काठमाडौं , फागुन २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ पाँच बजेर २० मिनेटमा मन्दिर प्रवेश गरेर १५ मिनेट पूजा गरेकी थिइन् । उनले पश्चिम ढोकाबाट दर्शन र दक्षिण ढोकाबाट पूजा गरेकी थिइन् । मन्दिर परिक्रमापछि उनलाई रामाकारान्त भट्टले प्रसाद, चन्दन र माला दिएका थिए । राष्ट्रपति बाहिरिएको पाँच मिनेटपछि ५.३७ मा मन्दिर पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनः भने दर्शन र पूजा गरी पाँच मिनेटमै बाहिरिएका थिए ।

त्यसपछि सबा ६ बजे मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्द्रले करिब ४५ मिनेट पूजा गरेका थिए । मन्दिरबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘देशभित्र र बाहिरका समस्त हिन्दुमा मेरो शुभकामना छ । अहिलेको देशको अवस्थाबाट म सन्तुष्ट छैन । दुःख निवारण होस्, शान्ति पाऊन् भनी प्रार्थना गरेको छु ।'
कोषका सदस्यसचिव गोविन्द टन्डनका अनुसार ज्ञानेन्द्रले पञ्चामृत स्नानसहितको रुद्राभिषेक पूजा गरेका थिए । ज्ञानेन्द्रले विगतकै परम्पराअनुसार भगवानलाई फूल अर्पण गरेका थिए । त्यसपछि मूलभट्ट गणेशले फूलको माला लगाएर प्रसाद दिएका थिए ।
पूर्वराजा मन्दिर प्रवेश गर्दा र बाहिरिँदा शुभचिन्तकले ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।
Post a Comment