
१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाअभियोग प्रस्तावले सत्ता गठवन्धनमा रहेका कांग्रेस-माओवादीबीच अविश्वास नबढाएको दाबी गरेका छन् ।
दुबै दलले एकअर्कालाई परेको अफ्ठ्यारो बुझेको भन्दै उनले गठवन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा दुविधा नरहेेका बताए । शनिबार बालुवाटारमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने, एक अर्काकाको अफ्ट्यारोमा सहयोग गरेर गठवन्धन अघि बढाउनुपर्छ भन्नेमा कुनै दुविधा लिडरसिप लेभलमा छैन ।’
माओवादीका ४० सांसदले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुसँग मिलेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग दर्ता गराएका छन् । सत्तारुढ प्रमुख घटक कांग्रेसले भने यसबारे निर्णय गरेको छैन र सत्ता गठवन्धनविरुद्धको षड्यन्त्रको आशंकाको रूपमा हेरेको छ ।
प्रधानमन्त्री प्रचण्डले भने, बाहिरबाट झट्ट हेदा एउटा महाअभियोगको पक्षमा छ, अर्को छैन, त्यसैले अनुमान हुनसक्छ । यथार्थ के हो भने हाम्रो बीचमा कुनै अविश्वास छैन ।’
यो चुनौतीलाई मिलेर नै सामना गर्नुपर्छ भनेर अझ गम्भीर छलफल सुरु भएको उनले बताए । साथै महाअभियोग प्रस्तावबारे राष्ट्रिय समझदारी बनाउने प्रयास भइरहेको बताए ।
विदा दिँदा फाइदा हुन्छ
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णयको बचाउ गरे । साथै यो राष्ट्रपति कार्यालयदेखि दलहरुको सहमतिमा भएको र यसले देशलाई फाइदा हुने दाबी गरे ।
निर्णयको आलोचना भएको आफूले सुनेको भन्दै उनले धेरै वर्षपछि नेपाल आउन लागेका भारतीय राष्ट्रपतिको सम्मान र ट्राफिक व्यवस्थापनलाई ध्यान दिएर यो निर्णय भएको बताए ।
दुई छिमेकी देशका राष्ट्रप्रमुख नेपाल आउँदा विदा दिने निर्णयले नेपाल भारत र नेपाल चीन सम्वन्ध सुधारका लागि सकारात्मक सन्देश दिने प्रधानमन्त्री प्रचण्डको दाबी छ । धेरै नकारात्मक सोच राखेको भन्दै उनले भने, राष्ट्रपतिको भ्रमणलाई नै असर पर्ने गरेर के फाइदा हुन्छ ?
साथै उनले चीनबाट पनि यो लेभलबाट भ्रमण हुने विश्वासका साथ सरकारले तयारी गरेको बताए ।
दलहरू सहमति ‘नजिक’
पत्रकारहरुसँग कुराकानी अघि प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग वार्ता गरेका थिए । उक्त छलफलले भोलि वार्ता गर्ने तय गरेको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए ।
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र कार्यान्वयनबारे सकारात्मक छलफल भइरहेको बताए । पछिल्लो चरणमा सत्ता र प्रतिपक्षबीच सम्वाद सुरु भएको छ । यसलाई मैले सुखद राजजीतिक परिघटनाको विकासका रुपमा लिएको छु, उनले भनेका छन् ।
दलहरु सहमति नजिक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही समयभित्र परिणाम देखिने दाबी गरे ।
Post a Comment