के साथीहरू तपाईंको छेउमा बस्नबाट परपर भाग्ने गर्छन् ? छेउछाउका व्यक्ति आफ्नो नाक थुनेर तपाईंसँग कुरा गर्छन् ? अझ, बालबालिकासँग खेल्दावर्दा उनीहरूले ‘हजुरको मुख गन्हाउँछ’ भनेका त छैनन् ?
उत्तर सकारात्मक छ भने, सतर्क भइहाल्नुस् । तपाईंको सामाजिक जीवन जोखिममा छ ।
[caption id="attachment_1958" align="aligncenter" width="531"]

त्यही भएर मुखको दुर्गन्ध हटाउन जतिसक्दो चाँडो चिकित्सकीय लगायतका प्रयास थालिहाल्नुस् ।
‘सासको दुर्गन्ध मुखको सरसफाइमा कमीदेखि लिएर कुनै ठूलो रोगको लक्षणसमेत हुन सक्छ,’ कान्तिपुर डेन्टल कलेजका वरिष्ठ दन्तरोग विशेषज्ञ डा. प्रवीण मिश्र भन्छन्, ‘यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन ।’
मुख वा सासको दुर्गन्धलाई चिकित्सकीय भाषामा ‘हयालिटोसिस’ भनिन्छ । यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ ।
‘यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्न हुन्छ,’ वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुशील कोइराला भन्छन्, ‘मुखमा दुर्गन्ध आउनुको मुख्य कारण दाँतको उचित सरसफाइ नहुनु नै हो ।’ र, यो समस्या नेपालीमा मात्र छैन ।
अमेरिकन डेन्टल हाइजिनिस्ट एसोसिएसन (एडीएचए) को तथ्यपत्र अनुसार, करिब चार करोड अमेरिकीहरू मुखको दुर्गन्ध अर्थात् हयालिटोसिसको सिकार छन् । नेपालमा मुख गन्हाउने समस्या भएकाहरूको बारे खासै कुनै अध्ययन भएको छैन, तैपनि डा. कोइरालाको आकलन अनुसार दसजना दाँतका बिरामीमध्ये ६ जनामा मुख गन्हाउने समस्या पाइने गरेको छ ।
‘यो ६० प्रतिशतमध्ये २० देखि ३० प्रतिशत नेपालीमा दीर्घकालीन सास गन्हाउने समस्या छ,’ डा. कोइराला भन्छन्, ‘बाँकी ३० प्रतिशतलाई सामान्य मुख गन्हाउने समस्या छ, जो मुखको सरसफाइको राम्ररी ख्याल गर्दा सजिलै जान्छ ।’
विज्ञहरूको अनुसार, राति सुतेर बिहान उठ्नेबित्तिकै अलिअलि मुख गन्हाउनु सामान्य हो । यो गन्ध उपयुक्त प्रकारले ब्रस गर्दा जान्छ ।
मुखमा दुर्गन्ध उत्पन्न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा, थुक र खुन लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो । यी सबैको बीच जब प्रोटिन टुट्छ तब सल्फर नाउँ गरेको तत्त्व उत्पन्न हुन्छ । जसको गन्ध धेरै असह्य हुन्छ ।
‘जिब्रोमा बस्ने लेदोले समेत मुख गन्हाउने गरेको छ,’ डा.कोइराला भन्छन्, ‘जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दासमेत गन्हाउने समस्या कम हुन्छ ।’
जिब्रोमा स्वाद पत्ता लगाउने अंग (टेस्ट बड्स) को दायाँबायाँ बढी मात्रामा ब्याक्टेरिया जम्मा हुने उल्लेख गर्दै डा. कोइराला भन्छन्, ‘मधेसमा नियमित जिब्रो सफा गर्ने चलनले गर्दा त्यहाँका बासिन्दामा मुखको दुर्गन्ध कम पाइने गरेको छ ।’
प्रा.डा.मिश्रको अनुसार मुखको सरसफाइबाहेक कहिलेकाहीं गिजाको विभिन्न रोग हुँदा, जिब्रोमा जीवाणु जम्दा, सफा नक्कली दाँत (डेन्चर) क्लिप नलगाउनु, मुखमा घाउ हुनु, गलत रूपले दाँत भर्नु, प्याज र लससुन आदि खाद्य पदार्थको उपयोग, लामो समयसम्म औषधि सेवन गर्नु, जटिल रोगसमेत मुख गनाउने कारक हो ।
‘कसैकसैमा घाँटीको संक्रमणले गर्दासमेत मुख गन्हाउँछ,’ प्रा.डा. मिश्र भन्छन्, ‘उसो ८० प्रतिशतसम्म मुख गन्हाउने कारण स्थानीय हो, अर्थात् दाँतको बीच खाना अडकएर कुहिएर गन्हाउनु ।’
तनावले समेत मुख गन्हाउने गरेको छ । ‘तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउँछ,’ डा.कोइराला भन्छन्, ‘यसैले र्याल आउने बनाउन प्रशस्त पानी र फलफूल सेवन गर्नुपर्छ ।’
मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा यसले बास्नाभन्दा पनि मुखमा र्यालको प्रवाहलाई कायम गर्दा मुख गन्हाउने समस्या कम हुने हो ।
अमेरिकन डेन्टल एसोसिएसन (एडीए) को तथ्यपत्र अनुसार, अपर्याप्त दाँतको सरसफाइ, मुखको संक्रमण, सास नलीको संक्रमण, लसुन, प्याज, धूमपान, मद्यपानजस्ता बाहय स्रोत, सुक्खा मुख, मधुमेह/मृगौला/फोक्सो/कलेजो/पिनास लगायत बिरामीसँगै मानसिक बिरामी हुनु मुख दुगन्धको कारण हुन सक्छ ।
एडीएचएको अनुसार, दुर्गन्धबाट बच्न खाना खाएपछि ब्रस गर्न नसके पानीले राम्ररी कुल्ला गर्नुपर्छ । यस्तै, चिनीरहित चुइँगम चपाउँदा पनि मुखमा र्याल आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन ।
विज्ञहरूका अनुसार दुर्गन्धको कारणलाई जरोदेखि नष्ट गरे मात्र यो समस्याबाट मुक्ति पाउन सकिन्छ । सामान्य रूपमा मुखको राम्ररी सफाइ गर्दा रोग र गन्ध उत्पन्न गर्ने जीवाणु नष्ट हुन्छ । तर यदि समस्या जटिल वा सामान्य सरसफाइले समेत निको नभए दन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
सासको दुर्गन्धको कारण
फिजियोलजिकल : शारीरिक कारणले हुन्छ । यो सामान्यत: पाको उमेरमा हुन्छ तर खानपान र जीवनशैलीमा निकै तनावले गर्दा यो हाल युवामा समेत बढी मात्रामा देखिन थालेको छ । यो समस्या जिब्रोमा आवश्यकता–भन्दा बढी ब्याक्टेरिया उत्पन्न हुँदा हुन्छ ।
प्याथोलजिकल : यसको कारण कुनै न कुनै प्रकारको शारीरिक रोग हो । यसले गर्दा पनि सासमा दुर्गन्ध उत्पन्न हुन्छ ।
हयालिटोफोबिया : यो शारीरिकभन्दा मनोवैज्ञानिक तनावले गर्दा हुन्छ । यसमा मेरो मुखबाट दुर्गन्ध आउँछ र यो हट्दैन भन्ने भय हुन्छ । सामान्यत: सासको दुर्गन्धको उपचार गराइस कारुरमा यो मनोवैज्ञानिक भय बढी हुन्छ ।
जेरास्टोमिया : मुख आवश्यकताभन्दा बढी सुक्खा हुनु । मुखमा बन्ने र्याल भोजन पचाउन सहायक हुन्छ । सँगै यो मुखको अम्लीय वातावरणलाई कम गरेर मुखमा अक्सिजनको स्तर कायम राख्छ । यसले मुखको तन्तु ताजा र स्वस्थ रहन्छन् । मुख सुक्दा र्यालको अभावमा जीवाणु
तीव्र गतिले बढ्न थाल्छन् र वाष्पशील सल्फर कम्पाउन्डमा परिवर्तित हुन थाल्छन् । यसले मुखमा दुर्गन्ध आउँछ ।
हटाउन के गर्ने ?
- बिहान र राति खाना खाइसकेपछि दाँत माझ्ने
- सम्भव भए केही खाएपिच्छे ब्रस गर्ने
- दाँत माझ्दा जिब्रो सफा गर्न नबिर्सने
- दाँतमा फसेका अन्नकण हटाउन डेन्टल फ्लस गर्ने
- दाँत र गिजामा रोग भए, मुख सुक्खा हुने समस्या भए दन्तचिकित्सककहाँ जाने
- पानी र अन्य तरल पदार्थ प्रशस्त मात्रामा खाने
- ल्वाङ, सुकमेल आदि बेलाबेला चपाउने
- खानामा रेसायुक्त फलफूल र सागसब्जीको उपयोग गर्ने
Post a Comment