
विद्यालय व्यवस्थापन समितिको गत पुष २४ गते भएको चुनावमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर देवशरण दास महतो एकलौटी ढंगले व्यवस्थापन समितिको अध्यक्ष भएको घोषणा गर्दै प्रधानाध्यापक वीरेन्द्रकुमार यादवलाई धम्क्याउनुका साथै शिक्षकहरुलाई समेत गलत काम गर्न धम्की दिन थालेका छन् । पुष २१ गते हुने भनिएको चुनावमा उनले विराटनगर–१७ स्थित मिल्स माविबाट सात कक्षा उत्तीर्ण गरेको सर्टिफिकेट पेश गरेका थिए ।
सात कक्षा उत्तीर्ण गरेको सर्टिफिकेटका आधारमा व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाइने नियमावलीको प्रावधान रहेको बताइएपछि लठैतहरूको जोडबलमा जबर्जस्ती पुष २४ गते निर्वाचन सरिएको थियो । पछि उनले पुनः मिल्स मावि बाटै आठ कक्षा उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट पेश गरेर अरु प्रतिद्वन्द्वीलाई मानसिक एवं शारीरिक यातना दिने धम्की दिई व्यवस्थापन समितिको अध्यक्ष बन्न सफल भएपछि विद्यालयमा देवशरण दास महतोको ताण्डव सुरु भएको अभिभावकहरुको गुनासो रहेको छ । उनले विद्यालयका प्रधानअध्यापकलाई विधान विपरीत आफ्नो नामबाट विद्यालयको बैंक खाता सञ्चालन हुनुपर्ने भन्दै धम्क्याउन थालेको शिक्षकहरु बताउँछन् ।
पैसाको आडमा महतोलाई दुई–दुई पटक विद्यालयबाट ट्रान्सफर सर्टिफिकट दिने मिल्स माविका सह–प्रधानाध्यापक पनि कारबाहीको दायरामा आउने देखिएको छ । महतोलाई २०४३ सालमा कक्षा आठ उतीर्ण गर्न नसकेको भन्दै ट्रान्सफर सर्टिफिकेट दिएको उक्त मिल्स माविले मिलेमतोमा पुनः २०७२ पुष १ गतेको मिति राखि कक्षा आठ उत्तीर्ण भएको भनी अर्को सर्टिफिकेट दिएको छ । सर्टिफिकेटमा सहायक प्रधानाध्यापकको हस्ताक्षर रहेको बुझिएको छ ।
Post a Comment