Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हिले–भोजपुर यात्राको सास्ती

भोजपुर २९ साउन । हिले, भोजपुर, नारदमणि, थुलुङ्ग सहायक राजमार्ग अन्तर्गत लेगुवा–भोजपुर सडक खण्डमा वर्षात्का कारण सडकमा यातायातका साधन सहज रुपमा सञ्चालनमा आउन नसक्दा यात्रुहरू बीचबाट पैदल हिँडेर आउन बाध्य बनेका छन् ।

सडक हिलाम्मे हुने र सदरमुकामसम्म सहज रुपमा यातायातका साधनसमेत सञ्चालनमा नआउने गरेकाले आफूहरू श्यामसिलाबाट भोजपुरसम्म हिँडेर नै आउने गरेको यात्रुहरू बताउँछन् । श्यामसिला गाविस भन्दायता गाडी नआएपछि आफू त्यहाँबाट हिँडेर नै सदरमुकाम आएको यात्रु उमेश श्रेष्ठले बताए ।

लेगुवा–भोजपुर सडक आयोजना र निर्माण कम्पनीले वर्षाको समयमा पनि सडक सञ्चालनमा आउने गरी मर्मत गरिने जनाए पनि प्रतिवद्धता अनुसार काम नभएकोप्रति यातायात व्यवसायी, राजनीतिक दल, नागरिक समाज र स्थानीयले गुनासो गरेका छन् । उनीहरूले सडकका विषयमा जिल्ला प्रशासनको समेत ध्यानाकर्षण गराएका छन् ।

गत असार १३ गते संयुक्त वस व्यवसायी संघले आयोजना गरेको लेगुवा–भोजपुर सडकको स्थलगत अध्ययन कार्यक्रममा आयोजना प्रमुख राजेन्द्रप्रसाद शाहले बर्खामा पनि भोजपुरसम्मै यातायात सञ्चालन गर्न बाटो मर्मतको काम गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धतापछि निर्माण कम्पनीले केही ठाँउमा बाटो मर्मतसमेत गरेको थियो । केही ठाँउमा बाटो मर्मत गरेर विभिन्न बहाना बनाएर निर्माण कम्पनीले बाटो मर्मत नगरेपछि श्यामसिलादेखि भोजपुरसम्म यातायात सेवा ठप्प हुने अवस्थामा पुगेको भन्दै सरोकारवालाहरू आयोजना र निर्माण कम्पनीसँग रुष्ट बनेका हुन् ।

संयुक्त वस व्यवसायी संघले श्यामसिलादेखि भोजपुरसम्म यातायात सञ्चालन गर्न नसक्ने भन्दै पत्रकार, राजनीतिक दल, नागरिक समाज र व्यवसायीका बीचमा आयोजना गरेकोे कार्यक्रमका सहभागीहरूले असार १३ को प्रतिवद्धता पूरा नहुने देखिएको र यातायात बन्द हुन नदिन आयोजना र निर्माण कम्पनीलाई दबाब दिनुपर्ने बताएका थिए । उनीहरूले प्रतिवद्धता पूरा नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने र यातायात बन्द हुन नदिन स्थानीय प्रशासनले पहल गर्नु पर्नेमा जोड दिए ।

मौसम र अन्य कारणले हवाई उडान समेत सहज नहुने र यातायातका साधन सदरमुकामसम्म नचल्ने गरेकाले यात्रुहरू सबैभन्दा मारमा परेको स्थानीय विनोद थापा बताउँछन् । हिलाम्मे बाटो र नियमित हवाई उडान नहुँदा बिरामीहरू लाखौं खर्चेर हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लानुपर्ने पीडा भोजपुरेमाझ रहेको छ ।

एकीकृत माओवादी भोजपुरका अध्यक्ष तथा पूर्वसभासद् सुदन किराँतीले भोजपुर नगरपालिका क्षेत्रमा बाटो बिग्रिएकाले नगरपालिकाले समेत मर्मतमा चासो देखाउनुपर्ने बताए । ठेकेदारलाई बाटो मर्मत गराउन सबैले दबाब दिनुपर्ने किराँतीको भनाइ छ ।

नेपाली काँग्रेस भोजपुरका सभापति बालकृष्ण थापाले ठेकेदारको लापरबाहीका कारणले यातायात बन्द हुने अवस्था आएकाले ठेकेदारले तत्काल बाटो मर्मत गर्नुपर्ने बताए । निर्माण कम्पनीका साथै नगरपालिका, जिविस, उद्योग वाणिज्य संघ र व्यवसायी मिलेर बाटो मर्मत गरी यातायात सञ्चालन गर्नुपर्ने थापाको भनाइ थियो ।

नागरिक समाजका संयोजक पर्शुराम तिवारीले यातायात बन्द हुँदा भोजपुर हवाई र स्थल यातायातको सम्पर्कविच्छेद भएको कुनै एक सामुन्द्रिक टापुझैं हुने भएकाले यातायात बन्द गर्न नहुनेमा जोड दिए । संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले बाटोको दुरावस्थाका कारण बस सञ्चालन गर्न नसक्ने अवस्था आएको बताए । मोक्तानले निर्माण कम्पनीले केही ठाँउमा सडक मर्मत गरेर झारो टार्ने काममात्र गरेको आरोप लगाए ।

यता, आयोजना र निर्माण कम्पनीले भने सडक मर्मत गरे पनि मालबाहक सवारी साधनहरूले क्षमताभन्दा बढी भार बोकेर आउँदा पटक–पटक बाटो बिगारेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीलाई सडकको अवस्थाका विषयमा जानकारी गराएपछि यातायात सञ्चालनका लागि तीन बुँदे निर्णय र पाँच सदस्यीय सडक मर्मत समिति समेत गठन भएको छ ।

लेगुवाघाट भोजपुर सडक कलोपत्रे गर्न बैंकले एक अर्ब ८९ करोड २९ लाख ६८ हजार ८ सय ऋण सहयोग गरेकोमा ठेकेदार कम्पनीले ९९ करोड ४४ लाख ६७ हजार ५ सय रुपैंयामा ठेक्का लिएका छन् । सडक कालोपत्रेको ठेक्का तीस महिनामा सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी तेन्जिन–रमन र कन्काई कन्स्ट्रक्सन संयुक्त रुपमा लिएका छन् ।

-biratpathonline
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget