वैशाख १२ को महाभूकम्प गएको एक महिना बित्न लाग्दा हुम्लामा नयाँ केन्द्रबिन्दू भएको भूकम्प गएको छ ।
शुक्रबार राति (शनिबार बिहान) १२ बजेर ५२ मिनेटमा गएको ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले सदरमुकामका केही घर चर्किएका छन् भने सर्किदेउ गाविसमा रहेको महादेव प्राथमिक विद्यालय चर्किएको बताइएको छ ।
मानविय क्षति नभएको र गाउँमा रहेका भौतिक संरचनामा सामान्य क्षति पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
पहिले पनि यस्ता साना भूकम्प जाने गरेको भन्दै यो भूकम्पबाट कुनै ठूलो असरको सम्भावना नरहने खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक डा. सोमनाथ सापकोटाले हामीसँग बताए ।
सापकोटाले वैशाख १२ को भूकम्प गएको क्षेत्रभन्दा फरक भू–भागलाई केन्द्रबिन्दू बनाएकै कारण यो नयाँ भूकम्प भएको जानकारी दिए ।
यता, वैशाख १२ को महाभूकम्पपछि अझै पराकम्पन जानेक्रम रोकिएको छैन । शनिबार दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, शुक्रबार मात्रै चार म्याग्निच्यूडमाथिका ५ ओटा पराकम्पन गएका थिए ।
-

Post a Comment