
जसरी भारतमा उच्चस्तरीय राजनीतिक भ्रमणलगत्तै भूकम्पपछि पुनर्निर्माण गरिएको गुजरातको भुज, विद्युत् र सिँचाइका लागि उदाहरणीय रहेको टेहरी डयामको भ्रमण र उद्यमी तथा बुद्धिजीवीलाई राखेर उनले प्रवचन दिएका थिए, त्यसैगरी चीन भ्रमणमा उनले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र त्यस आसपासको जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै बेइजिङमा बुद्धिजीवी र व्यापारीलाई छुट्टाछुट्टै प्रवचन दिनेछन् ।
'उनको यो भ्रमण तालिका भारत भ्रमण हेरेरै बनाएको जस्तो देखिन्छ,' परराष्ट्रका एक अधिकारीले भने ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् ।
यसअलावा प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् ।
स्रोतका अनुसार कतिपय व्यक्तिहरू चीन घुम्नकै लागि मात्र भए पनि टोलीमा सामेल छन् । सरकारी व्यक्ति पनि आवश्यकभन्दा बढी रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए ।
प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि यसमा थपिनेछन् । यस पटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनी गएको भोलिपल्ट नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।
पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता हुने परराष्ट्रले जनाएको छ । वार्तालगत्तै केही समझदारीमा हस्ताक्षर हुनेछ ।
पारवहन सम्झौता, पि|m ट्रेड समझदारी, नेपालमा चिनियाँ बैंकको शाखा विस्तार, भगिनी सहर, काठमाडौंमा मोनो रेल, तातोपानी नाका सुचारु, केरुङ जोड्ने सडक दुई लेन थपेर चार लेन बनाउने, विद्युत् परियोजनामा लगानी, सांघाई सहयोग संगठनको डाइलग पार्टनरको सदस्यतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने अधिकारीहरूले बताए ।
उनले प्रधानमन्त्रीको अलावा एमाले अध्यक्षको हैसियतमा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्प|mेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
रेनमिन विश्वविद्यालयमा प्रवचन दिने कायक्रम तय भएको छ । उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन सम्बन्धमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने बताइएको छ । त्यहाँ उनले नेपालमा लगानी गर्न सुरक्षित रहेको धारणा प्रस्तुत गर्ने अधिकारीहरूले बताए ।
बेइजिङबाट बोआओ आउनुअघि उनले नेपाली दूतावासमा हुने समारोहमा सञ्चारकर्मीसँग अन्तक्रिर्यासमेत गर्नेछन् । उनलाई त्यहाँ राजदूत डा. महेश मास्केले रात्रिभोज दिनेछन् भने नेपाल र चीनसँग सम्बन्धित पूर्वकूटनीतिज्ञ, राजनीतिज्ञ तथा थिंकटयांकका व्यक्तिहरूलाई निम्त्याइने छ ।
बेइजिङमा राजनीतिक भेटघाटपछि उनी हेनान प्रान्त पुग्नेछन् । बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको 'एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण' विषयक सम्मेलनमा चैत ११ मा अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ प्रधानमन्त्री लीले पनि त्यहाँ सम्बोधन गर्नेर् कार्यक्रम छ । बोआओमा सम्बोधन गरेपछि उनी सान्याको नान्सानमा रहेको नेपाल पेभिलियनको भ्रमण गर्ने कार्यक्रम छ । सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियान पुग्ने प्रधानमन्त्रीले त्यहाँ प्रान्तीय नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।
इकान्तिपुर समाचार बाट
Post a Comment