जेष्ठ २० , युएई /
हालैको विनाशकारी महा भुकम्पबाट प्रभावितहरुको सहयोगार्थ युएईका प्रवाशी नेपाली हरुले महानायक राजेश हमाल सहितको उपस्तिथिमा भव्य च्यारिटी शो को आयोजना गर्ने भएका छन । युएई स्थित नेपाली राजदुतावासको संरक्षकत्व एवं भुकम्प पीडित राहत सहयोग अभियान समितिको आयोजनामा युएईको राजधानी अबुधाबीमा आगामी जुन १२ तारिख शुक्रबार उक्त विशेष च्यारिटी शोको आयोजना हुने भएको हो । अबुधाबी स्थित मुश्रीफमा अल नाहदा स्कुलको सभाहलमा आयोजना गरिने उक्त कार्यक्रममा महानायक राजेश हमालको साथमा उनकी नव विवाहिता पत्नी एवं मोडल मधु भट्टराई , डि.आई.डि लिटल एन्जल सिजन - ३ कि विजेता तेरिया मगर , हाँस्य कलाकारद्वय दिपकराज गिरि र दिपाश्री निरौला , गायिका आस्था राउत , लोक गायक-गायिकाहरु तिलक बम मल्ल , ईन्द्र जिसि , सम्झना लामिछाने मगरको टोलिले बिना पारिश्रमिक प्रस्तुति गर्ने आयोजकले जनाएको छ । साथै सोही कार्यक्रममा प्रस्तुती दिनका निम्ति अष्ट्रेलिया बस्दै आएकी पप गायिका प्रजिता गेलाल र कुवेतबाट गायक विवि मल्ल ठकुरी समेत आउने आयोजकले जानकारी दिएको छ ।
गत बैशाख १२ गतेको महाभुकम्पबाट अप्रत्याशित रूपमा भएको विनाशकारी क्षति र त्यसबाट मर्महात बनेका पीडितहरुको घाउमा मलहम लगाउन चौतर्फी सहयोगी हातहरु बढिरहेको बेला प्रवाशमा रहने नेपालीहरुको समेत कर्तव्य भएको हुनाले कार्यक्रम आयोजना गरिएको आयोजक भुकम्प पीडित राहत सहयोग अभियान समितिका संयोजक कृष्ण भुसालले बताउनु भयो । च्यारिटीको टिकट बिक्रि मार्फत संकलित सम्पुर्ण रकम सिधै प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा हुने भुसालले जानकारी दिनुभयो । वहाँले विनाशकारी महाभुकम्पबाट घरबार बिहिन भएका , आफन्त गुमाएका र सर्वोस्व गुमाएकाहरुको पुनर्स्थापना र राहत जुटाउने परोपकारी कार्यमा सहभागी भई सहयोग गरिदिन युएईमा कार्यरत सम्पुर्ण संघसंस्था र नेपालीहरुलाई आग्रह गर्नु भएको छ । मातृभुमी शोकमा डुबेको बेला प्रवाशबाटै भएपनि यति सहयोग गर्ने अवसर जुट्नु एउटा राम्रो अवसर भएको यहाँका नेपालीहरुले बताएका छन । युएईमा करिब ४ लाख नेपाली रहेका छन भने दूतावास को अभिलेख अनुसार ६४ नेपाली संघसंस्था कृयाशिल छन । आयोजकले ती सबै संघसंस्था र सरोकारवालाहरुलाई सहयोग र समन्वयको निम्ति आग्रह गरेको छ । यहाँ रहेका सम्पुर्ण नेपालीहरुको संयुक्त आयोजनामा कार्यक्रम हुने भन्दै सबैलाई प्रचारप्रसार र सहभागिताको निम्ति आयोजक समितिका संयोजक कृष्ण भुसालले अपिल गर्नु भएको छ ।

कार्यक्रमलाई भव्यतापुर्वक सफल बनाउन विभिन्न उपसमितिहरु निर्माण गरिएको छ भने ती समितिहरु कार्यक्रमको प्रचारप्रसार र व्यवस्थापनका निम्ति सकृयता पुर्वक लागिपरेका छन । यसैगरी कार्यक्रम स्थल अल नाहदा स्कुलले उक्त कार्यक्रमका लागि हल निशुल्क उपलब्ध गराउने भएको छ भने अल एन स्थित अन्नपूर्ण ट्राभलले कलाकारका निम्ति भिसा शुल्क व्यहोर्ने भएको आयोजकले जनाएको छ । स्मरण रहोस भुकम्प पीडितको सहयोगार्थ यस अघि पनि भुकम्प पीडित राहत सहयोग अभियान समितीले यहाँका नेपाली र अन्य सहयोगीहरुबाट संकलित नेपाली २५ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरिसकेको छ भने ३ सय टन राहत सामग्री नेपाल पठाई सकेको छ ।
Post a Comment