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका– १२ का किसान कृष्ण शर्माले भन्नुभयो – “गहुँ हरियो हुने बेलामा अहिले पनि खेत बाँझै छ ।” उहाँले खेत जोत्नका लागि ट्र्याक्टर चालकलाई बोलाउँदा डिजेल नभएकाले जोत्न नसकिने जवाफ दिएको बताउनु भयो ।
उहाँमात्र होइन करौन गाविस– ३ का सुमन लिम्बू पनि खेत जोत्ने ट्र्याक्टर नआउँदा खेतीयोग्य जमिन बाँझो रहने चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो – “इन्धन अभावको कारण देखाउँदै खेत जोत्ने ट्र्याक्टरवालाहरु नआउँदा गहुँ, दाल, तोरीलगायतका बाली समयमै लगाउन सकिएको छैन् ।
त्यसैगरी बयरवन– ३ का दिनेश बस्नेतका अनुसार खेतमा पानी लगाउन पम्पसेटमा डिजेल नहुँदा खेत सुकेर ढुङ्गोजस्तो भएको छ । उहाँले खेतमा पानी लगाउन नसकेपछि समयमै गहुँखेतको तयारी गर्न नसकिएको अवस्था रहेको बताउनुभयो ।
कृषकले गत वर्ष यतिबेला गहुँ, तोरी, दाल, आलु, सागसब्जीलगायतका बाली हरियो बनाइसकेका थिए । पथरी शनिश्चरे नगरपालिका, बयरवन, बाहुनी, केरौन, दर्वेशा, भौसाबारी, हसन्दह, अमरदहलगायतका गाविसमा रहेका बहुसङ्ख्यक किसानका जमिन बाँझै भएपछि कसरी बाली लगाउने भन्ने चिन्ताले सताउने गरेको छ ।
ट्र्याक्टरले खेत जोत्ने पेसा अपनाउँदै आएका सोही ठाउँका रञ्जीत गुप्ताले डिजेल अभावमा कुनै काम नभएकाले व्यवसाय नै चौपट भएको दुःखेको पोख्नुभयो । उहाँले भन्नुभयो – सिजनमा रु १० देखि रु १२ लाख कमाइ हुन्थ्यो तर बन्द, हडताल र नाकाबन्दीले इन्धन नपाउँदा ट्र्याक्टर नै थन्किएर बसेको छ । गुप्ताले ट्र्याक्टर किन्दा गरेको लगानीको ब्याज उठाएर बैंकलाई तिर्ने योजना सोचाइमा मात्र सीमित भएको बताउनुभयो ।
बयरवन गाविसमा ट्र्याक्टरले जोतेर जीविका चलाउँदै आउनुभएका गोपाल चौधरीले पनि इन्धन अभावमा खेत जोत्ने काम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो – “डिजेल छैन ट्र्याक्टर निकालेको बैंकको ब्याज कसरी तिर्नु ।” यो वर्ष खेत जोतेर हुने रु आठदेखि रु १० लाख कमाइ नहुने भएपछि गोपाल चौधरीसमेत चिन्तामा पर्नुभएको छ । डिजेल खोज्न भौँतारिँदै समय बित्ने गरेको चौधरीको भनाइ छ ।
यता जिल्ला कृषि विकास कार्यालय, मोरङका अनुसार कृषकको बाली भित्र्याउने तथा खेतमा बाली लगाउने मौसममा इन्धन अभावले धेरै नै अप्ठ्यारो पारेको छ । कृषि क्षेत्रलाई मध्यनजर गर्र्दै सो कार्यालयले हप्तामा १२ हजार लिटर इन्धनको लागि पेट्रोल पम्पहरुमा सिफारिस गरेको जिल्ला कृषि विकास कार्यालय, मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
Post a Comment