Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेसले हिँड्ने अबको बाटो

विश्वप्रकाश शर्मा, काठमाडौ । कार्तिक १८, २०७२- नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ? यतिबेला देशव्यापी रूपमा यो चासो जागृत हुनु स्वाभाविक छ ।Bishwo-Prakash-Sharma नयाँ संविधान निर्माण गर्न सफल नेतृत्व गर्नसकेका कारण एकातर्फ भारी प्रशंसा हासिल गर्‍यो कांग्रेसले भने अर्कातर्फ प्रधानमन्त्री पदमा अनपेक्षित उम्मेदवारीका कारण आलोचना पनि प्रशस्तै व्यहोर्‍यो ।

अघि-अघि जन्तीको नाचगान पछि-पछि शोकमग्न मलामी, अर्थात आधा घाम आधा छायाको मनोविज्ञान निर्मित भयो । कांग्रेस हुन् या कांग्रेस विरोधी सबैका दुई आँखाले यी दुबै पाटोलाई एकैसाथ देख्न सक्नु इमानदारी हुनेछ । कमजोरीको पाटोलाई आलोचना गरिरहँदा संविधान निर्माणमा कांग्रेसले गरेको प्रधान नायकत्वलाई जन्मजात कांग्रेस विरोधी जो होलान्, तिनले पनि कम आँक्न सक्दैनन् र सक्ने छैनन् ।

अर्थात् एउटा निश्चित घटनामा तीव्र आलोचना व्यहोरे पनि संविधान निर्माणमा रचेको इतिहासलाई गौरवसाथ बखान गरेर नागरिक पंक्तिका सामु ठाडो शिरका साथ उभिन कांग्रेसजनले धक मान्नुपर्ने अवस्था छैन ।

सकारात्मक ६ वटा परिणाम प्रधानमन्त्री पदमा कांग्रेस सभापतिको उम्मेदवारी कम्तीमा चार कारणले गलत थियो । अत: खुलरै आलोचना गर्‍यौं, हामी असंख्य कार्यकर्ताले । कांग्रेसको छविमा ठूलो असर परे पनि त्यो उम्मेदवारीकै कारण निम्न ६ वटा सकारात्मक परिणाम पनि हासिल भएका छन् ।

एक, विद्या भण्डारीका रूपमा पहिलो महिला राष्ट्रपति मुलुकले सायद प्राप्त गर्ने थिएन । सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेवादर नभएर सर्वसम्मत राष्ट्रपतिका लागि इच्छा गरेको भए । दुई, मोहन वैद्य र विप्लव बाहेक भएजति सबै कम्युनिष्ट पार्टी सत्ताको घरधन्दामा एकढिक्का हुनपुगेका छन्, जसले गर्दा आपसमा तिक्त गाली गर्ने तिनको धन्दा कम्तीमा ६ महिनाका लागि बन्द भएको छ ।

अब न केपी कमरेडको टुक्काले प्रचण्डको शिर ताक्नेछ, नत प्रचण्डले माग गर्नुहुनेछ, केपी कमरेडको मानसिक परीक्षण गरियोस् भनेर । तीन, संविधानमा समर्थनको हस्ताक्षर नगरे पनि विजयकुमार गच्छदार यो संविधान बमोजिमको सरकारमा ‘जिम्मेवार’ बन्न अब बाध्य छन् र धर्मनिरपेक्षता लेखिएको संविधानलाई कार्यान्वयन गर्न उपप्रधानमन्त्रीका रूपमा सपथ लिएर हिन्दु राष्ट्र अभियानका पण्डित श्री कमल थापा परराष्ट्र मन्त्रालयमा मजाले खुम्चिएका छन्, सत्ताको लोभले होस् जिम्मेवारीबोधले, यी भिन्न-भिन्न थरी जिम्मेवार भएर सत्ता चलाउने ढोका कांग्रेसको उम्मेदवारीकै कारण खुलेको हो । कांग्रेस नबाहिरिएको भए यिनले धुमधामसँग भित्रिन सायद अवसर पाउने थिएनन्


चार, तराई/मधेसमा संविधान जलाएर बसेका दलहरू प्रधानमन्त्रीको चुनावमा मतदान गर्न एकाएक काठमाडौं किन पुगे ? कारण या तर्क नेपथ्यमा जे होला, तर तिनले नयाँ संविधानलाई घुमाउरो ढंगले आत्मसाथ जो गरे त्यो ‘साइत’ सायद प्रधानमन्त्री पदमा सर्वसम्मति भएको भए जुर्ने थिएन । पाँच, यो ‘दुर्घटना’बाट मुलुकले कांग्रेसका रूपमा एक जिम्मेवार प्रतिपक्ष पाएको छ । दुनियाँ ढुक्क भए हुन्छ, कांग्रेसले नत बजेटको ब्रिफकेस तोड्नेछ न भाँच्नेछ, संसदको कुर्सी न गर्नेछ, अर्थहीन नेपाल बन्द । साँच्चै कस्तो हुनुपर्छ, संसदमा प्रतिपक्षको रचनात्मक भूमिका त्यसको सुन्दर नजिर मुलुकमा स्थापित गर्ने अवसर पनि यही प्रकरणका कारण जुटेको छ । छ, प्रधानमन्त्री पदको अलोकप्रिय उम्मेदवारीपछि कांग्रेसभित्र यसले एक भिन्न आँधीको विजारोपण गरेको छ । कांग्रेसलाई भीषण ढंगले रूपान्तरण गर्नैपर्ने एक आवेग र विवेकले जुम्ल्याहा ढंगले भ्रूणका रूपमा ‘अन्डरकरेन्ट’ बगिरहेका छन् । सत्ताको सिरानीमा निदाएको संगठन असोज २४ को भिन्न भूकम्पपछि आत्माको खोजीमा साँच्चै मीठोसँग व्युँझिएको छ ।

प्रस्तुत ६ बुँदाका पछिल्तिर एउटा साझा मनोविज्ञान छ, त्यो हो- कारात्मक घटनाबाट सकारात्मक परिणामको खोजी । विज्ञान भन्छ– फोहोरबाट बिजुली, हाम्रो ज्ञान भन्छ– कालो बादलमा चाँदीको घेरा ।

संसद्‌देखि संगठनसम्म !
संसदको सबैभन्दा ठूलो दल अब सत्तामा छैन । गजब त यो छ कि सडकमा पनि अरूहरू नै छन्, संघर्षमा । उसोभए कांग्रेस अब कहाँ भेटिनुपर्छ ? प्रस्ट छ, बाटो अब संसददेखि संगठनसम्म । कांग्रेसले अब तत्कालैबाट केन्द्रित रहने कार्यक्षेत्र यिनै ‘दुई स’ हुन् ।

संसदमा विनम्र तर बुलन्द विपक्षी । नयाँ भूमिकाका साथ अबको नवीन प्रारम्भ गर्ने सुअवसर परिस्थितिले कांग्रेसलाई उपलब्ध गराएको छ । विपक्षी दलका रूपमा कार्य गर्न प्रथमत: निश्चित सिद्धान्त तय गर्न जरुरी छ । जस्तै : एक, ‘मुख्य विपक्षी दलका रूपमा नेपाली कांग्रेस नयाँ संविधान कार्यान्वयन एवं यसको अपनत्वको दायरामा अभिवृद्धि गर्नेगरी हुने आवश्यक संशोधन प्रक्रियाहरूमा जिम्मेवार ढंगले सहयोगी रहनेछ ।’

दुई, ‘नयाँ संविधानपछि नेपालले हिंड्नुपर्ने आर्थिक समुन्नतिका नवीन सम्भावनाहरूको खोजी र कार्यान्वयनमा कांग्रेस विपक्षी हुनुको अर्थमा विरोधी हुने मनोविज्ञानबाट मुक्त रहनेछ ।’ यस्ता सिद्धान्तप्रति इमानदारीको अर्थ सरकारले जे-जे प्रस्तावना ल्याउँछ, साक्षी किनारामा सही धस्काउने भन्ने किमार्थ होइन । ‘विषयगत भिन्न समितिहरूमा कार्यविभाजनका साथ प्रखरता, हरेक मुद्दामा दूरगामी दृष्टिकोण, आवश्यक हस्तक्षेप अनि निर्णायक अवतरणका लागि सहजीकरण ।’ यो दायित्व कांग्रेसले निर्वाह गर्नुपर्छ ।

कांग्रेस नेतृत्वको सरकारले मधेस आन्दोलनको माग एक हदसम्म सम्बोधन गरी संसदमा एक संशोधन विधेयक दर्ता गराएको थियो, त्यसलाई तत्कालै प्रक्रियामा अघि बढाउन, संसदमा तत्कालै दबाब बढाउन जरुरी छ । त्यो संशोधनले एकातर्फ जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको मागलाई टुंग्याउँछ भने अर्कातर्फ राज्यका हरेक अंगमा समानुपातिक समावेशिका आधारमा प्रतिनिधित्वको मागलाई पनि हल गर्छ । बाँकी रहन्छ, सीमांकन बारेको मधेस माग । त्यसलाई नयाँ संविधानले निर्दिष्ट गरेको परिधि भित्रैबाट हल खोज्न पनि सरकार र आन्दोलनकारी दुबै पक्षलाई कांग्रेसले सजग तुल्याउन जरुरी छ ।

सोमबारको वीरगन्ज घटनापछि अवरुद्ध भएको वार्ता अब कहिले सुरु गर्लान् भनेर रेडियो कानमा थापेर कांग्रेसले बस्ने कुरा हुन्न । सरकारमा नरहे पनि कांग्रेस नै हो, मुलुकको सबैभन्दा जेठो अगुवा दल । दुनियाँ जान्दछ, जेठा दाइको घर भूकम्पले चर्कियो भने माइला र कान्छा भाइहरू जेठा मानिन्नन् । यस अर्थमा सरकार र आन्दोलनकारीका बीचमा मध्यस्थ पुल बनेर समाधानको खोजीमा पनि कांग्रेसले ज्येष्ठता र श्रेष्ठताको प्रस्तुति गर्न जरुरी छ ।

संगठनमा आत्मविश्वास र विश्वासको खोजी । नयाँ संविधानपछिको नेपालका लागि सायद अब नवीन ढंगको कांग्रेस जरुरी छ । प्रधानमन्त्री पदमा हाम्रो अलोकप्रिय उम्मेदवारीपछि अब त्यसका लागि ढोका खुलेको छ । हामीले अब शैली बदल्नैपर्छ । नयाँ शक्ति भनेर नयाँ खोजी जो गरिरहेका छन्, त्यो के कारण गरिरहेका छन् भने हामीले पुराना राजनीतिक दलहरूलाई परम्परागत ढंगले चलाउँदै आयौं ।

अत: सबै मुख्य दलभित्र रूपान्तरण जरुरी छ र कांग्रेसले नै आफूभित्र पर्याप्त परिवर्तन गरेर दलहरूको आधुनिकीकरणको अनिवार्यतालाई गति दिनुपर्छ । आफैंभित्र एक नवीन आत्मविश्वासको खोजी गरेर अघि बढ्ने अनि खण्डित भएका मनहरूको विश्वास पुन: जित्ने, कांग्रेसको अबको सांगठनिक लक्ष्य यही बन्नुपर्छ । प्रधानमन्त्री पदमा कांग्रेसको उम्मेदवारी निश्चय नै अलोकप्रिय रह्यो । तर यो आजको, अहिलेको र क्षणिक स्मृतिको वर्तमान हो । इतिहासमा अंकित हुने त कांग्रेसको प्रधान नायकत्वमा संविधान निर्माण भएको गौरवमय अध्याय नै हो । अत: गल्तीबाट शिक्षा लिने र गौरवगाथा बोकेर गाउँ पस्ने कांग्रेसको सांगठनिक अभियान बन्नुपर्छ, अब ।

मैले भन्ने गरेको छु, कक्षा १ देखि ९ सम्म नेपाली कांग्रेसले फष्ट डिभिजनको माक्र्स ल्यायो, एसएलसीमा पुगेर एक विषयमा दाग लगायो । एसएलसी अनुत्तीर्ण भएपछि निराश भएर कोही आत्महत्या गर्छन्, कोही नवीन तयारी प्रारम्भ गरेर फेरिको परीक्षामा डिस्टिङ्सन ल्याउँछन् । कांग्रेस अब त्यही नवीन तयारीको नवीन चरणमा पुगेको छ, यतिबेला ।

कक्षा एक, बन्दुक उठाउन र ०७ सालको क्रान्ति सम्पन्न गर्न । दुई, वीपीको सरकारमार्फत विकासको भिन्न यात्रा विजारोपण गर्न । तीन, मन्त्रिपरिषद, पार्टीको उच्च तहमा समावेशी सहभागिताको सुरुवात गर्न । चार, राजालाई समेत बम हान्न सक्ने र प्लेन अपहरण गरेर सत्तालाई भीषण चुनौती दिने साहस गर्न । पाँच, मेलमिलापको नीति प्रतिपादन गर्न । छ, ०४६ सालको परिवर्तनको नेतृत्व गर्न । सात, बजेटको ७० प्रतिशत गाउँ पठाउने नीति अख्तियार गर्न ।

आठ, माओवादी हिंसाको अवतरणका लागि संयोजनकारी भूमिका, ०६२/६३ को आन्दोलनको नेतृत्व, पहिलो संविधानसभाको चुनाव र गणतन्त्रको कार्यान्वयन आफ्नै नेतृत्वकालमा गर्न । कक्षा नौ, संघीयता सहितको नयाँ संविधान निर्माणको सफल नेतृत्व गर्न । अर्थात् कक्षा एकदेखि नौसम्म यसरी सदैव प्रथम श्रेणीमा उत्तीर्ण रह्यो कांग्रेस । लामो राजनीतिक जीवनमा कहिले जित त कहिले हार हुनु, कहिले सफलता कहिले असफलता हात लाग्नुलाई सहज रूपमा लिएर अघि बढ्ने विकल्पको अर्को कुनै तार्किक विकल्प हुँदैन । पछिल्लो गल्तीबाट शिक्षा लिँदै विगतका गौरवहरूलाई अघि लगाएर अबको बाटो तय गर्नुपर्छ, कांग्रेसले ।

ठक्कर नलागेको राम्रो तर जब ठक्कर लाग्छ, मान्छे पनि ठाउँमा आउँछ र पार्टी पनि । अर्थात् नवीन सुरुवातको शिलान्यास पो गरेर गयो यो ठक्करले त ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget