
झन्डै आठ वर्षको लामो बहस र रस्साकस्सीपछि बुधबार संविधानसभाले नयाँ संविधान पारित गरेको हो । कानुनविद्ले संविधान जारी भएसँगै मुलुकको राजनीतिक अन्योल हट्ने र विकास तथा समृद्धिको नयाँ अध्याय सुरु हुने बताएका छन् ।
अघिल्लो संविधानसभाको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्य संविधानसभाबाट संविधान आउनु ऐतिहासिक उपलब्धि भएको बताउनुहुन्छ । उहाँ संविधान पारित भएपछि मुलुकको अनिश्चितता समाप्त हुनुका साथै नयाँ ऐतिहासिक कालखण्ड सुरु भएको बताउनुहुन्छ ।
प्रमुख दलले अत्यन्त सुझबुझका साथ संविधान निर्माणमा अभूतपूर्व एकता देखाएको बताउँदै कानुनविद् आचार्य भन्नुहुन्छ, “यस्तो एकता कार्यान्वयनमा पनि देखाउन सके भोलिका दिनमा आइपर्ने चुनौतीलाई पनि सजिलै पार लगाउन सकिन्छ ।”
संविधान निर्माण प्रक्रियाभन्दा बाहिर रहेका केही असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास गर्नुपर्ने बताउँदै उहाँ संविधान कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याउने आधार पनि यस संविधानले नै व्यवस्था गरेको जानकारी दिनुहुन्छ । संविधानले जनतालाई बलियो बनाएको कानुनविद् आचार्यको धारणा छ । संविधानबाट कोही पनि असन्तुष्ट नभएको र केही दलले संविधानका केही धारा वा पक्षमा मात्र असन्तुष्टि जाहेर गरेको उहाँको भनाइ छ ।
वरिष्ठ अधिवक्ता हरिहर दाहाल संविधानसभाबाट सबै जनताले अपनत्व ग्रहण गर्ने राम्रो संविधान पारित भएको बताउनुहुन्छ । वरिष्ठ अधिवक्ता दाहाल भन्नुहुन्छ, “केही असन्तुष्टका माग भविष्यमा सम्बोधन हुँदै जानेछन् । संविधान कहिल्यै पूर्ण हँुदैन, त्यसलाई व्याख्या र अभ्यासले पूर्णता दिने हो ।” उहाँ संविधान पारित भएपछि अब मुलुकका समस्या समाधानका लागि ढोका खुलेको बताउनुहुन्छ ।
नयाँ संविधानले सुधारिएको लोकतान्त्रिक बहुदलीय व्यवस्थालाई अङ्गीकार गरेको बताउँदै उहाँ स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राखिएको र अधिक मौलिक अधिकार रहेकाले संविधान उत्कृष्ट रहेको बताउनुहुन्छ ।
वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल “मुलुकमा जसरी पनि संविधान आउनु थियो, अन्योलताको अवस्थामा पनि संविधान आउनु ठूलो कुरा हो” भन्नुहुन्छ । एकदमै राम्रो संविधान आएको बताउँदै वरिष्ठ अधिवक्ता बराल संविधान आउने बित्तिकै सबै समस्या समाधान नहुने, कार्यान्वयन पक्षमा भर पर्ने बताउनुहुन्छ । संविधान निर्माणले एउटा कालखण्ड पूरा भएको र भोलि सहमति, सम्झौता र भोगाइबाट मुलुक अघि बढ्दै जाने बताउनुहुन्छ ।
संविधानमा रहने कमीकमजोरी भोलि परिमार्जित गर्ने र सच्याउने आधार रहेको भन्दै उहाँ कुनै पनि कानुन आफैँमा राम्रो÷नराम्रो नहुने तर त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमा भर पर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मधेसका जनताले पनि संविधान चाहेका छन् ।”
संवैधानिक कानुनका ज्ञाता डा भीमार्जुन आचार्य भने जुन उद्देश्य र औचित्यका लागि संविधानसभा गठन भएको थियो त्यो पूरा नभएको बताउनुहुन्छ । उहाँ संविधानसभाको गठन संविधान बनाउन मात्र नभई सबैका अधिकार समेटिएको र सबैले अपनत्वको अनुभव गर्ने संविधान निर्माण गर्न भएको बताउनुहुन्छ । संविधान पारित गर्दै कतिपय दलबाहिर रहेको बताउँदै कानुनविद् डा आचार्य भन्नुहुन्छ, “संविधानले महिला, आदिवासी÷जनजाति, थारू, मुस्लिम, पिछडिएका समुदाय लगायतका अधिकार उल्लेख गरेपनि अस्पष्ट छन् ।”
अहिलेको सात प्रदेशको सङ्घीय संरचना लागू हुन गाह्रो हुने भन्दै उहाँ भोलि आठ प्रदेश किन नहुने भन्ने आवाज उठ्दा समस्या आउने बताउनुहुन्छ । तर उहाँ संविधानसभाले लामो समयसम्म संविधान नदिएको अवस्थाको भने अन्त्य हुनु सुखद पक्ष भएको बताउनुहुन्छ । संविधान पारितभन्दा पनि मूल कुरा कार्यान्वयन पक्ष हुने बताउँदै उहाँ नेताले बुद्धिमत्तापूर्वक काम गरे मात्र संविधानको दीर्घायु र दिगोपना हुने बताउनुहुन्छ ।
कानुनका प्राध्यापक गणेशदत्त भट्ट संविधान आउनु अत्यन्तै सकारात्मक हो भन्नुहुन्छ । उहाँ “संविधानसभाबाट संविधान आउनै पथ्र्यो, अब यसलाई सफल पार्नु सबैको दायित्व हो” भन्नुहुन्छ । संविधानका व्यवस्था हेर्दा यसमा कसैले पनि असन्तुष्टि जनाउनुपर्ने ठाउँ छैन भन्दै उहाँ मधेस तथा जनजातिलगायतले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नभएको बताउनुहुन्छ ।
संविधानले सबैका मुद्दालाई समेटेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ “कतिपय अस्पष्ट माग र अधिकार भोलि सर्वाेच्च अदालतको व्याख्याबाट पनि स्पष्ट हुन्छन्, संशोधनको प्रावधान लचिलो भएकाले समेट्नै पर्ने माग भविष्यमा संशोधनबाट पनि उल्लेख गर्न सकिन्छ ।”
भटृ राज्यका साधनस्रोतका आधारमा संविधान निकै महत्वाकाङ्क्षी भएको र जनतालाई मागेभन्दा पनि बढी अधिकार दिइएकाले कार्यान्वयनमा केही चुनौती आउने बताउनुहुन्छ । संविधान आफैँमा सबै कुरा होइन यसलाई कार्यान्वयन गर्ने निकाय र त्यसका पदाधिकारीले इमान्दार, निष्ठावान् भएर लागू गर्न ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
संविधानसभाबाट पारित संविधान सभाध्यक्षबाट प्रमाणितपछि असोज ३ गते विशेष समारोहबीच राष्ट्रपतिले घोषणा गरेपछि जारी हुनेछ ।
Post a Comment