Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जीविकोपार्जनमुखी तालिममा जोड

भक्तपुर, २८ भदौ । प्राविधिक ज्ञान, सीपको अभावमा मलेसिया, खाडी मुलुकमा तल्लोस्तरको श्रम गर्न दिनहुँ सयौँको सङ्ख्यामा जाने युवालाई स्वदेशमै प्राविधिक तालिम लिएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

अरु देशका युवा विभिन्न प्राविधिक तालिम लिएर जाँदा मेनेजर वा माथिल्लो तहमा काम पाउँछन् तर नेपालबाट विदेशमा रोजगारीमा जाने अधिकांश युवाहरु श्रमिकका रुपमा कठोर परिश्रम गर्नुपर्ने, उचित पारिश्रमिक नपाउने र मालिकबाट दुव्र्यवहार सहनुपर्ने बाध्यतामा रहेका छन् ।

वैदेशिक रोजगारमा जान चाहने तथा स्वदेशमै सीप सिकेर रोजगारी गर्न खोज्ने युवाका लागि सानोठिमी प्राविधिक शिक्षालयले विभिन्न विषयमा तालिम दिँदै आएको छ ।

यस शिक्षालयले विभिन्न २७ वटा विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग सम्बन्धन लिएर ३५ वर्षदेखि रोजगारमूलक विषयमा चार महिने तालिम सञ्चालन गर्दै आएको छ ।

यहाँ तालिम लिएकामध्ये ८० प्रतिशत प्रशिक्षार्थीले तत्कालै रोजगारी पाएको सानोठिमी प्राविधिक शिक्षालयका प्रिन्सिपल चन्द्रकुमार ढुङ्गाना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘‘विदेशबाट फर्केपछि अधिकांश युवाले बल्ल तालिमको महत्व बुझेका छन् र वैदेशिक रोजगारमा जाँदा कम्तीमा एकखालको सीप सिकेर जानुपर्ने रहेछ भन्दै उनीहरु तालिम दिन आउने गरेका छन् ।’’

विदेशबाट फर्केकाहरुमा पैसा, सीप र व्यावसायिक भावनाको विकास भएकाले अधिकांशले स्वदेशमै विभिन्न व्यवसाय सञ्चालन गरी अरुलाई समेत रोजगारी दिन थालेका छन् । चार महिनाको तालिम लिएकै भरमा पनि देशभित्रै राम्रो आम्दानी गर्न सक्ने अवसर छ । भूकम्पपछि ध्वस्त भएका संरचनाहरुको निर्माण, मर्मत गर्न, यहाँका उद्योग कलकारखानामा यस्ता जनशक्तिको निकै आवश्यकता पर्ने भएकाले स्वदेशमै रोजगारी गर्न प्रिन्सिपल ढुङ्गानाको सुझाव छ ।

शिक्षालयले बेरोजगार तथा तालिम लिन इच्छुक युवाका लागि एड एट एक्सन इन्टरनेसनल नेपालको सहयोगमा युसेप नेपालद्वारा २०१० देखि साना सवारी सर्भिस मेकानिक, मोटरसाइकल सर्भिस मेकानिक, प्लम्बर, हाउस वाइरिङ, मोबाइल फोन मर्मत र सिलाइसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।

सन् २०१८ सम्म सञ्चालन हुने यस परियोजनाबाट वर्षमा २६० जनालाई तालिम प्रदान गरिने लक्ष्य रहेको एड एट एक्सन इन्टरनेसनलका राष्ट्रिय प्रतिनिधि सुजन न्यौपानेले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा रहेका बेरोजगार युवालाई सीप सिकाएर आयआर्जन गर्न प्रेरित गर्ने उद्देश्यले सञ्चालित यस परियोजनाबाट हालसम्म बागलुङमा २२५, सिराहामा ३०० र भक्तपुरमा ३६० जनाले तालिम प्राप्त गरिसकेका छन् । सप्तरी र बागलुङमा विद्यालय शिक्षा र जीविकोपार्जन शिक्षा तथा सिराहा, बागलुङ र भक्तपुरमा जीविकोपार्जन शिक्षाअन्तर्गत प्राविधिक तालिम सञ्चालन गरिएका छन् ।

बालबालिकालाई प्राथमिक तहदेखि नै गुणस्तरीय शिक्षा दिने र विभिन्न कारण विद्यालय वा क्याम्पस तहको पढाइ बीचमै छोड्न बाध्य युवालाई जीविकोपार्जन शिक्षाअन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

बालबालिका नियमित विद्यालय नआउने, अभिभावकमा चेतनाको कमीका कारण छोराछोरीलाई विद्यालय नपठाउने, शिक्षकमा तालिमको अभाव र विद्यालयमा बालमैत्री सिकाइको वातावरण नहुनुजस्ता कारणले पाठ्यक्रममा उल्लेख भएअनुसार सिकाइ नभएकाले समुदाय परिचालन गरी अभिभावकमा चेतना अभिवृद्धि गर्न परियोजनाले जोड दिएको न्यौपानेको भनाइ छ ।

आर्थिक कारण मात्रै नभएर अन्य सामाजिक कारणले पनि बीचमै पढाइ छाड्ने क्रम रहेको छ । उनीहरुलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बन्ने अवसर दिन सकिएमा दुव्र्यसनीमा लाग्ने वा बरालिएर हिंँड्ने अवस्था नहुने र देश विकासमा पनि ठूलो योगदान पुग्ने भएको भन्दै परियोजनाले प्राविधिक शिक्षामा जोड दिएको छ ।

रोजगार भनेको दाल भातमात्र होइन, देश निर्माण पनि हो राष्ट्रिय प्रतिनिधि न्यौपाने भन्नुहुन्छ – ‘‘तालिमको उद्देश्य रोजगारी दिनुमात्रै नभएर युवा शक्तिलाई राष्ट्र निर्माणमा सहभागी हुने अवसर प्राप्त हुनु पनि हो ।’’ महिलाको सहभागिता सङ्ख्यात्मकभन्दा पनि नयाँ व्यवसायमा सहभागिता देखिन थालेको छ ।

यसबाहेक परियोजनाले भूकम्पबाट प्रभावित लमजुङका तीन गाविस विचौर, इलमपोखरी र दूधपोखरीमा आपत्कालीन राहतका साथै त्यहाँका २१ वटा विद्यालयमध्ये पूर्णरुपमा ध्वस्त भएका १५ विद्यालयमा अस्थायी कक्षा सञ्चालन गर्न शैक्षिक सामग्रीहरु वितरण गरेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget