
अफगान राष्ट्रिय सेनाले अफगानिस्तानका विभिन्न प्रान्तमा तालिवान विरुद्ध सोमबार बिहानबाट मङ्गलबार बिहानसम्म सुरु गरेको कारबाहीमा परी कम्तीमा ५० तालिवानी मारिनुको साथै ३८ घाइते भएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी गएको सोमबार काबुल विमानस्थलनजिकै एक आत्मघाती आक्रमणमा पाँच सर्वधारणको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएका थिए ।
सो अवधिमा ३२ वटा बम र बारुदी सुरुङ्ग पनि सेनाले निष्क्रिय पारेको जनाइएको छ । सो कारबाहीको नै क्रममा छ अफगान सेनाले पनि ज्यान गुमाएका जारी विज्ञप्तिमा जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
तर हालैका दिनहरुमा अफगान सुरक्षाबल र नेटो सैनिकलाई समेत लक्ष्यगरी गर्ने तालिवान आतङ्ककारीले गर्ने गरेका आक्रमणहरुमा सुरक्षाबल र सर्वसाधारणको ज्यान जाने क्रम बढदै गएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा गत शुक्रबार भएको एक भीषण आत्मघाती आक्रमणमा परी एक नेटो सैनिकसहित कम्तीमा ५१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौं व्यक्ति घाइते भएका थिए ।
यस आक्रमणलाई यस वर्षको सबैभन्दा घातक हत्याका रुपमा लिइएको छ । तालिवान नेता मुल्लाह ओमारको मृत्यु घोषणा भएयताको यो पहिलो भीषण आक्रमण भएको बताइएको छ ।
अफगानिस्तानमा सन् २०१५ को पहिलो ६ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले गत हप्ता प्रकाशित गरेको प्रतिवेदनमा जनाएको थियो ।
अफगानिस्तानमा सन् २००९ को जनवरी १ बाट सन् २०१५ को जुनसम्म १९ हजार ३६० जनाभन्दा बढी नागरिक हताहत हुनुको साथै अन्य ३३ हजारभन्दा बढी घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको थियो ।
Post a Comment