Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सभामुख ओन्सरीलाई राजनीति दलबाट बधाई तथा शुभकामना

काठमाडौँ, ७ कात्तिक । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलले सभामुखको जिम्मेवारीमा सम्हाल्नुभएकी सांसद ओन्सरी घर्ती र उपसभामुख गङ्गाप्रसाद यादवप्रति बधाई एवम् शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखको गु्रुत्तर दायित्व निर्वाह गर्नुभएकी सांसद् घर्तीलाई बधाई दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली नारी जस्तासुकै कठिन कार्यसम्पादन गर्न सक्षम छन् भन्ने सन्देश सभामुख ओन्सरीको निर्वाचनबाट प्रमाणित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘संसदीय व्यवस्थामा महिला सभामुख हुनु सबै नेपालीका निम्ति गौरवको कुरा हो । नेपाली महिला कुनै पनि काममा कम छैनन् । यसले समावेशिताको अनुपम दृष्टान्त प्रस्तुत भएको छ ।’’
संविधान कार्यान्वयनको चुनौती औँल्याउँदै सभापति कोइरालाले सहकार्य, सहमति, एकता र मेलमिलापबाटै गन्तव्यसम्म पुग्न सकिने बताउनुभयो ।
वार्ताको माध्यमबाट अहिलेको असहज परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिको अन्त्यका लागि गम्भीर एवम् सार्थक कूटनीतिक प्रयास हुनुपर्ने सुझाव दिनुभयो ।
आफ्नो नेतृत्वको सरकारले पनि नेपाल–भारत सम्बन्धलाई सुमधुर तुल्याउँदै राष्ट्रिय हित र स्वाभिमानमा कुनै आँच नआउने गरी कूटनीति सञ्चालन गरेको स्पष्ट गर्नुभयो ।
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सांसद घर्तीको निर्वाचनबाट नेपालको इतिहासमा नयाँ अध्याय प्रारम्भ भएको बताउँदै चुनौती नै चुनौतीका बीच संविधानको कार्यान्वयन अहिलेको मूल मुद्दा भएको बताउनुभयो ।
विविध सङ्कट झेलिरहेको मुलुकको अहिलेको आवश्यकता एक सयवटा नयाँ कानुन बनाउने तथा तीन सयभन्दा बढी पुराना कानुन संशोधन गर्न जरुरी भएको बताउँदै सदनमा रहेका सबै दलको साथ र सहयोगमा सभामुखलाई सफल बनाउनुपर्ने विचार व्यक्त गनुभयो ।
एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले गाउँले चेली र आफ्नै विद्यार्थी सभामुखको गरिमामय पदमा आसिन भएको देख्न पाउनु आफ्ना निम्ति मात्र नभई एनेकपा (माओवादी) का लागि गौरवको विषय भएको बताउनुभयो । जनताको त्याग, बलिदान र तपस्याबाट विश्वको इतिहास रचना भएका सन्दर्भ कोट्याउँदै उहाँले नारी शक्ति र सामथ्र्यको चर्चा गर्दै सफल कार्यकालको कामना गर्नुभयो ।
सभामुख ओन्सरी घर्ती र उपसभामुख गङ्गाप्रसाद यादवप्रति नेकपा (माले) का तर्फबाट सिपी मैनाली, राप्रपा नेपालका दिलनाथ गिरि, नेमकिपाका अनुराधा थापामगर, परिवार दलका एकनाथ ढकाल, समाजवादी जनता दलका प्रेमबहादुर सिंह, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापालगायत १४ दलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
व्यवस्थापिका–संसद्को आजैको बैठकले पूर्व सभामुख सुवास नेम्बाङ र ज्येष्ठ सदस्यका रुपमा सांसद लक्ष्मण राजवंशीले सभामुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकामा धन्यवाद प्रस्तावप्रति सहमति जनायो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि आइतबार अपराह्न ४ः३० बजे बस्नेछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget