
राष्ट्रिय जनमोर्चा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहनुभएका केसीले नाकाबन्दीले अत्यावश्यक औषधि, इन्धनलगायतको अभाव सिर्जना गरेको उल्लेख गर्नु भयो ।
“यो नाकाबन्दी नयाँ होइन, भारतले पटक पटक नेपालमा नाकाबन्दी लगाउँदै आएको छ, त्यसैले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता जोगाउन यो सङ्कटको मिलेर सामना गर्नुको विकल्प छैन, केसीले भन्नुभयो ।”
विगतमा शासक र राजनीतिक दलहरूले पाठ सिकेर अन्य मुलुकसँग समेत व्यापारिक सम्झौता गर्न नसक्नु ठूलो गल्ती भएको भन्दै उहाँले अहिलेको सरकारले विभिन्न विकल्पहरूको खोजी गरिरहेको जानकारी दिनुभयो ।
सरकारले छिट्टै अन्य मुलुकसँग व्यापारिक सम्झौता गर्न लागेको उहाँले बताउनुभयो । भूपरिवेष्टित मुलुक नेपालका लागि पारवहन सुविधा अन्तर्राष्ट्रिय अधिकार भए पनि मधेस केन्द्रित दलहरूले गरिरहेको आन्दोलनको बहानामा भारतले नाकाबन्दी लगाउनु छिमेकी मुलुकमाथिको अनावश्यक हस्तक्षेप भएको उहाँको भनाइ थियो ।
मन्त्री केसीले मधेस केन्द्रित दलहरूले उठाएका अधिकांश मुद्दा नयाँ संविधानमा सम्बोधन भइसकेको र अन्य मागलाई पनि वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
Post a Comment