
केही दिनअघि नेपाली सेनाको भीमकाली गुल्म मेलम्चीका गुल्मपति प्रेम हमाल सिन्धुकोट गाविसबाट फर्कदै थिए। सिन्धुकोटबाट मेलम्चीसम्मको बाटोमा स्थानीयले उनी चढेको गाडीलाई तीन-चार ठाउँमा रोके। गाडी रोकिएपछि उनीहरूले सोधे-मेलम्ची ब्यारेकमा एक जना हमाल मेजर साब् हुनुहुँदो रहेछ। हामीले कुरा गर्न पाइन्छ कि पाइँदैन हजुर? कहिले भेट्न सकिन्छ होला, हजुर?‘मै हो मेजर हमाल, के कुरा गर्नुछ? यही गर्नुस्’ हमालले जवाफ फर्काए।‘हजूर एकछिन् गाडी बाहिर निस्कनुपर्यो’ स्थानीयले आग्रह गरे।
हमाल गाडीबाट ओर्लिए। स्थानीयले उनको हात समाउँदै वैशाख १२ को भूकम्पपछि गुल्मले गरेको उद्धार र सहयोगका लागि उनलाई धन्यवाद दिए। केही वृद्धवृद्धाले ‘बुढेसकालमा भोगेको विपद्मा हामीलाई सहयोग गर्नुभयो’, भन्दै आँशु खसाले। उपस्थितमध्ये केही पूर्व सैनिक पनि रहेछन। उनीहरुले हमाललाई ‘स्याल्युट’ ठोके।सधैँ गुल्ममा सैनिकको स्यालुट खाएका हमाललाई त्यो दिन नागरिकले सलाम गरे।नागरिकले गरेको त्यो सलाम र वैशाख १२ को भूकम्पपछिका दिनहरूलाई हमालले शनिबार बिहान गुल्मको अधिकृत मेसमा हामीसँग पोखे।भूकम्पपीडितको मनको घाउमा हाँसोको मल्हम लगाउने उद्देश्यले हिँडेको सिस्नुपानी नेपालको टोलीसँग हामी पनि मेलम्ची पुगेका थियौं। उद्धार र राहतमा खटेका सैनिक तथा प्रहरीलाई मनोरञ्जन गराएर उनीहरुको आत्मविश्वास बढाउने सिस्नुपानीको उद्धेश्य थियो, हमालका कुरा सुनेपछि उल्टो हसाउन गाएका हरुको आत्मविश्वास बढ्यो।वैशाख १२ गते शनिबार गुल्मपति हमाल टिभी हेरिरहेका थिए। एक्कासी जमिन हल्लिन थाल्यो। उनले भूकम्प आएको चाल पाइहाले। हत्तपत्त अधिकृत मेसबाट बाहिर निस्किए। ब्यारेक कम्पाउन्डभित्र रहेका तीनवटा घरमा सैनिक जवानका परिवार बस्थे।निमेषभरमै ती घर गर्ल्यामगुर्लुम ढले। सेन्ट्री बसेका एक सैनिक जवानकी श्रीमती र बच्चा पनि तिनै घरमा बस्थिन्। गेटमा पहरा दिइराखेका जवान आफ्नी श्रीमती र बच्चा घरले पुरिएको देखेर सेन्ट्री पोष्टमै ढले।
गुल्म वरिपरि र डाँडातिरका घर पनि ढलिरहेका थिए। बम पड्केको जस्तै आवाज, मान्छेको कोकोहोलो, धुलोको कुइरीमण्डल। छिनको छिनमै वरपरको दृश्य हलिउडको कुनै फिल्मको विनाशकारी सिन जस्तो बन्यो। वरिपरिको डाँडाबाट मानिसहरु ‘सेना हाम्लाई बचाऊ’ भनेर कराउन थाले।मेजर हमालले आफ्ना जवानहरुलाई जेजस्तो हालतमा छौ त्यही हालतमा आऊ भन्दै बेस्सरी कराए निर्देशन दिए। आफू बेहोस भएर ढलेका जवानलाई सम्हाल्न लागे। भूकम्पले अलमलिएका करिब डेढ सय सैनिक ती तीनवटा घरमा रहेका मान्छे निकाल्न भग्नावशेषमा अंरिगालको गोलो झैं खनिए। सबैलाई सकुशल बाहिर निकाले।‘सम्पूर्ण काम पाँच-छ मिनेटभित्र गर्न सफल भयौं’, हमालले भने।
आफ्नी श्रीमती र बच्चालाई सकुशल देखेपछि ती जवान पनि समालिए। हमालले सम्झाए-यसरी आत्तिएर हुन्छ?ब्यारेकमा भएका सबैलाई सकुशल निकालेपछि उनको दिमाग चारैतीरबाट गुहार मागिरहेका मानिसतर्फ गयो।
मान्छेको मन न हो। उनले पनि काठमाडौंको पाँच तल्लामाथि डेरामा बस्ने आफ्नो परिवार पनि सम्झे।‘सैनिक परिवारको त्यो अवस्था देखेपछि मैले पनि परिवार सम्झिएँ’, हमालले भने ‘काठमाडौंमा पाँच तलामाथि बस्ने। सबै गए होलान्। सबै सकियो होला। यस्तो स्थिति छ। फोन गर्न खोजेँ तर टावरले काम गरेन।’अर्को मनले भन्यो-जे हुनु भइसक्या छ। अब के नै गर्न सकिन्छ र? फोन गरेर केही फाइदा छैन। उनले आफूलाई सम्हाले र परिवारको चिन्ताचटक्कै छोडिदिए। आफूलाई एउटा सैनिक कमाण्डरमात्र सम्झिए।‘एउटा कमाण्डरले मेरो परिवार ढल्यो वा सक्कियो भनेर पीर मानेर हुँदैन। त्यतिबेला मलाई पुरै ‘ट्रुप्स’ र बाहिर जनताको ‘बचाउ, बचाउ’ भन्ने आवाजलाई कसले सम्बोधन गर्छ भन्ने लाग्यो। परिवारलाई जे भयो होला, त्यो भइसक्या छ भन्ने सोचे। सैनिकहरूलाई सानो सानो समूह बनाई चारैतिर गाऊँ-गाँउमा पठाए। धेरैलाई मेलम्ची बजारतर्फ जान भने।सैनिकहरू दौडिँदै मेलम्ची बजार पुगे। बजारका कति मानिसले आफ्नो घर भत्किएको त्यही घरले आफन्त च्यापिएका देखिरहेका थिए तर के गर्ने मेसो पाइरहेका थिएनन्। उनीहरुमा च्यापिएकालाई निकाल्न ढुगां फाल्नुपर्छ भन्ने होस थिएन र साहस पनि। त्यसमाथि भूकम्प धक्का एकपछि अर्को गरी आइरहेका थिए।‘सिद्धान्त: त्यस्तोबेला सैनिकहरूलाई थप खतरा हुन्छ भनेर नजानु भनेर सिकाइएको हुन्छ। तर उनीहरुले त्यसको बेवास्ता गरे। नगरून् पनि कसरी? भत्केका घरका भग्नावेशबाट पुरिएकाको ‘बचाउ, बचाउ’ भन्ने आवाज आइरहेको थियो। त्यो सुनेर बसिरहन उनीहरूको मनले मानेन। सतर्कताका साथ उद्धार गर्न थाले। सशस्त्र र नेपाल प्रहरीका जवान पनि आइपुगे। सेनाको संयोजकत्वमा उनीहरू उद्धारमा जुटे। उनीहरुले दोस्रो दिनसम्ममा पुरिएका ४९ जनाको जिवितै उद्धार गरे ।नजिकैकाको त उद्धार गरियो टाढाटाढा गाउँमा के भो होला? हमालको मन पिरोलियो। उनको गुल्म अन्तर्गत त्यस क्षेत्रका २३ गाविस पर्छन्।भूकम्पको भोलिपल्ट १३ गते राति ११ बजे उनको टोली फेरि जम्मा भयो। खाना खाने अवस्थामा उनीहरु थिएनन्। पिउने पानीको मूल पूरैधमिलिएर लेदो मात्र आउँथ्यो। सुत्ने ओछ्यानको 'फोम' प्रयोग गरेर छान्ने प्रयास गरे तर त्यसले छान्न सकेन। एउटा ट्यांकीमा पानी थियो, त्यो पानी सबैलाई एक-एक टुमलेट भएपनि पुर्याएर पिए। क्यानटिनमा भएको बिस्कुट तथा चाउचाउ जस्ता ड्राइ फुड खाएर काममा निरन्तर लागिरहे। भोलिपल्टबाट सैनिक जवान गाउँमा जाने र घाइते ल्याउने काममा निरन्तर खटे।तेस्रो दिनबाट काठमाडौं सम्पर्क स्थापित हुन थालेपछि उनले थप फौज मगाए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना सहितको फौजलाई प्रत्येक गाउँमा पुर्याए।भूकम्पको दोस्रो दिन साँझ नै त्यस क्षेत्रका सभासद शेरबहादुर तामाङ मेलम्ची पुगेका थिए। हमालले सभासद तामाङ्सहित तत्काल एउटा सर्वदलीय समिति गठन गरे। तामाङ्को उपस्थितिले उनलाई काम गर्न सहज भयो। ठाउँको जानकारी लिन र सम्पर्क स्थापित गर्न तामाङ्का कारण सजिलो भयो।उनले घाइतेको उपचारका लागि सहज बनाउन काठमाडौं र धुलिखेल लैजानको लागि बाटो खुलाउने काम गरे। साधारण घाइतेलाई सडकबाट पठाए भने गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाए।यसरी राहत र उद्धारमा खटेका उनले छैठौ दिनपछि मात्र खाना खाए। ‘मैले डायरीमा नोट गरेका गम्भीर घाइतेलाई पठाइसकेपछि खाना खाँए। ‘ट्रुप्स’ले पनि तेस्रो दिनमात्र राम्ररी खाना खाए, त्यो दिनसम्म केटाहरु पनि चाउचाउ पानी र बिस्कुटमै खटेका थिए’, उनले भने।उनले आज यसका लागि वाहवाही पाएका छन्। यो सबै हमालले वैशाख १२ गतेको भूकम्पपछि केहि मिनेट भित्र लिएको निर्णयको उपज हो। ब्यारेक नजिकैको मेलम्ची बजारका स्थानीय पनि सेनाले ज्यानको पर्वाह नगरी उद्धार गरेकोमा उनीप्रति कृतज्ञ छन्। 'भूकम्पपछि हामी आफ्नो ज्यान जोगाउन भाग्यौं तर तपाईहरु भाग्नु भएन। हाम्रा परिवारको उद्धारमा खटिनु भयो।' उनको नेतृत्वमा नेपाली सेनाले गरेको प्रभावकारी उद्धार र राहत वितरणले हमाल सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर ३ मा 'हिरो' भएका छन्।उनी आफूले 'भयंकर' गरेको हुँ वा गरें भन्ने ठान्दैनन्। उनले भने- मैले त एउटा सिपाहीले गर्नुपर्ने कर्तव्य मात्र पुरा गरेको हुँ। उनी यसलाई आफूले फौजमा सिकेको कुरालाई फिल्डमा उतारेको बताउँछन्।तालिमका क्रममा उनले सिकेका थिए- अवस्था यस्तो पनि आउँछ जब तिमीसँग तिम्रोसाथमा रहेको टोलीका सैनिकमात्र हुन्छन्। तिमीलाई कसो गर्ने भनेर सिकाउने मान्छे नहुन सक्छ। त्यस अवस्थामा तिमीले गर्ने सुझबुझपूर्ण निर्णय नै काम आउँछ।
वैशाख १२ गते उनले आफूलाई त्यही परिस्थितिमा पाए। व्यक्तिगत समस्यालाई किनारा लगाउँदै तालिममा सिकेको कुरालाई व्यवहारमा उतारे। उनले बिचलित नभई जे जे गर्न सकिन्थ्यो, सबै गरे। विपदको घडीमा आफ्ना परिवारको पर्वाह गरेनन्, सबै सकिए भनेर चित्त बुझाए। भावनामा बगेनन्। मुटुलाई ढुंगाजस्तो कठोर बनाए। एउटा सिपाहीले यस्तो बेला जे गर्नुपर्थ्यो त्यही गरे। आफ्नो कर्तव्यबाट तलमाथि भएनन्।चट्टानजस्तो मन बनाएर बसेका उनले माया मारेको परिवार सकुशल रहेको कुरा भूकम्पको तेस्रो दिन बेलुका थाहा पाए । उनले कैयौंको ज्यान बचाएका थिए। भगवानले उनको परिवार बचाइदिए छन्। उनले सन्तोषको सास फेरे। परिवारसँग फोनमै कुरा गरे।परिवारसँग कुराकानी गरेको त्यो क्षण सम्झिदा उनले आफूलाई सम्हाल्न सकेनन्। बलियो हुन खोज्दाखोज्दै पनि त्यतिबेला मनमा चलेको पीडाको आँधीहुरी सम्झँदा उनका आँखा आँशुले भरिए। टिलपिल भएका आँशुलाई रोक्ने असफल प्रयास गर्दैगर्दै उनी पोखिए।एक सिपाहीले ल्यादिएको टिस्यूपेपरले आँशु पुछ्दै भक्कानिएको स्वरमा भने-एकदमै हृदयविदारक । व्यक्त गर्न नि गाह्रो। बाँचेका छन् र भेट गर्न पाइन्छ भन्ने सोच मनमा नभएकाले होला फोनमा कुरा गर्दा मन अर्कै भयो।' त्यतिखेर उनले आफूलाई हिम्मतले समाले। किनकी फौजीको साथी हिम्मत र आँट नै हो। आमाबाबु, श्रीमती, छोराछोरी घरपरिवारभन्दा देश र जनता माथि हुन्छन् भनेर सिकेका उनले हिम्मतले काम लिए। विपद्को घडीमा आफ्नो मोर्चाबाट एउटा सच्चा सिपाहीले जसरी लड्नुपर्थ्यो उनी त्यसरी नै लडे। सेन्ट्रीको सिपाही झैं ढल्न उनको कर्तव्यले दिदैन्थ्यो। किनकी त्यस अवस्थामा उनी सम्पूर्ण जवानका अभिभावक थिए। उनले हिम्मत हारेको भए अरुले पनि हिम्मत हार्थे।उनीसँगको एक घण्टाको भलाकुसारीपछि यसअघि मनमा रहेको बिपी कोइरालाको 'सिपाही' कथामा भएको सिपाहीको चित्र कोसौ टाढा गइसकेको थियो। 'सिपाहीको मुटु ढुगांको हुन्छ' भन्ने वाक्यमै अड्किएको मेरो सोचले अर्को वाक्य पनि सम्झियो 'ढुगां पनि रसाउँछ'।
Post a Comment