
सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइने बैठक यहाँको बिरौटास्थित पाँचतारे पोखरा ग्रान्डमा हुनेछ । सोमबार देखि सहसचिवस्तरीय बैठक चल्नेछ । अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ । बैठकका लागि होटलका सबै ४ सय ५०, २ सय ५०, १ सय ५० र १ सय क्षमताका ४ वटा हल बुकिङ गरिएका छन् । साथै होटलका ७५ वटा कोठा पनि पाहुनाका लागि बुकिङ गरिएको छ । नपुगेमा अर्को होटल सांग्रिला र फिस्टेल लजमा राखिने छ ।
विदेशमन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा हुन लागेको हो । सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तान सदस्य छन् । परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल राजाराम बर्तौलाका अनुसार सोमबार र मंगलबार सार्क
डेस्क हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक हुनेछ ।
तेस्रो दिन सचिवस्तरीय स्थायी समितिको र अन्तिम दिन बिहीबार मन्त्रीस्तरीय बैठक हुने छ ।
पाकिस्तान र श्रीलंकाको सहसचिवस्तरीय टोली र सार्क सचिवालयका अधिकारी आइतबारै दिउँसो आइसकेका छन् । अन्य देशका सहभागी काठमाडौंबाट सडकमार्ग हुँदै आएका छन् । ‘विभिन्न विषयका बैठकमा सार्क राष्ट्रका विषयगत करिब ८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्’, बर्तौलाले भने । उनीहरूसाथ अन्य र सबै देशका दुतावासबाट राजदुतसहित कर्मचारी पनि आउने भएकाले संख्या बढ्नेछ । विदेशी सहभागीको दृश्यावलोकन र व्यक्तिगत भ्रमणबारे खुलाइएको छैन । तर, उनीहरू आफ्नै तरिकाले पोखरा घुम्न सक्नेछन् ।
पाहुना आउने होटलसँगै उपमहानगरका विभिन्न स्थानमा सुरक्षा तैनाथी बढाइएको छ । सडकका खाल्डा पुर्नुका साथै कार्यक्रमस्थल वरपर र पाहुना घुम्ने स्थानमा रंगरोगन, वृक्षरोपण र सरसफाइ गरेर चिटिक्क पारिएको छ । स्वास्थ्यसहित अन्य अत्यावश्यक सेवालाई चुस्त बनाइएको छ । बजारका १५ ठाउँमा स्वागतद्वार र ८ ठाउँमा सार्क सदस्य राष्ट्रको झन्डा फहराइएको छ । चोकचोक र गल्लीमा सुरक्षाकर्मी परिचालन थपिएको छ । ‘त्रुटिरहित सुरक्षा व्यवस्था मिलाएका छौं,’ मूल सहयोग समितिका संयोजक तथा क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले भने । स्थानीयले पोखराको सजावटलगायत क्षेत्रमा आवश्यक समन्वय र सहयोग गरेको उनले बताए । बैठकको सहयोगका लागि विभिन्न विषयगत ९ उपसमिति बनाइएको छ ।
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अवुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् ।
Post a Comment