Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

क्यान निलम्बनको कारण र नेपाली क्रिकेटको अबको बाटो

आइसिसीद्वारा नेपाल क्रिकेट संघमाथि प्रतिबन्ध भन्ने समाचार शीर्षक पहिले फेसबुक वालमा देखेँ । विश्वास लागेन । अरु समाचार साइट पनि खोलेर पढेँ । चारैतिर क्यानमाथि प्रतिबन्धको खबर छाइरहेको थियो ।
एक्कासी छाति ढक्क फुलेर आयो र आँखा रसाए । म जस्तै नेपाली क्रिकेटलाई निरन्तर रुपमा माया गर्ने सार्थीहरु नेपाल क्रिकेट संघ (क्यान) निलम्बित भएको सुन्दा निकै पीडामा भएको कुरा एकैछिनमा सामाजिक सञ्जालमा पोखिएको उहाँहरुको आक्रोशले प्रस्ट पारेको थियो । 
आँखाबाट आँशु झरेपछि सबैभन्दा पहिला दिनरात नभनी राष्ट्रका लागी खेल्ने खेलाडीको भविश्य सम्झिएँ, भावना दिदीलाई सम्झिएँ अनि सम्झिएँ नेपाली क्रिकेटका लागी आफू संलग्न भएका कार्यहरु (खेलाडीले तलब नपाएको बिरोधमा गरेको आन्दोलन, नेपाली क्रिकेट बचाऊ आन्दोलन, भूकम्पले भत्काएको टियु मैदानका भग्नावशेष पन्छाउने काम, नेपाल र नामिबिया बिचको खेलमा नक्सा मार्फत गरेको काम) अनि नेपाली क्रिकेट विकासका लागी अगाडी बढ्दै गरेका भानु सिग्देल, संजय धरेल, सनम पाठक, बिराज घिमिरे, पवन खनाल, तपेन्द्र जोशी, महेन्द्र गुरुङ, प्रमोद बज्राचार्य, नबिन ओलिया, गणेश रिजाल, सुशान्त आचार्य, खिलराज नेपाल, सुमिर न्यौपाने जस्ता धेरै साथीलाई एकै स्थानमा आएर ‘नेपाली क्रिकेट समर्थक समाज’ नामक संस्था खडा गर्दाको दुःख ।
राजनीतिक खिचातानीका कारण नेपाली क्रिकेट अभिभावक बिहिन बनेको झण्डै एक वर्ष हुन लागेको अवस्था र आइसिसीले नेपालले पाउने झण्डै ९ करोड रुपैयाँ सहयोग रकम रोकेको अवस्था हेर्दा नेपाली क्रिकेटलाई पहिल्यै प्रतिबन्धमा पारिसकेको थियो र पछिल्लो निर्णयले त्यसलाई औपचारिकता मात्र प्रदान गरेको हो । 
नेपाल क्रिकेट संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको सबैभन्दा पुरानो संस्था हो । नेपाली खेलकुदको सबैभन्दा पुरानो संस्था र वर्तमान समयमा नेपाली खेलकुदमा सबैभन्दा आसालाग्दो खेलको अभिभावक अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्नु सम्पूर्ण नेपालीका लागी दुःखद खबर हो । नेपाल क्रिकेट संघमा राजनीति खासगरी युवराज लामा राखेप सदस्यसचिव भैसकेपछि पसेको हो । 
प्रचण्ड प्रधानमन्त्री हुँदा सदस्य सचिव बनेका लामाले विनयराज पाण्डेको समूहलाई बिघटन गरि क्रिकेटको क्षे भन्दा बाहिरका टंक आङबुहाङ राईलाई नेपाल क्रिकेट संघको अध्यक्ष बनाए । र उनकै पालामा समयमै आर्थिक विवरण नबुझाउँदा नेपालले झण्डै ७० लाख रुपैयाँ आइसीसीलाई जरिवाना तिरेको थियो ।
आइसिसी कै पहलपछि नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत सिइओमा भावना घिमिरेको नियुक्ती भयो । बिचमा सरकार परिवर्तन भएर खेलकुद मन्त्रीमा एमाले कोटाबाट खेलकुद मन्त्रीमा पुरुषोत्तम पौडेल आएपछी क्रिकेट संघमा विवाद झन् चुलियो ।
नेपाल क्रिकेट संघमा भ्रष्टचार गरेको अभियोगमा अख्तियारले तत्कालिन क्रिकेट संघका अध्यक्ष टंक आंगबुहांग राईसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । बिचमा केहि समय नेपाल क्रिकेट संघको नेतृत्व दिपक कोइरालाले गरे । युवराज लामाको सदस्य सचिवको कार्यकाल सकिएपछि मन्त्री पौडेलले एमाले निकट केशब बिष्टलाई सदस्य सचिबमा नियुक्त गरे ।
यसैबिचमा विशेष अदालतले टंक आङबुहाङ राईसहित १० जनालाई सफाई दिएपछि उनले आफ्ना दलबलसहित आफूले पुनः क्यानको नेतृत्व पाउनुपर्ने अड्डी राखे ।
क्यानको ४ वर्षे पदावधी सकिन केहि महिना मात्र रहेकाले दिपक कोइराला नेतृत्वको टिमले राखेपसँग चुनावका लागि मिति माग्यो तर क्यानमा एमाले निकट नेतृत्व नआउने डरले राखेपले कोइराला समूहलाई चुनावको मिति दिएन । राष्ट्रिय खेलकुद परिषदले चुनावको मिति नतोकेपछि कोइराला समूहले गएको मंसिर २७ गते काठमाडौंमा अधिवेशन गर्र्दैै चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्यो । जसमा बहुमत सदस्य माओवादी र कांग्रेस निकट थिए । 
आफ्नो अनुमतिबिना चुनाव गरेको भन्दै राखेपले चन्द नेतृत्वको कार्यसमितिलाई अबैधानिक घोषणा गरे एमाले निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमिका अध्यक्षसमेत रहेका रमेश सिलवालको अध्यक्षतामा तत्कालै क्यानको तदर्थ समिति घोषणा गर्यो । राखेपले आफ्नो नेतृत्वको कार्यसमितिलाई वेवास्ता गरि अर्को समिति घोषणा गरेको भन्दै चतुरबहादुर चन्द समूहले गएको पुस २८ मा सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो जुन अहिलेसम्म पनि सर्वोच्चमा विचाराधीन छ ।
आर्थिक अपारदर्शिता र गैरजिम्मेवार  प्रशासनको  कारण नेपाललाई आइसीसीले यसअघि नै अनौपचारिक प्रतिबन्द गरिसकेको थियो । जसको परिणाम थियो विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामिबिया विरुद्धको नेपालको खेल आइसिसीले आफ्नै पहलमा कीर्तिपुरमा खेलाउनु । निलम्बनपछि अब नेपाली क्रिकेटमा राजनीतिक ब्वाँसाहरुले चलखेल गर्न पाउने छैनन् । 
आइसिसीले गरेको प्रतिबन्धको अन्तमा लेखिएको छ, नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछ र उक्त अवस्थामा राष्ट्रिय टिमको सम्पूर्ण व्यवस्थापन खर्च उसैले (आइसीसीले) ब्यहोर्नेछ । आफ्नो निर्णयमा आइसिसीले नेपाली क्रिकेटका सरोकारवालासँग छलफल गरेर अघि बढ्ने उल्लेख गरेको छ ।
क्यान निलम्बन गरेको दुई दिन पछाडी नै वल्ड क्रिकेट लिग च्याम्पियनशिपको चौथो चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ । जसअन्तर्गत नेपालले नेदरल्याण्डसँग साउन २९ र ३१ मा उसकै घरेलु मैदानमा खेल्नेछ । नेपाली क्रिकेटको अभिभावक (क्यान) प्रतिबन्धमा अबको केहि महिनापछि हुने यस खेलको अन्तरिक तयारी कसरि गर्ने भन्ने कुरामा खेलाडी अन्यौलमा पर्ने निश्चित छ ।
हुन त नेपाली खेलाडीलाई प्रतिबन्धले कुनै असर नगर्ने आइसिसीको निलम्बन पत्रमा उल्लेख छ  तर देशमा लामो समयदेखि राष्ट्रिय लिग हुन नसक्दा सयौँ प्रतिभावान खेलाडीले आफ्नो प्रतिभा आफूभित्रै गुम्स्याइराखेका छन् । जसले गर्दा उनीहरु राष्ट्रिय टोलिबाट खेल्ने आफ्नो इच्छा अधुरो राख्न बाध्य छन् । यसैका कारण सयौँ खेलाडी विदेश समेत पलायन भएका छन् । नेपाली क्रिकेट अहिलेसम्म खेलाडी र प्रशिक्षकको कडा मिहिनेतबाट नै यहाँसम्म आइपुगेको हो । क्यानले केहि व्यवस्थापकीय कार्य झारा टार्ने किसिमले मात्र गरिदिएको थियो ।
क्रिकेट खेल खेलाउन चाहिने अन्तर्राष्ट्रिय स्तरको मैदानको कुरा त वर्षौँदेखि नारामा मात्र सिमित छ । नामिबिया विरुद्धको खेल अगाडी त्रिवि मैदानको केहि स्तरोन्नति भएपनि मुलपानी मैदान, पुल्चोक मैदान, पोखरा क्रिकेट मैदान, कोहलपुर क्रिकेट मैदान, फाप्ला क्रिकेट मैदान अनि भैरहवा क्रिकेट मैदानमा  पूर्वाधार निर्माणको अवस्था वर्षौंदेखि जहाँको त्यहीँ छ ।
नेपालभन्दा धेरै पछाडी क्रिकेट खेल्न थालेको अफगानिस्तानको स्तर आज नेपाल भन्दा कयौँ गुना माथि पुगिसक्यो । एक समय एसियामै एसोसिएट राष्ट्रमध्ये सबैभन्दा शक्तिशाली नेपाली महिला टोली निरन्तर अभ्यास गर्न नपाएर निष्क्रिय जस्तै छ । र बेलाबखत खेल्न पाउने अन्तर्राष्ट्रिय खेलमा चिनसँग पनी लज्जाजनक पराजय भोग्ने स्तरमा पुगिसकेको छ । यो सबै क्यानभित्र राजनीतिका कारण भएको हो । यसको जिम्मेवार क्यान भित्र रहेका दुवै समूह ,राखेप र खेलकुद मन्त्रालयले बराबर रुपमा लिनुपर्छ ।
खेलभित्र राजनीति गर्दा के हुन्छ भन्ने परिणाम नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले देखाइसकेको छ । आइसीसीको यो प्रतिबन्ध नेपालका अन्य खेल संस्थाका लागि पनि नजिर हुनेछ । जे हुन्छ राम्रैका लागी हुन्छ भनेजस्तै आशा गरौँ आइसिसीको यो निर्णयले नेपाली क्रिकेटले अब नया उचाई लिनेछ ।
आइसिसीको यस निर्णयलाई अब हामीले सबैले नयाँ सुरुवातको अवसरको रुपमा लिनुपर्छ । यदि सफा मनले क्रिकेट विकासमा लाग्ने हो भने अब चतुरबहादुर चन्द समूहले अदालतको मुद्दा फिर्ता लिनुपर्छ र राखेपले बनाएको तदर्थ समिति पनी भंग गर्नुपर्छ र दुबैतर्फका पदाधिकारी अनि लामो समयदेखि क्रिकेटको विकाशमा लागिपरेका व्यक्ति सम्मिलित एउटा बोर्ड गठन गर्नुपर्छ ।
ताकी आगामी दिनमा त्यस बोर्डले  विशेष नियम अनुसार निष्पक्ष ढंगले तलदेखि माथिल्लो स्तरसम्म निर्वाचन गराउन सकोस् । अबको लिनुपर्ने बाटो यहि हो । यदि त्यसो हुन नसकेको खण्डमा  नेपाली क्रिकेट समर्थक, क्रिकेट विकासमा वर्षौँदेखि लागिरहेका व्यक्तित्व र खेलाडीको यो आक्रोशको रापले  कसकसलाई पोल्नेछ,  त्यो समयले नै बताउने छ । - बिमल पौडेल , उज्यालो अनलाइनबाट 

(लेखक नेपाली क्रिकेट समर्थक समाजका सचिव हुनुहुन्छ)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget