रौतहट, ३१ भदौ । नेपाल पत्रकार महासङ्घको मिसन टोलीले आज गौरमा मधेस आन्दोलनका क्रममा पत्रकारले भोग्नुपरेका समस्या तथा मधेसको विद्यमान अवस्थाका बारेमा विभिन्न सरोकारवालालाई भेटी जानकारी लिएको छ ।
मिसन टोलीले मधेस समाजवादी फोरमका केन्द्रीय सदस्य एवम् पूर्वसभासद् बबन सिंहले सदरमुकाम गौरस्थित कोहिनुर एफएममा अन्तर्वार्ता दिने क्रममा यहाँका तीन जना पत्रकारलाई दिइएको धम्कीप्रति गम्भीररुपमा चासो व्यक्त गरेको थियो ।
पूर्व सभासद् सिंहले कान्तिपुर दैनिकका शिव पुरी, नागरिक दैनिकका मदन ठाकुर र एभिन्यूज टेलिभिजनका गौतम श्रेष्ठलाई जिउँदै जलाएर मारिने धम्की सार्वजनिक संचारमाध्यममार्फत दिएको सम्बन्धमा तथा जिल्लाको विद्यमान अवस्थाको बारेमा मिसन टोलीले नेपाल पत्रकार महासङ्घ रौतहटका पदाधिकारी, मानवअधिकारकर्मी, विभिन्न मधेसवादी दलका नेता, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नागरिक समाजका अगुवालाई भेटी छलफल गरेको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै पत्रकारलाई समाचार सम्प्रेषणमा संयमित बन्न आग्रह गर्नुभयो ।
महासङ्घका महासचिव मगरको संयोजकत्वमा गठित मिसन टोलीमा प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी तथा महासङ्घका केन्द्रीय सदस्य सुरज आचार्यको सहभागिता रहेको छ । रासस
Post a Comment