Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नाटकमा लगानीको छटपटी

  • नाटक आफैँमा एउटा उत्पादन हो, हरेक उत्पादनका लगानीकर्ता वा निर्माता हुन्छन् तर नाटकमा यो व्यावसायिक संस्कार बस्न सकेको छैन ।
पोखराको कुमुदिनी होम्सले थाङला नाटकमा लगानीको वाचा गरेपछि निर्देशक अनुप बराल हौँसिए । उत्पादन खर्चको तनाव नहुने भएपछि रिहर्सल र बाँकी तयारी दु्रत बनाए तर अन्तिम समयमा होम्स आफ्नो बोलीबाट पछि हट्यो । ४०–५० हजार रुपियाँ ऋण दिएर टार्न खोज्यो । अनुप त्यो तीतो पल सम्झन्छन्, “लगानी नभएपछि समस्या त थपियो नै, टिमकै साथीहरूको गोजीबाट निकालेर भए पनि नाटक गरिछाड्यौँ ।” 
यो डेढ दशकअघिको घटना हो । अब पाँच वर्षअगाडिको यही प्रकृतिको अर्को प्रसंग । गुरुकुल नाटकघर भत्किएपछि दयाहाङ राई, राजन खतिवडाजस्ता जुझारु युवा रंगकर्मी अनामनगरमा मण्डला नाटकघर बनाउन लागिपरे । तर, भवन बन्दाबन्दै अलपत्र पर्‍यो । इँटा, बालुवा र सिमेन्ट किन्ने पैसा भएन । ठ्याक्कै त्यही बेला भृकुटीमण्डपमा मनी एक्स्पो व्यापार मेला चलिरहेको थियो । आयोजकले उक्साएपछि मण्डलाका कलाकारहरूले तीन दिन स्टल राखे, पर्फमिङ आर्ट देखाए, लगानी आउने लालसामा । मण्डलाका कार्यक्रम संयोजक सोमनाथ खनालका शब्दमा ‘सुको लगानी उठेन ।’
अब हालसालैको अर्को प्रसंग ।

मण्डला बन्यो, बिस्तारै नाटकमा दर्शकको लत बस्दै गयो । यता दयाहाङ फिल्मका बिकाउ अनुहार बने । तिनै दयाहाङलाई फेरि रंगमञ्चमा फर्काउन सोमनाथ लागिपरे, नाटक र...माइलोमार्फत । धेरै कलाकार, उस्तै आधुनिक सेट चाहिने भएकाले नाटकको बजेट उच्च हुने भयो । त्यही भएर कोही निर्माता वा लगानीकर्ता पाइन्छन् कि भनेर सोमनाथले प्रस्ताव बोकेर धेरै व्यापारी र व्यापारिक संस्था चहारे । तर, माखो मरेन । मण्डला आफैँले नाटक उत्पादन गर्नुपर्‍यो ।

फरक समय र सन्दर्भका यी तीन प्रसंगले नेपाली रंगमञ्चको आर्थिक पाटो कति पेचिलो छ भन्ने प्रमाणित हुन्छ । नाटक आफैँमा एउटा उत्पादन हो, हरेक उत्पादनका लगानीकर्ता वा निर्माता हुन्छन् तर नाटकमा यो व्यावसायिक संस्कार बस्न सकेको छैन । फेसन सो र डान्स पार्टी गर्न हानथाप हुन्छ तर नाटकमा लगानी गर्न कोही तयार छैन । थिएटर भिलेजका कला निर्देशक विमल सुवेदीको अनुभवमा नाटकले सम्मान र सहानुभूति त पाएको छ तर यसले मात्र नाटकको वृद्धिविकासमा प्रभावकारी भूमिका खेल्न सकेको छैन । किनभने, जबसम्म स्वतन्त्र लगानीकर्ता आउँदैनन्, तबसम्म कलात्मक पक्ष चहकिलो हुन सक्दैन ।

राजधानीमा यतिबेला सञ्चालनमा रहेका चार नाटकघरमा आबद्ध नाट्यकर्मी मात्र होइन, नयाँ–पुराना सबै रंगकर्मीले स्वीकार्ने तीतो तथ्य हो यो । विमल भन्छन्, “सुनील (पोखरेल) सर र अनुप (बराल)सरकै नाटकमा चार–पाँच लाख लगानी गर्ने व्यापारी वा व्यापारिक संस्था छैनन् । यसबाटै थाहा हुन्छ, हाम्रो नाटक व्यावसायिक रूपमा कति कमजोर र अविश्वसनीय छ ।”

भारतको नेसनल स्कुल अफ ड्रामाका पास आउट विमलका अनुसार बाहिरी मुलुकमा नाटक आर्थिक रूपमा पनि समुन्नत हुनुका तीन कारण छन् । पहिलो, राज्यले नै लगानी गरेको हुन्छ । कम्तीमा नाटकघर बनाउने स्थान सरकारले नै उपलब्ध गराउँछ । दोस्रो, विभिन्न व्यावसायिक घरानाले संस्कृति जर्गेनाका खातिर संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत रंगमञ्चमा लगानी र सहयोग गर्छन् ।

तेस्रो, पैसावालाहरूले पनि थिएटरको विकासमा आर्थिक सहयोग गरिरहेका हुन्छन्, कहीँ लगानी त कहीँ अनुदानका रूपमा । विमल दुखेसो पोख्छन्, “दुर्भाग्य † हामीकहाँ यी तीनै निकाय नाटकप्रति अनुदार र उदासीन छन् । सांस्कृतिक विकास र संरक्षणको दरिलो माध्यम भनेको थिएटर नै हो भन्ने अझ बुझाउन सकिएको छैन ।” नाटकमा सहयोग र लगानीको अनुरोध गर्दै विभिन्न व्यावसायिक कम्पनीमा पुग्दा तीतो अनुभव सँगालेका छन् उनले पनि ।

सुन्धारास्थित थिएटर मलका कला निर्देशक केदार श्रेष्ठको अनुभव पनि कम पीडादायी छैन । नाटक उत्पादनमा लगानीका लागि प्रस्ताव पत्र बोकेर उनले पनि धेरै व्यावसायिक कम्पनीको ढोका ढक्ढकाए । तर, समस्या उही, कोही लगानी गर्न तयार हुँदैनन् । अझ कतिको प्रतिक्रिया त ‘नाटकमा पनि लगानी हुन्छ’ भन्ने खालको हुन्छ । “कोहीकोही टिकटचाहिँ छापिदिन्छु भन्छन् तर त्यसमा पनि उनीहरूको प्रचार गरिन्छ । त्यसैले नाटकघरलाई नै नाटक उत्पादन गर्न बाध्यता आइलाग्छ,” केदार भन्छन्, “नाटकघरको भाडा तिर्न त धौधौ हुन्छ । नाटक उत्पादन खर्च कहाँबाट ल्याउनू ?”

निर्माताले लगानी गरेपछि नाफा खोज्छ । तर, बाहिरबाट दर्शकको जति चहलपहल देखिए पनि नाटकको बक्स अफिस अझ कमजोर रहेको केदार दुखेसो पोख्छन् । ठ्याक्कै यति मुनाफा हुन्छ भनेर ग्यारेन्टी गर्ने अवस्था छैन । मण्डलाका सोमनाथ भन्छन्, “त्यसैले न निर्माता खोज्ने आँट आइसकेको छ, न त प्रयास गर्दा कसैले पत्याउँछन् नै ।” उनले भनेजस्तै न नाटकमा पर्याप्त लगानी हुन सकेको छ, न त लगानी गर्दा तत्काल फर्कने सम्भावना नै । कोर्ट मार्सल, र...माइलोजस्ता एकाध नाटकको कमाइलाई सामान्यकृत गर्न मिल्दैन किनभने कोर्ट मार्सल चल्नुमा राजेश हमाल र र...माइलोमा दयाहाङ राईको स्टारडमले काम गरेको हो ।

तीतो यथार्थचाहिँ के भने अहिले पनि अधिकांश नाटक घाटामै जान्छन् । एक महिना रिहर्सल र अर्को एक महिना मञ्चमा अभिनय पस्कने कलाकारले समेत खाजा र खानामै चित्त बुझाउनुपर्छ । दुई–चार हजार रुपियाँ पारिश्रमिक दिन मुस्किल पर्छ । लेखक र निर्देशकको हविगत पनि यस्तै हो । भएका नाटकघर टिक्नै मुस्किल छ । नाटकघर नभएका रंगकर्मीलाई नाटक देखाउने स्पेस भेट्नै मुस्किल ।

राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा–प्रतिष्ठानमा नाटक देखाउन सम्भव छैन । एकातिर एउटै सोको घटीमा ४० हजार रुपियाँ तिर्नुपर्छ, अर्कोतिर स्टेजदेखि प्रकाश हुँदै ध्वनिसम्म नाटकमैत्री छैनन् । त्यसो हुनाले नाटक देखाउन पनि नाटकघर खोल्नुपर्ने बाध्यता छ । सम्झौता सकिएपछि लाजिम्पाटस्थित थिएटर भिलेज भत्काइएको छ । नयाँ स्थानको खोजीमा भौतारिरहेका विमल भन्छन्, “नाटक देखाउने थलो मात्र भइदिए पनि नाटकघरको भाडा तिर्नु पर्दैनथ्यो, त्यो पैसा नाटकको उत्पादनमा खर्च गर्न सकिन्थ्यो र कलात्मक स्तर बढ्थ्यो ।”

यस्तै पीडा भोगेरै हुनुपर्छ, अनुप पनि पोखरामा नाटकघर खोल्ने गृहकार्यमा जुटिसकेका छन् । उनले नाटकलाई विकेन्द्रित गर्न र स्थायित्वका लागि पोखरामा थिएटर सुरु गर्न लागेका हुन् । तर, यहीँ जोड्नुपर्ने सुखद सत्य के हो भने बिस्तारै नाटक निर्माणको संस्कार बसाउन रंगकर्मी आफैँ लागिपरेका छन् ।

जस्तो : वैशाख पहिलो साता मण्डलामा मञ्चन गरिएको नाटक ऊ...कसको ? यो नाटकको पोस्टरमा निर्माताको नाम देख्दा कतिपय रंगकर्मी स्वयं अचम्मित भएका थिए । यसलाई निर्माण गरेका हुन्, गोविन्द पराजुलीले ।

मण्डलामा चार वर्ष लेखा अधिकृतका रूपमा जिम्मेवारी सम्हालेपछि गोविन्दले आफ्नो निजी लगानीमा यो नाटक निर्माण गरेका थिए, मण्डलालाई प्रति सो आठ हजार भाडा दिएर । तीन साता मञ्चन गर्दा नाटकको लगानी ४ लाख ९० हजार पुग्यो, टिकटबाट उठ्यो ४ लाख १५ हजार । गोविन्द भन्छन्, “अलि राम्रोसँग प्रचारप्रसार गर्न पाएको भए लगानी उठ्ने मात्र होइन, फाइदा नै हुने रहेछ ।”

यही शुभसंकेत देखेपछि उनी फेरि अर्को नाटक निर्माणमा जुटेका छन् । मण्डलामा हाल मञ्चन भइरहेको नाटक दाँतको डोबले पनि निर्माता भेटेको छ । खगेन्द्र लामिछानेले निर्देशन गरेको यो नाटक टुकी आर्ट्सको प्रस्तुति हो भने निर्माताचाहिँ राजेश सिटौला ।

यो नाटक गत माघ पहिलो साता लाजिम्पाटस्थित थिएटर भिलेजमा १५ दिन मञ्चन गरिएको थियो । लगानी चार लाख पुग्यो तर उठ्यो जम्मा दुई लाख । त्यही नोक्सान पूर्तिका लागि यो नाटक यतिबेला मण्डलामा मञ्चन गरिएको हो । “नेपाली थिएटरको व्यवस्थापन पक्ष निकै फितलो छ । कलाकारदेखि पोस्टर टाँस्नेसम्म एउटै हुन्छ । यसले गर्दा न नाटकको कलात्मक पक्ष अपेक्षाकृत सबल हुन सकेको छ, न त आर्थिक पक्ष नै,” खगेन्द्र भन्छन्, “अबको हाम्रो प्रयास स्वदेशी लगानी भित्र्याउन केन्द्रित हुनुपर्छ ।” 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget