
एचआइभी एड्सबाट सङ्क्रमित आमा गर्भवती भएमा नियमित चेकजाँचका क्रममा औषधि सेवन गराई शिशुलाई सुरक्षित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक रतनबहादुर विष्टले बताउनुभयो ।
“स्वास्थ्य संस्थामा गर्भवती चेकजाँचका क्रममा आउने आमा सङ्क्रमित भए नभएको बारे तालिम पाएका दक्ष स्वास्थ्यकर्मीले यकिन गरी महाकाली अञ्चल अस्पतालबाट औषधि उपलब्ध गराई सुरक्षित तरिकाले सुत्केरी गराउने व्यवस्था मिलाएका छौँ” – उहाँले भन्नुभयो ।
सङ्क्रमित भएका आमाले नियमित औषधि सेवन गरे जन्मिने शिशुमा सङ्क्रमणको असर नहुने उहाँले बताउनुभयो । औषधि सेवन गर्ने सङ्क्रमित आमाले जन्माएका ८० प्रतिशत शिशु स्वस्थ्य जन्मिने बताइएको छ ।
हालसम्म औषधि सेवन गरेका यहाँका सङ्क्रमित चारजना आमाबाट स्वस्थ्य शिशु जन्मिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा ३३४ जना एचआइभी एड्सबाट सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी यौनकर्मी महिलाका कारण सङ्क्रमितको सङ्ख्या बढ्दो रुपमा रहेको छ ।
Post a Comment