इटहरी, १ पुस । तीन दिनअघि सुनसरीको इटहरी उपमहानगरपालिका–१६ स्थित एकम्बामा रहेको न्यू जय नेपाल इँटाभट्टाको चिम्नि विष्फोटमा परेर मृत्यु भएका आठजना कामदार मजदूरका आफन्तलाई प्रतिव्यक्ति रु २४ हजारका दरले किरियाखर्च उपलब्ध गराइने भएको छ ।

सो घटनामा परेर जीवन गुमाएका परिवारलाई सो रकम प्रदान गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले इँटाभट्टाका सञ्चालक विनोद अग्रवाललाई आदेश दिइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जानकारी दिनुभयो ।
यसैगरी घटनामा परी घाइते भएकाको उपचार खर्च पनि अग्रवालले नै व्यहोर्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज कोसी इँटा व्यवसायी सङ्घ, भट्टा सञ्चालक र प्रशासनबीच भएको छलफलपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
सो घटनामा परी घाइते भएका १७ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।
Post a Comment