
२३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कम्प्युटर ल्यावमा आजभोलि कर्मचारीको भीड लागिरहन्छ । ल्यावमा थिन क्लायन्ट प्रणालीबाट सञ्चालन हुने ३६ वटा कम्प्युटर छन् । यी कम्प्युटरमा कर्मचारीहरु नयाँ सफ्टवेयर चलाउने अभ्यास गरिरहेका भेटिन्छन् ।
ल्यावको अग्रभागमा अत्याधुनिक डिजिटल डिस्प्ले राखिएको छ । यस कक्षमा प्रोजेक्टर र पर्दाको सट्टा नयाँ सिस्टमकाे प्रयोग गरेर सिकाइँदैछ ।
साउन १ गतेदेखि महानगरले अधिकांश सेवालाई कागजको सट्टा कम्प्युटरमार्फत विद्युतीय प्रणालीमा रुपान्तरण गर्दैछ । यही योजनालाई परिणाममुखी बनाउन कर्मचारीहरुले कम्प्युटर सम्बन्धी ज्ञान लिँदैछन् । महानगरले कक्षा नै चलाएर कर्मचारीलाई प्रशिक्षण दिइरहेको छ ।
प्रशिक्षणका अतिरिक्त महानगरका तथ्यांकलाई कम्प्युटरमा इन्ट्री गर्ने काममा पनि उपयोग गरिने महानगरपालिका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए ।
‘मार्स’ लागू हुँदै
अब नयाँ आर्थिक वर्ष लागेकै दिनदेखि महानगरले उच्च्स्त रको प्रविधियुक्त मार्स अर्थात् म्युनिसिपल एडि्मनिस्ट्रेसन एण्ड रेभेन्यु सिस्टम कार्यान्वयनमा ल्याउँदैछ ।
यो प्रणाली लागू भएपछि महानगरपालिका र वडा कार्यालयमा भएका सबै विद्युतीय कागजी प्रक्रिया र कारोबारका रेकर्ड एउटै सिस्टममा आवद्ध हुनेछ । यसबाट महानगरले आफ्नो कार्या सम्पादन स्तर बढ्ने र सेवाग्राहीले सहज तथा सरल तरिकाले सेवा पाउने विश्वास गरिएको छ ।
यसअघि पनि महानगरले इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (इबीपीएस), इविलिङ्, इटेण्डर जस्ता कम्प्युटरमा आधारित सेवा दिइरहेको थियो । साउन १ देखि कार्यान्वयमा ल्याउने तयारी गरिएको मार्स प्रणालीबाट नागरिकलाई सेवासँग जोड्न सिटिजन इन्टरफेस सिस्टमसमेत राखिएको छ ।
कस्तो सुविधा हो ‘मार्स’ ?
यो सिस्टममा सेवासँग सम्बन्धित विषयमा सेवाग्राहीले महसुस गरेको कुरा प्रतिक्रिया जनाउन पाउनेछन् । प्रणालीमा आन्तरिक सूचना र कार्यक्रमको एकीकृत अभिलेखीकरण, सहरको बस्तुस्थितिको केन्द्रिकृत तथ्यांक उपलब्ध हुनेछ ।
विद्युतीय शासन सञ्चालनका लागि संस्था र कर्मचारी दुवैको क्षमता विकासबाट लाभग्राहीको मनोविज्ञान र प्रणालीमा पहुँचको अभिवृद्धि गर्न मार्स सिस्टम प्रभावकारी हुने महानगरका अधिकारीहरुको विश्वाश छ ।
कागजरहित र प्रविधिमा आधारित सेवा प्रदान गर्नु पर्ने महानगरको आवश्यकता पुरा गर्न पाइलट प्रोजेक्टका रुपमा अघि बढाइएको मार्स सिस्टममा, पीआइएस अर्थात पर्सनल इन्फरमेसन सिस्टम र पिएमयस् अर्थात् पेरोल म्यानेजमेन्ट सिस्टमको युजर एसेप्टेन्स परीक्षण सम्पन्न भइसकेको छ ।
प्रणालीको कार्यान्वयनपछि महानगरले प्रदान गर्ने सेवा, संकलन गर्ने कर तथा राजस्व, एकीकृत र अन्तरसम्बन्धित हुनेछन् । जसबाट चुहावट, ढिलासुस्ती न्युनीकरण हुने तथा सेवामा चुस्तता र आर्थिक व्यवस्थापनमा पारदर्शिता हुने अपेक्षा गरिएको छ ।
त्यस्तै कम्पयुटर ल्यावबाट विद्युतीय शासनमैत्री दक्ष जनशक्ति उपलब्ध हुने कार्यकारी अधिकृत तामाङले बताए । महानगरमा लागू गरिएपछि मार्स प्रणालीलाई क्रमशः सबै नगरपालिकाहरुमा पुर्याउने सरकारी लक्ष्य छ । यो प्रणाली एसियाी विकास बैंक (एडीबी)को सहयोगमा तयार गरिएको हो ।
सबै वडामा अनलाइन नक्सा दर्ता
आगामी साउन महिनादेखि काठमाडौँ महानगरपालिको ३५ वटै वडाका नागरिकले घरबाटै अनलाइनबाट नक्सा पासका लागि दर्ता गर्न पाउने भएका छन् । नागरिकलाई सहज र सेवा पारदर्शी बनाउन उक्त सेवा विस्तार गर्न लागिएको प्रमुख थापाले बताए ।
कार्यालयनै नै आएर नक्सा पास गराउँदा लाइनमा बस्नुपर्ने, मापदण्ड पूरा नहुँदा विभिन्न किसिमको झन्झट नागरिकले व्यहोर्नुपर्ने हुँदा नयाँ व्यवस्था गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनको हकमा भने नक्सा पास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृत लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सा पासको प्रक्रिया हुने जानकारी गराइएको छ ।
मापदण्डअनुरुप नक्सा पासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सा पासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनुका कारण पनि सूचीमा पठाइने जानकारी गराइएको छ ।
पुरानाकाे डिजिटलाइज्ड रेकर्ड
यस्तै महानगरभित्रका सबै घरका कागजातको प्रतिलिपिहरु डिजिटलाइज्ड रेकर्ड राख्न सुरू भएको छ । पुराना कागजातहरु असुरक्षित हुने र खोज्दा नभेटिने लगायतका कारण सबै महत्वपूर्ण कागजातलाई डिजिटलाइज्ड गर्न सुरु गरिएको कार्यकारी प्रमुख तामाङले बताए ।
अहिले प्रायः सबै सरकारी कार्यालयको कागजात राख्ने पद्दति राणाकालकै जस्तो नै छ । कपडामा पोको पारेर स्टोरमा लगेर कागजपत्र फ्याँक्दा त्यो खोजेको समयमा नभेटिने मात्रै होइन, मुसा, धमिराले खाने, ओस्सिएर वा मक्किएर जाने तथा च्यातिएर कामै नलाग्ने हुनेसम्मका समस्या देखिएका छन् । यही समस्यालाई सामाधा गर्न सबै महत्पूर्ण कागजातको रेकर्ड विद्युतीय रुपमा राख्न लागिएको हो ।
डिजिटल रेकर्ड तपाईंका घरका कागजातको विद्युतीय दस्तावेज हो । अहिले कागजी रुपमा मात्रै रहेका कागजातलाई अब विद्युतीय रुपमा कम्प्युरटर प्रणालीमा सुरक्षित गरिनेछ ।
घर तथा नक्साका सर्जमिन मुचुल्का, नक्शा पास र निर्माण सम्पन्न हुँदा प्राविधिक प्रतिवेदन, नक्सा पास प्रमाणपत्र, पास भएको नक्सा, निर्माण सम्पन्न प्रमाणपत्र, घर बजनाउन गुठीले दिइएको इजाजतपत्र, जग्गा छाडेको मञ्जुरीनामा र बाटो छाडेको मञ्जुरीनामालाई डिजिटलाइज्ड गरिँदैछ ।
Post a Comment