ताप्लेजुङ, २४ भदौ । ताप्लेजुङको लिवाङस्थित प्राथमिक स्वास्थ्य चौकीको भवन नै पूर्णरुपले पहिरोले बगाएपछि अहिले स्वास्थ्य चौकीको सम्पूर्ण कामकाज स्थानीय प्रहरी चौकीको भवनबाट प्रदान गरिँदै आएको छ ।
गत जेठ २७ गते राति गएको पहिरोले भवन नै पूर्णरुपले बगाएपछि अहिले लिवाङ प्रहरी चौकीसँग समन्वय गरी प्रहरी चौकीकै भवनको एक कोठाबाट स्वास्थ्य चौकीको कामकाज हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय, ताप्लेजुङले जनाएको छ ।
अहिले एउटा कोठाबाट स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भएको स्वास्थ्य चौकीका इन्चार्ज भरत विकले बताउनुभयो । स्वास्थ्य चौकीको प्रशासनिक कामकाजदेखि बिरामीको जाँचसमेत एकै ठाउँबाट गर्नुपर्ने बाध्यता रहेको विकको भनाइ छ ।
पहिरोले भवन बगाएपछि तत्काल आवश्यक औषधिलगायतका सामग्री जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको र भवनको पुनःनिर्माणका लागि मन्त्रालयमा अनुरोध पत्रसमेत पठाइएको जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
सो स्वास्थ्य चौकीमा आसपासका गाविसका स्थानीयवासीसमेत स्वास्थ्य सेवा लिन पुग्ने गरेका छन् । तर पर्याप्त संरचनाको अभावमा सेवाग्राहीलाई समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।
जुनियर रेडक्रसद्वारा पहिरोपीडित विद्यार्थीलाई राहत
गत जेठ २७ गते गएको पहिरोबाट प्रभावित १८ जना विद्यार्थीलाई पृथ्वी उच्च मावि खाम्लुङको जुनियर रेडक्रस सर्कलले राहत प्रदान गरेको छ ।
पहिरोबाट प्रभावित जिल्लाको खाम्लुङका १४ जना र थिङ्लाबुबाट विस्थापित भई खाम्लुङमा बसोबास गरिरहेका थप चार जना गरी १८ जनालाई जुरेसले राहतस्वरुप एक÷एक सर्ट प्रदान गरेकोे हो ।
जुनियर रेडक्रसले विद्यार्थीबाटै आर्थिक सङ्कलन गरी सर्ट खरिद गरेर सहयोग गरेको रेडक्रस शाखा ताप्लेजुङका सदस्य डम्बरप्रसाद धितालले जानकारी दिनुभयो ।
पहिरोग्रस्त क्षेत्रका सँगै पढ्ने साथीलाई सहयोग गर्न विद्यार्थी आफैँले पैसा सङ्कलन गरेका थिए । गत जेठ २७ र २८ गते रातिको गएको पहिरोबाट यी दुई गाविससहित पहिरोग्रस्त अन्य गाविसमा पढाइ अझै पनि नियमित भएको छैन । रासस
Post a Comment