फागुन ९ – भारत प्रशासित जम्मु–काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भएको छ । जम्मु काश्मिरको पाँपोर क्षेत्रमा शनिबारदेखि भइरहेको भिडन्तमा भारतीय सेनाका एक जना क्याप्टेनको ज्यान गएको छ ।

भिडन्त अहिले पनि जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भिडन्तमा परी एक क्याप्टेनको ज्यान गएको जम्मु काश्मिरका प्रहरी उपमहानिरीक्षक गुलाम हसन बट्टले जानकारी दिनुभयो ।
यसअघि शनिबार बिद्रोहीको आक्रमणमा परी दुई सुरक्षाकर्मी र एक नागरिकको ज्यान गएको थियो । अन्य १३ जना घाइते भएका थिए । पाँपोर क्षेत्रमा सुरक्षाकर्मी र बिद्रोहीबिच रातभरी पनि भिडन्त भएको थियो ।

भिडन्त भइरहेको क्षेत्रका सरकारी कार्यालय तथा सुरक्षा निकायका भवनमा जम्मु काश्मिर प्रहरीले घेराबन्दी गरेको छ । अहिले पनि दुवै तर्फबाट गोलीहानाहान भइरहेको छ । भिडन्त भइरहेको क्षेत्र जम्मु काश्मिरको राजधानी श्रीनगरबाट १३ किलोमिटरको दूरीमा छ ।

– एजेन्सीको सहयोगमा
Post a Comment