देवर्षि ,
काठमाडौं , चैत २ गते । पचास वर्ष पुगेको उपलक्ष्यमा बृहद् आध्यात्मिक परिषद्ले स्वर्ण महोत्सव सञ्चालन गरेको छ । राष्ट्र गुरु योगी नरहरिनाथबाट वि।सं। २०२२ सालमा स्थापित सो संस्थाले आफ्नो स्वर्णजयन्तीको अवसरमा फाल्गुनदेखिनै विभिन्न कार्यक्रम गर्दै आएको हो । संयुक्त सनातन मोर्चाको समेत सहकार्यमा योगीनरहरिनाथको बारेमा प्रा।डा। शास्त्रदत्त पन्तबाट कार्यपत्र पस्तुति, निबन्ध प्रतियोगिता, कविता लेखन तथा वाचन लगायतका कार्यक्रम सम्पादन भइसकेको परिषद्ले जनाएको छ ।

साधुसन्त, योगी, सन्यासी र धर्म एवम् आध्यात्मिक क्षेत्रका प्रतिनिधिहरूबाट विश्व शान्तिको कामनासहित शान्तिका प्रतिक आठ परेवा जोडीलाई उडाएर पाशुपतक्षेत्र मृगस्थली काठमाडौंमा चैत्र एक गते समुद्घाटन गरिएको सो स्वर्ण महोत्सव अर्थात स्वर्ण जयन्ती चैत्र तीन गतेसम्म विभिन्न कार्यक्रमको साथमा चल्ने बताइएको छ । समुद्घाटन कार्यक्रममा संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक पदमराज पाण्डे, ओसो स्वामी मैत्रेय, ब्रह्मकुमारी राजयोगबाट रामसिंह ऐरलगायत विभिन्न धार्मिक एवम् आध्यात्मिक संघसंस्था तथा निकायका विशिष्ट व्यक्तित्त्वहरूको उपस्थिति रहेको देखिन्थ्यो ।

शात्रीय संगीतमा भजन, विशिष्टवक्ताहरूको मन्तव्य आदिलाई संयोजन गरिएको सो महोत्सवमा ओसो स्वामी मैत्रेय र योगी श्रीषनाथबाट परिषद्को स्वर्ण महोत्सव स्मारिका लोकार्पण गरिएको थियो । सो कार्यक्रममा आयोजकका तर्फबाट विशेष प्रस्तावसहितको प्रतिवेदन महासचिव विश्व पोखरेलले प्रस्तुत गरेका छन् । जसमा विद्वद् परिषद् गठनको सार्वजनिक आव्हान गरिएको छ ।

तीन दिनसम्म चरणबद्ध रूपमा सञ्चालन हुने महोत्सवका कार्यक्रमबाट योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रालय स्थापना गर्ने, योगी नरहरिनाथद्वारा लिखित पुस्तकहरूको प्रकाशन र संरक्षण आदिको बारेमा ठोस निर्णय लिइने उद्देश्य रहेको आयोजकले बताएका छन् । परिषद्लाई विभिन्न तवरबाट योगदान पुर्याउने व्यक्तित्त्वहरूलाई सम्मान गर्ने लगायतका कार्यक्रम पनि तर्जुमा गरिएको उनीहरूको भनाइ छ । कार्यक्रममा देश विदेशका विभिन्न स्थानहरूबाट अतिथिहरू आएका र आउनेक्रम रहेको समेत परिषद्का अधिकारीहरूले न्यूज टिमलाई जानकारी गराएका छन् ।
Post a Comment