भूकम्पबाट बढी प्रभावित पूर्वका चार जिल्लाका पत्रकार महासंघका साधारण सदस्यहरुको नवीकरण शुल्क मिनाहा गर्न प्रेस युनियन मोरङले माग गरेको छ । मोरङको लेटाङ–भोगटेनी नगरपालिकास्थित पर्यटकीयस्थल राजारानीमा सम्पन्न युनियनको जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भूकम्पबाट बढी प्रभावित पूर्वका भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका महासंघ साधारण सदस्यहरुको नवीकरण शुल्क मिनाहा गर्न माग गर्ने निर्णय भएको युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न पनि बैठकले माग गरेको छ । प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न पनि बैठकले माग गरेको उनले जनाए । बैठकले अनन्तराज न्यौपानेको संयोजकत्वमा अजित तिवारी र कुमार लुइँटेल रहेको सदस्य रहेको अनुशासन समिति गठन गरेको छ । त्यस्तै विक्रम निरौलाको संयोजकत्वमा अवधेश झा, शेखर रेग्मी, दुर्गाप्रसाद खतिवडा र दिनेश गिरी सदस्य रहेको पत्रकार समन्वय समिति गठन गरेको छ । शंकर लुइँटेल, दुर्गाप्रसाद खतिवडा, मदनबाबु प्रसाईं, राजकुमार लिम्बु र भोजराज बस्नेतलाई सल्लाहकार समितिमा थप गर्ने बैठकले निर्णय गरेको छ । सल्लाहकार समिति यसअघि नै गठन गरिसकेको थियो ।

यस्तै बैठकले अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडालाई सम्मान गर्ने निर्णय गरेको छ । युनियनले उर्लाबारीमा विशेष समारोह गरेर खतिवडालाई निकट भविष्यमै सम्मान गर्नेछ । सोही समारोहमा ‘स्थानीय विकासमा स्थानीय सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियासमेत गरिने युनियनले जनाएको छ ।
बैठकले मोरङको पर्यटकीयस्थल राजारानी क्षेत्रको प्रर्यटन पर्वद्धनका लागि प्रचारप्रसार गर्ने र सम्बन्धित निकायलाई पूर्वाधार निर्माणका लागि आग्रह गर्ने निर्णय पनि गरेको अध्यक्ष नवोदितले जानकारी दिए । जिल्लाको पर्यटन पवद्र्धन गर्ने उद्देश्यले युनियनले यसअघि बेतनामा बैठक राखेको थियो । बैठकमा युनियनका पूर्वाञ्चल संयोजक लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अवधेश झा, प्रमुख सल्लाहकार अनन्तराज न्यौपाने, विक्रम निरौला, अजित तिवारीलगायतको समेत सहभागिता थियो ।
Post a Comment