नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा हालै सार्वजनिक गरिएको नसर्ने रोगको जोखिमसम्बन्धी अनुसन्धानमा उक्त कुरा देखिएको हो । उक्त अनुसन्धान ४ हजार १ सय ४३ जनामा गरिएको थियो ।
अध्ययनअनुसार उच्च रक्तचापसम्बन्धी समस्या लिएर आफैं चिकित्साकर्मी नजिक पुग्नेहरू करिब पाँच प्रतिशतमात्र देखिएका छन् । यति नभई मात्र अध्ययनमा उच्च रक्तचाप पहिचान भइसकेकाहरूमा मात्र ५३ प्रतिशतले आफ्नो चिकित्सक वा स्वास्थ्यकर्मीद्वारा प्रस्तावित औषधि सेवन गर्ने गरेको पाइयो ।
चिकित्सकीय परामर्शअनुसार औषधि सेवन गर्नेमा करिब ६० प्रतिशत पुरुष र ५० प्रतिशत महिला देखिएका छन् । यो अनुपात ४५ देखि ६९ उमेर समूहमा भने उच्च देखिएको छ । यो उमेर समूहअन्तर्गत पुरुष करिब ७० र महिला ६१ प्रतिशत रहेका छन् ।

अध्ययनअनुसार उच्च रक्तचाप पहिचान भएकामध्ये करिब ७५ प्रतिशतले चिकित्साकर्मीद्वारा नुनको उपयोग कम गर्ने र करिब ४१ प्रतिशतले आफ्नो तौल कम गर्ने सल्लाह पाउँछन् । यस्तै धूमपान गर्ने उच्च रक्तचापका समस्या भएकाहरूमध्ये करिब ६२ प्रतिशतले धूमपान छोड्ने सल्लाह पाउँछन् भने उच्च रक्तचापका समस्या भएकाहरूमध्ये एक तिहाइले ब्यायाम सुरु गर्न वा अझ बढी गर्ने सल्लाह चिकित्साकर्मीबाट पाउने गरेको उध्ययनमा देखिएको छ ।
उच्च रक्तचाप पहिचान भएकाहरू परम्परागत उपचार प्रक्रियातर्फ समेत जाने गरेको अध्ययनले देखाएको छ । यस्ता व्यक्तिको प्रतिशत ११ रहेको छ । यस्तै करिब ५ प्रतिशत उच्च रक्तचापपीडितले जडीबुटी वा परम्परागत औषधि उपयोग गरिरहेको पाइएको छ ।
अध्ययन गरिएको नेपाली समुदायको औसत सिस्टोलिक रक्तचाप १२७.४ एमएमएचजी देखिएको थियो । यसअन्तर्गत पुरुषमा १३१.१ र महिलालाई १२९.९ एमएमएचजी देखिएको थियो । यस्तै डायस्टोलिक रक्तचाप ७८.८ एमएमएचजी देखिएको थियो । जसमा पुरुष ८१.२ र महिला ७८.५ एमएमएचजी देखिएको थियो ।
रक्तचापबाट बच्न सन्तुलित खानपान
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल उच्च रक्तचापको जोखिममा रहेका सहरीयाहरूलाई खानपानमा समेत विशेष ध्यान ध्यान दिनुपर्ने बताउँछन् । उनका अनुसार पोटासियम युक्त खाने कुराहरूले रक्तचापलाई घटाउने भएकाले सुन्तला, कागती, मौसम, केराजस्ता उच्च पोटेसियम युक्त फलफूलहरू रक्तचाप पीडितका लागि लाभदायक हुन्छ ।
उच्च रक्तचाप भएकाहरूले धूमपान र मदिरा सेवन पटक्कै नगर्नुपर्ने जनाउँदै डा.ओम भन्छन्, ‘अस्पताल पुग्ने मस्तिष्कघातका अधिकांश पीडितहरूमा उच्च रक्तचापसँगै मदिरा सेवन गर्ने गरेका पाइन्छन् ।’ खानामा नुन थपेर खाने बानी स्वास्थ्यका लागि राम्रो मानिँदैन । डा.ओमकाअनुसार नुन पटक्कै नखाएर उच्च रक्तचाप घटाउनु राम्रो मानिन्न ।
उनी दिनहुँ तीनदेखि पाँच ग्रामसम्म नुन खान मिल्ने जनाउँदै यसबाहेक अतिरिक्त खान नहुने धारणा राख्छन् । नुन खाँदै न खाएर रक्तचाप घटाउने प्रक्रियाले शरीरलाई नोकसान गर्न सक्छ । दिनहुँ फलफूल दुई पटक र तरकारी तीन पटक खानुले रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ । फास्ट फुडलगायतका उच्च मात्रामा नुन भएको प्रिजरभेटिभ राखिएको बट्टामा भएका खानेकुराहरूबाट बच्नुपर्छ । कान्तिपुर दैनिकबाट
Post a Comment