कांग्रेसले भुकुम्प पीडितहरुका लागि संकलित राहत दुरुपयोग भएको भन्दै सरकारको ध्यानआकर्षण गराएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा पार्टीको अनुगमन समितिको प्रतिनिधि मण्डलले मंगलबार गृहमन्त्री बामदेव गौतमलाई भेटेर राहत तथा पुर्नस्थापना कार्यमा एमालेकरण भएको र कतिपय ठाउँमा राहत नपुगेको जानकारी गराएको थियो ।

सरकारले बस्न नहुने गरी क्षति पुगेका घरको पुर्ननिर्माणका लागि तत्काल दिने भनिएको १५ हजार रुपैयाँ पीडितहरुले पाउन नसकेको, उद्योग मन्त्री महेश बस्नेतसहितका एमाले नेता तथा कार्यकर्ताहरुले सरकारले घोषणा गरेको राहतमा पार्टीकरण गरेको, विदेशमा संकलित रकम पारदर्शी नभएकोलगायतका बिषय प्रतिनिधि मण्डले गृहमन्त्री गौतम संग राखेका थिए । त्यस्तै बर्षादको बेलामा विस्थापितहरुको पुर्नस्थापनाको बिषयमा सरकारको तयारीका बारेमा पनि प्रतिनिधिमण्डले जानकारी मागेको थियो ।
प्रतिनिधि मण्डलमा सहभागी सदस्य रामहरि खतिवडाका अनुसार जबाफमा गृहमन्त्री गौतमले सरकारले बस्न हुने र नहुने दुई किसिमबाट घरको बर्गिकरण गरिएको बताउदै बस्न नहुने घरका लागि १५ हजार रुपैयाँ दिने काम अब छिट्टै हुने बताए ।
उनले बर्षादका समयका लागि ५ लाख त्रिपाल स्टक राखिएको, एक लाख मानिसलाई झापाको तत्कालिन भुटानी शरणार्थी क्याम्प र माओवादी लडाकु राखिएको क्यानटोनमेनमा पुर्नस्थापना गर्ने तयारी भइरहेको समेत जानकारी गराएका थिए ।
कांग्रेस उपसभापति पौडेलले पुर्नस्थापना र पुर्ननिर्माणको कामलाई योजनाबद्ध रुपमा अघि बढाउन अधिकार सम्पन्न प्राधिकरण बनाउनु पर्नेमा जोड दिएका थिए । भूकुम्प पीडित क्षेत्रमा छुट्टीएको विकास बजेट असार मसान्तमा सम्पन्न हुन नसकेपनि ६ महिना सम्ममा फि्रज नहुने व्यवस्था गरिनुपर्ने माग समेत कांग्रेसका प्रतिनिधि मण्डलले राखेका थिए । गृहमन्त्री गौतमले यो बिषयलाई मन्त्रिपरिषद्को बैठकमा लैजाने बताए । प्रतिनिधि मण्डलमा पूर्व गृहमन्त्री एवं सहमहामन्त्री पुर्णवहादुर खड्का, भरत शाह, रामहरि खतिवडा, भरत शाह, रामचन्द्र पोख्रेल, मोहन बराल, किरण यादवलगायतको सहभागिता थियो ।
Post a Comment