
घरायसी काममा व्यस्त हरिगातिनाका ४ जनालाई सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारेको थियो। सदरमुकाम लिबाङकै उक्त घटनाबारे सोधीखोजी गर्दै पीडितले लामो समयदेखि न्याय मागिरहेका छन्। सेनाको गस्तीले बेग्लाबेग्लै घटनामा गाउँका कविराम खत्री, धनीराम वली, हर्कलाल थापा र ढाँटे थापालाई नियन्त्रणमा लिई बेपत्ता बनाएको थियो।
पीडित पक्षको पटक–पटकको आग्रहपछि आईसीआरसी टोलीले हरिगातिना गाउँ र उनीहरूलाई नियन्त्रणमा लिई हत्या गरेको सम्भाव्य स्थान खोजी थालेको हो। लिबाङ ६ को धारहाल्ने जंगलमा चिहान हुन सक्ने निष्कर्षसहित टोलीले खोजीलाई जंगलतिर केन्द्रित गरेको हो ।
साताअघि जंगलमा वर्षौंअघिको जस्तो देखिने मानव कंकाल, कपडा र उनीहरूले पानी खान प्रयोग गरेका भाँडा फेला परेको छ। आफन्तका अनुसार नयाँ घर बनाउन काठ चिर्न र ओसार्न उनीहरू जंगल जाँदा सेनाले नियन्त्रणमा लिएको थियो। माओवादी आरोपमा उनीमाथि सेनाले ‘सोधपुछ’ गर्न भन्दै लगेको थियो। एक जनालाई सेनाले खुट्टामा गोली हानेको थियो।
अर्को दिन घाइतेलाई उपचारका लागि लिबाङ ल्याउन सेनाले नै अनुमति दियो। घाइतेलाई उपचारार्थ ल्याउँदै गरेका अरू ३ जनालाई पनि सेनाले जंगलमै मारेको आशंका गरिएको छ। जंगलको छेउमा सैनिक ब्यारेक छ।
‘घरको काम गर्ने क्रममा उनीहरूलाई सुरक्षाफौजबाट नियन्त्रणमा लिएको अनुसन्धानमा देखियो,’ चिहान खोजी टोलीका सदस्य घनश्याम आचार्यले भने, ‘नियन्त्रणपछि गोली हानेर शव बेपत्ता बनाएको अनुमान छ।’
एउटै गाउँका चारै जनालाई बेग्लाबेग्लै दुई घटनामा बेपत्ता पारिएको थियो। गाउँलेका अनुसार नियन्त्रणमा लिएपछि सेनाको ब्यारेक र हरिगातिना गाउँबीच पर्ने धारहाल्ने जंगलबाट सेनाले नै उनीहरूलाई बेपत्ता बनाएको थियो।
उनीहरूलाई एउटै लाइनमा उभ्याएर गोली हानेको स्थानीयले थाहा पाएको दाबी गरेका छन्। ‘गाउँमै पुगेको सेनाले एक जनालाई सुरुमा गोली हान्यो। उनलाई उपचार गर्न लिबाङ लैजाने क्रममा अरू दुईलाई पनि मार्यो भन्ने सुनेका थियौं,’ एक स्थानीयले भने। उक्त घटनाका प्रत्यक्षदर्शी तीनमध्ये दुईको मृत्यु भइसकेको छ भने एक वृद्ध छन्।
सेनाले नियन्त्रणमा लिँदा कविराम ४१, धनीराम ३९ र हर्कलाल ४५ वर्षका थिए ।
Post a Comment