
गुरुकुल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो । यो प्रणालीमा विद्यार्थी गुरूको आश्रममा रहेर विभिन्न विषयमा पारङ्गत नहुन्जेल अध्ययन गर्छन् ।
यस्तो शिक्षा दिने गुरुकुलको सङ्ख्या देशभर ६० वटामात्रै छन् । यसमध्ये सबैभन्दा बढी झापामा भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो । झापामा गुरुकुलीय पद्धतिमा आधारित भएर केहीले विभिन्न स्थानमा विद्यालय सरह नै कक्षा सञ्चालन गरिरहेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी हरि मिश्रले जानकारी दिनुभयो ।
वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार, विवेकाश्रम साङ्गवेद, संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत विद्यापीठ, अर्जुनधारा, कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रम महेशपुर झापाका नाम चलेका गुरुकुलमा पर्छन् । विवेकाश्रम साङ्गवेदमा ४ कक्षादेखि कक्षा १० सम्म अध्यापन गराइन्छ । यो गुरुकुललाई जिल्ला शिक्षा कार्यालय झापाले अनुदान उपलब्ध गराउँदैन । यो गुरुकुल विद्यालय सहरको दरबन्दीबाट सञ्चालित छ ।
जिल्लाका बाँकी गुरुकुललाई भने जिल्ला शिक्षा कार्यालय झापाले अनुदान उपलब्ध गराउँदै आएको छ । कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रम महेशपुरले रु तीनलाख ५७ हजार वार्षिक अनुदान पाउने गरेको सूचना अधिकारी मिश्रले बताउनुभयो । बाँकी रहेका १७ वटा गुरुकुलले रु एकलाख ६८ हजारका दरले रकम अनुदान पाउने गरेको छन् ।
गुरुकुलीय पद्धतिमा वैदिक साहित्य, पुराण, ब्रह््रमसूत्र, गीता, उपनिषद् जस्ता पूर्वी वाङ्मयको अध्ययन अध्यापन गराइने गरिएको छ ।
झापामा सञ्चालनमा आएका गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या पाँचसयको हाराहारीमा रहेको बताइन्छ । गुरुकुलमा अध्यापन गराउने शिक्षकको सङ्ख्या भने ६० को हाराहारीमा मात्रै रहेको जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्व विष्टले बताउनुभयो । पाँचथर र मोरङमा दुई दुईवटा मात्रै गुरुकुल रहेका छन् । सुनसरीमा भने तीनवटा गुरुकुल रहेका छन् ।
Post a Comment