
अधिकांश राज्यमन्त्री र सहायक मन्त्रीले काम नपाएको गुनासो गरेका छन्। जिम्मेवारीविहीन हुँदा हीनताबोध भएको उनीहरूले बताउने गरेका छन्।
मन्त्रीले सहयोगी मात्र बनाएको गुनासो
अधिकांश राज्यमन्त्री र सहायकमन्त्रीले क्याबिनेट मन्त्रीले कुनै ठोस जिम्मेवारी नदिएको गुनासो गरेका छन्। मन्त्रीले सहयोगीको भूमिकाका रूपमा पनि सीमित गराएको उनीहरू बताउँछन्। मन्त्रीले स्वविवेकमा राज्यमन्त्री र सहायकमन्त्रीलाई अधिकार र जिम्मेवारी दिने परम्परा छ। तर, आफूहरूले सल्लाह–सुझाब दिने, सचिवहरूले पेस गरेका सीमित फाइल अध्ययन गरेर मन्त्रीकोमा पठाउने काम मात्र पाएको उनीहरू बताउँछन्। केही राज्यमन्त्री भने मन्त्रीबाट क्षेत्र–विशेषकै जिम्मेवारी पाए पनि असन्तुष्ट छन्।
प्रधानमन्त्रीसँग अधिकार माग्ने तयारी
शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री दीपनारायण साह अचेल फुर्सदिला छन्। कार्यालय समयमा मन्त्रालय पुग्ने, कार्यकर्तासँग गफ गर्ने, गुनासा सुन्ने र ४ बजे निवास फर्किने। तीन महिनादेखि यस्तै दैनिकीबीच कुनै जिम्मेवारी नपाएपछि उनी फुर्सदिला देखिएका हुन्। मन्त्री एकनाथ ढकालले कुनै अधिकार नदिएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग अधिकार दिन छलफल गर्ने तयारीमा उनी छन्।
राज्यमन्त्री शाही असन्तुष्ट
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो पार्टीको भागमा परेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पनि लिएका छन्। उनले कुन्ती शाहीलाई राज्यमन्त्री र विराज विष्टलाई सहायक मन्त्री बनाएका छन्। तर, शाही र विष्ट दुवै मन्त्री थापासँग सन्तुष्ट छैनन्। राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले तीन महिनापछि फुलमन्त्री बनाउने आश्वासन दिएको र अहिले बेवास्ता गरेको भन्दै राज्यमन्त्री शाही असन्तुष्ट भएकी हुन्।
Post a Comment