Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कतै समर्थन कतै विरोध


काठमान्डौ, साउन ४ ।


प्रधानमन्त्री सुशील कोइरालाले संबिधान बनाउने बेला गरिने आन्दोलने जनआन्दोलनको उपलब्धी गुम्ने भन्दै सबैको भावना समेट्ने गरी संबिधान जारी हुने आश्वासन दिनु भएको छ । बाँके क्षेत्र नम्बर ३ मा संबिधानको मस्यौदामाथिमस्यौदाको सुझाब संकलन जनताको सुझाव संकलनका लागि पुग्नुभएको प्रधानमन्त्री कोइरालले नयाँ संबिधान जारी हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । देशका विभिन्न स्थानमा सुझाव संकलनको क्रममा भएको अवरोधप्रति इंकित गर्दै प्रधानमन्त्रीले जनताको चाहना संबिधान भएकाले कसैले यसमा अवरोध गर्न नहुने बताउनुभयो । ‘जनताको भावनाबाट पछि हटेर आन्दोलन गर्नुभयो भने उपलब्धी गुम्छ’, उहाँले भन्नु भयो । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले संबिधान जारी हुने वातावरण बनेपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो ।
यता नुवाकोटमा जनताको सुझाव संकलनका लागि पुग्नुभएको अर्थमन्त्री डाक्टर रामशरण महतमाथि लक्षित गरी पेट्रोल बम प्रहार भएको छ ।नुवाकोटको सूर्यमती गाविसस्थित पट्टवारीमा अर्थमन्त्री डाक्टर महतलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको हो ।सुरक्षा निकायले अर्थमन्त्रीलाई अवरोध गर्ने गरी सुतली बम फालिएको हुनसक्ने आशंका गरेका छन् । घटनामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
उता बाँकेमा राप्रपा नेपालका कार्यकर्ताले संविधानको मस्यौदा जलाएका छन् । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमस्थल अगाडी राप्रपा नेपालका कार्यकर्ताले प्रदर्शन गर्दै संविधानको मस्यौदा जलाएका हुन् । उनीहरुलाई प्रहरीले हटाएको छ ।
यस्तै संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव संकलनका लागि पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी कार्यक्रम बिथोलिएको छ । रौतहट सदरमुकाम गौरमा सोमबार बिहान आयोजित कार्यक्रम मधेसवादी दलका कार्यकर्ताले बिथोलेका हुन् । पूर्व प्रधानमन्त्री नेपाल सीमित कार्यकर्ताका साथ बिहान कार्यक्रममा सहभागी भएका थिए । सद्भावना पार्टी लगायतका मधेसवादी दलका नेता तथा कार्यकर्ताहरु सो कार्यक्रममा प्रवेश गर्न खोजेपछि झडप भएको हो । एमाले कार्यकर्ता र मधेसवादी दलका कार्यकर्ताबीच ढुंगा हानाहानसमेत भएको थियो ।
यस्तै ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै युवा वर्गले ‘सांसद हुन कम्तीमा ‘स्नातक उत्तीर्ण’ को व्यवस्था नयाँ संविधानमा हुनुपर्ने सुझाव दिएका छन् । संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ले काठमाडौँ महानगरपालिकअन्तर्गत वडा नं ९ को कुलेश्वर, तीनकुनेमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीमध्ये धेरै युवाले चालक बन्न प्रवेशिका परीक्षा उत्तीर्ण हुनुपर्ने तर सांसद, मन्त्री हुन कुनै योग्यता नचाहिने प्रावधान सच्याउन जरुरी भएको सुझाव दिएका थिए । कार्यक्रममा सहभागी प्रह्लाद गिरीले शिक्षित नेतृत्वले मात्रै नयाँ योजना र कार्यक्रम ल्याई नेपाललाई चाँडै विकासको पथमा लैजाने भन्दै नेतृत्वका लागि शिक्षाको मापदण्ड तोक्नुपर्ने राय दिनुभयो । स्थानीय केशव पोखरेलले प्रारम्भिक मस्यौदामा राष्ट्रको प्रमुख निकाय राष्ट्रपतिको पदका लागिसमेत कुनै शैक्षिक योग्यता नतोकिएको बताउँदैै त्यसलाई सच्याउन सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा धेरै सहभागीले नयाँ संविधानमा राष्ट्रिय पार्टी बन्न र समानुपातिकबाट सभासद् चुनिन मतसीमा (थ्रेसहोल्ड)को व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।


यता पाँचथरमा अहिले पनि संविधान–२०७२ को प्रारम्भिक मस्यौदाको प्रति पाउन नसकेको भन्दै नागरिकले गुनासो गरेका छन् । सरकारले प्रत्येक नेपालीको हातमा संविधानको खाका पु¥याउने भने पनि जिल्लाका नागरिकले अहिलेसम्म मस्यौदा पाउन नसकेको गुनासो गरेका हुन् । मस्यौदाको प्रति कम छापिएकाले प्रत्येक नेपालीको हातमा पुग्न नसकेको संविधान सुझाव समितिका प्राविधिक अधिकृत जीवन निरौलाले बताउनुभयो । संविधानसभाले देशभरका लागि रु दुई लाख प्रति मस्यौदा किताब छपाइ गरे पनि छपाई प्रक्रिया ढिला भएका कारण जिल्लामा पु¥याउन कठिनाइ भइरहेको संविधान सुझाव समितिले जनाएको छ । करिब दुई लाख जनसङ्ख्या भएको पाँचथरमा एक हजार ५०० प्रति मात्र मस्यौदा किताब आइपुगेको समितिका प्राविधिक अधिकृत निरौलाले जानकारी दिनुभयो ।
यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदामाथि जनमत सङ्कलनको कार्य हतारमा गर्न नहुने बताउनुभएको छ । पोखरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले आज र भोलि जनमत सङ्कलन गरेर यही साउन ७ गते नै संविधानसभामा बुझाउने कार्य एकदमै हतारो र अव्यावहारिक हुने बताउनुभयो । केही समय लगाएर भए पनि जनमतबाट आएका सुझावको अध्ययन गरी संविधानसभामा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।


उता काठमाडौं क्षेत्र नम्बर–४ का जनताले प्रदेशको संख्या कम गर्न र प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गर्न माग गरेका छन् ।संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनका लागि पुगेका सभासद गगन थापा र राजन भट्टराई समक्ष उनीहरुले सार्वजनिक गरिएको मस्यौदाले जनताको भावना समेट्न नसकेको भन्दै गुनासोसमेत गरेका छन् । उनीहरुले आफूहरुका सुझावलाई देखावटीका रुपमा मात्र नलिन सभासदहरुलाई सचेत गराएका छन् । दलहरुको अंशबण्डाका आधारमा बनाइने संविधान मान्य नहुने चेतावनीसमेत उनीहरुले दिएका छन् । सर्वसाधारणले संविधानको मस्यौदा, ज्येष्ठ नागरिक, बालबालिका, युवा र महिला मैत्री हुन नसकेको गुनासो समेत गरेका छन् ।
उता नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले आज कीतिपुरमा जनमत सङ्कलन कार्यमा अवरोधको प्रयास गरेका छन् । कीतिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत सङ्कलन कार्यलाई प्रभावित तुल्याउने उद्देश्यले ती कार्यकर्ताले मस्यौदा च्यातेका हुन् । पूर्व सभासद् पार्वती थापामगर नेतृत्वको टोलीले संविधानमा सबै पक्षको भावनालाई सम्बोधन नगरिकन संविधान जारी गर्न खोजिएकाले आफूले मस्यौदा च्यातेको जानकारी गराउनुभएको थियो ।


यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद अर्जुननरसिंह केसीले संविधानको मस्यौदा त्रुटिपूर्ण रहेकाले जस्ताकोतस्तै जारी गरिए स्वीकार्य हुन नसक्ने चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरानमा गरेको कार्यक्रममा नेता केसीले संविधानको प्रस्तावनादेखि खारेजीसम्मका सबै भाग र धारा त्रुटिपूर्ण रहेकाले जस्ताकोतस्तै संविधान जारी गरिए देश ठूलो दुर्घटनामा फस्नेमा सचेत गराउनुभयो ।


त्यसैगरी दार्चुलामा संविधानको प्रारम्भिक मस्यौदामा राय सुझाव संलन सुरु हुनासाथ हिन्दु राष्ट्रको माग गरेर जुलुस निकालिएको छ । बिहान ११ बजे हिन्दुवादी संस्थाले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेपगरी केहीलाई नियन्त्रणमा लिएको छ । राप्रपा नेपाल, अखण्ड नेपाल, शिवसेना नेपाललगायतका कायर्कर्ताल जुलुस निकालेका हुन् । जुलुसले सदरमुकाम खलंगा बजार परिक्रमा गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget