
शुक्रबार पर्वतको आठौं जिल्ला परिषद् उद्घाटनका क्रममा बोल्दै केसीले नाकाबन्दीले सबैभन्दा बढी असर सर्वसाधारणको यातायात र भान्सामा परेको र त्यो समाधान गर्न सरकार अझै असफल भएको स्वीकारे ।
'केही कालाबजारियाहरुले अझै पनि धमिलो पानीमा माछा मार्न खोजेका छन्' उनले भने, 'हाम्रो सरकार अझै पनि चुप लागेर बस्न बाध्य छ ।'
भारतले चाहेबमोजिम ंकाँकडभिट्टादेखि महेन्द्रनगरको भूभागलाई पहाडबाट अलग्याएर दुई प्रदेश नबनाउँदाको सजाय नेपाली जनताले भोग्नुपरेको उनले बताए ।
भारतले अझै पनि आवश्यकता अनुसार इन्धन नदिँदा दिनानुदिन कालाबजारियाहरुले आफ्नो सञ्जाल फैलाउन सक्रिय रहेको बताए । 'हामीले आफ्नो कानून आफै बनाउँदा सजायँ भोग्नुपर्ने भएपछि कति स्वतन्त्र रहेछौं भनेर गर्व गर्ने ?' उनले भने, 'अब हरेक कुरामा आत्मनिर्भर नभएसम्म हामीले स्वतन्त्रताको कुरा गर्नु थोत्रा गाला बजाउनु शिवाय केहि हुँदैन ।'
राष्ट्रिय जनमोर्चाले पहिलो निर्वाचनदेखि नै संघियता 'गलपासो' हुन्छ भन्दै आएको स्मरण गर्दै केसीले अहिले त्यो साबित भएको बताए । आफू संघियतासंग मन्त्रीपद नसाटेको दाबी गर्दै केसीले मुलुकको अस्तित्व रक्षाका लागि सबै मिल्नुको विकल्प नभएकोले मात्रै सरकारमा सामेल भएको बताए । अब संविधान कार्यान्वयन गर्न ठुला दल मिल्नुको विकल्प नभएको भन्दै केसीले नेपाली कांग्रेसको अधिवेशनको सबै प्रकृया सकिएपछि संविधान कार्यान्वयनको प्रकृया तीब्र रुपमा अघि बढ्ने बताए ।
Post a Comment