
यसअघि ५८ वटा डरलाग्दा हवाइ दुर्घटनाहरु नेपालले बेहोरिसकेको छ । नेपालमा एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास छ । एउटै वर्ष दुईवटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म नेपालमा साना ठूला गरी ५९ हवाइ दुर्घटना भइसकेका छन् । यी दुर्घटनाबाट ७३७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकमा हेलिकप्टर र अल्ट्रालाइट दुर्घटना समावेश गरिएको छैन ।पहाड र हिमालसहितको भौगोलिक मुलुक भएको हुँदा नेपालमा धेरै हवाइ दुर्घटना हुने गर्छन् । नेपालमा हवाइ दुर्घटनाको इतिहास डरलाग्दो छ ।
पछिल्लो समय दूर्घटना केही घटे पनि रोकिएको छैन । हवाइ दुर्घटनाको विषयलाई लिएर युरोपेली यूनियनले नेपाली उड्डयन क्षेत्रलाई तीन वर्षदेखि कालोसूचिमासमेत राखेको दुःखद स्थिति छ ।
नेपालमा पहिलोपटक विसं. २००३ वैशाख २५ गते पहिलोपटक हवाइ दुर्घटना भएको थियो । रोयल फोर्सको उक्त जहाजमा १४ जना सैनिक र २ जना पाइलट रहे पनि मानवीय क्षति भएको थिएन ।दोस्रोपटक २०१२ भदौ १४ गते कलिंगा एयरको कार्गो विमान सिमरामा दुर्घटनाग्रस्त हुँदा मानवीय क्षति भएको थियो ।
उक्त दुर्घटनामा ३३ जनामध्ये १५ जनाको निधन भएको थियो । त्यसपछिका अधिकांश दुर्घटनामा मानवीय क्षति हुँदै आएको छ ।नेपालमा सन् १९९९ मा एकै वर्ष चारवटा हवाइ दुर्घटना भएको थियो ।
चारवटा दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका थिए । एउटै वर्षमा दुईवटा हवाइ दुर्घटना भएका धेरै उदाहरण छन् ।नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी तीनवटा मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ । तीन कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको दुर्घटनाका अध्ययन प्रतिवेदन बताउँछन् ।
Post a Comment