
राजमार्ग अवरोध गरेको अवस्थामा प्रहरीले गोली चलाउँदा सप्तरीका सरोज र मनोज गम्भीर भएका थिए भने पेट्रोल खन्याएर जलाइएका बब्लुको पनि चिन्ताजनक अवस्थामा बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सो अवसरमा डा महतले घाइतेको जुनसुकै अवस्थामा पनि उपचार गर्न प्रतिष्ठानका अस्पताल प्रशासनसँग आग्रह गर्दै अघिल्लो सरकारले सर्वसाधारण नेपालीको स्वास्थ्य सुधारमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अस्पताल निर्देशक प्राडा अरबिन्दकुमार सिन्हा तथा प्रतिष्ठानका सूचना अधिकृत तथा नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सचिव सुजेन्द्र तामाङले प्रतिष्ठानलाई अझ बढी भौतिक पूर्वाधारयुक्त बनाई दक्ष जनशक्ति उत्पादनका लागि राज्यले विशेष सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
यसैबीच मोरङको बेलबारीमा कार्यकर्तासँग आज कुराकानी गर्दै नेता महतले वर्तमान समस्या आन्तरिक र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताउनुभएको छ ।
उहाँले पारवहनमा भइरहेको अवरोध नेपाल र भारत बीचको कूटनीतिक पहल तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिएर गर्न सकिने स्पष्ट पार्नुभयो । अहिले तराई मधेसमा संविधानमा व्यवस्था गरिएका प्रावधानका विषयमा मधेसवादी दलहरुले गरेको गलत सूचना प्रवाहका कारण आन्दोलन भइरहेको नेता महतको भनाए थियो ।
नयाँ संविधानमा मधेसी, आदिवासी, जनजाति, दलित, महिला, पछाडि पारिएका समुदायका हकअधिकार, सङ्घीयता, प्रदेशको सीमाङ्कन, नागरिकता, निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा स्पष्टसँग किटान गरिएको र अधिकार सम्पन्न बनाइएको भए पनि त्यसलाई अफवाह फैलाएर मधेसवादी दलहरुले तराई मधेसमा भड्काएर आन्दोलन उचालिरहेको नेता महतले दाबी गर्नुभयो ।
Post a Comment