
अदालतले शरणार्थीको आवेदनका पक्षमा फैसला गरेपछि पनि एकवर्षसम्म ग्रिनकार्डका लागि आवेदन दिन मिल्दैन । त्यसपछि आवेदन दिइसकेपछि पनि ग्रिनकार्ड आउन औषतमा ६ महिनादेखि १ वर्षसम्म लाग्ने गरेको छ । औषतमा शरणार्थीका लागि आवेदन दिनेहरुको पक्षमा अदालतले फैसला गरेमा पनि ग्रिनकार्ड पाउन झण्डै ५ वर्षको अवधि लाग्न थालेको छ । अदालतले विपक्षमा फैसला गर्दा १० देखि १५ वर्षसम्म अदालत र कानुनी कार्यालयहरु धाउने नेपालीहरुको संख्या पनि अमेरिकामा निकै ठूलो रहेको छ ।
यो त भयो ग्रिनकार्डको कुरा । ग्रिनकार्ड पाइसकेपछि पनि अमेरिकी नागरिकता लिनका लागि पाँचवर्ष कुर्नुपर्छ । ग्रिनकार्ड पाएको मितिले ५ वर्ष पुगिसकेपछि मात्र अमेरिकी नागरिकताका लागि आवेदन दिन सकिन्छ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गरेको छ भने ग्रिनकार्ड पाएको ३ वर्ष पुगेपछि पनि अमेरिकी नागरिकताका लागि आवेदन दिनसकिन्छ । यसरी एकातिरबाट अमेरिकी नागरिकता लिने प्रकृया अत्यन्तै जटिल र लामो रहेको छ । तर त्यही अमेरिकी नागरिकता विना ग्रिनकार्ड तीनमहिनामा नै पनि प्राप्त गर्न सकिन्छ । त्यसका लागि नेपालीहरु समेत योग्य रहेका छन् । अमेरिकी रक्षा मन्त्रालयले ल्याएको विशेष कार्यक्रम अन्तरगत ग्रिनकार्ड समेत प्राप्त नगरी भिसामा रहेको व्यक्तिले सिधै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छ ।
के हो यो विशेष कार्यक्रम ?
यो कार्यक्रमको नाम मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट अर्थात (माभ्नी) हो । यो कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुन सक्छ ।
सन् २००८ मा यो कार्यक्रम एकवर्षका लागि लागु गरिएको थियो । यो कार्यक्रम सन् २००९ को डिसेम्बरसम्मका लागि लागु गरिएको थियो । त्यतिबेला जम्मा १ हजार जनलाई भर्ती गर्ने लक्ष्य राखिएको थियो । त्यसपछि यो कार्यक्रम यत्तिकै थन्किएको थियो । पछि हरेक वर्ष १५ सय जनालाई भर्ति गर्ने गरी सन् २०१२ को मे १६ बाट यो कार्यक्रम पुन संचालन गरियो । जसको अवधि सन् २०१४ को सेप्टेम्बरको अन्त्यसम्म मात्र थियो । त्यसपछि यो कार्यक्रमको अवधि थपिनेमा आशंकाहरु थिए । तर सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्मका लागि यो कार्यक्रम थप्ने अनुमतिपत्रमा अण्डरसेक्रेटरी अफ डिफेन्स जेसिका राइटले हस्ताक्षर गरेपछि यो कार्यक्रमबाट अमेरिकामा रहेका नेपालीहरुले समेत फाइदा लिन पाउने भएका छन् ।
माभ्नी कार्यक्रमका लागि योग्यता
एसाइली, रिफ्युजी वा अस्थायी रुपमा कानुनी हैसियत संरक्षण गरिएका व्यक्ति यो कार्यक्रमका लागि योग्य हुन्छन् । अमेरिकाले ब्यापार सन्धी गरेका देशबाट अमेरिकामा ब्यापारमा संलग्न हुनका लागि आएका ‘ई’ भिसा भएका व्यक्ति, अमेरिकामा पत्रकार र संचारमाध्यमका कर्मचारीका रुपमा आएका ‘आई’ भिसा भएका व्यक्ति, अमेरिकामा विद्यार्थी भिसा (एफ भिसा) मा आएकाहरु, कामदार भिसा (एच भिसा) मा आएकाहरु, एक्सचेन्ज भिजिटरका रुपमा ‘जे’ भिसामा आएकाहरु, ‘के’, ‘एल’, ‘एम’, ‘ओ’, ‘पी’, ‘क्यु’, ‘आर’, ‘एस’, ‘टी’, ‘यु’, ‘भी’ लगायतका भिसा भएकाहरु यो कार्यक्रमबाट लाभान्वाति हुन सक्छन् । कलाकारका रुपमा आएकाहरुदेखि आपराधिक गतिविधिको शिकार भएकाहरु सम्मले यो कार्यक्रमबाट लाभ लिनसक्छन् ।
यो कार्यक्रम अन्तरगत स्वास्थ्य क्षेत्रका लागि भर्ती हुनेहरुले कम्तीमा ३ वर्ष सकृय रुपमा वा कम्तीमा ६ वर्ष रिजर्भका रुपमा काम गर्नुपर्छ । भाषाका क्षेत्रमा छनौट भएकाहरुले कम्तीमा ४ वर्ष सम्म सकृय रुपमा काम गर्नुपर्छ । नेपाली , हिन्दी, उर्दु लगायतका ४४ वटा भाषाहरुलाई यो कार्यक्रममा समावेश गरिएको छ । यो कार्यक्रमबाट फाइदा लिएर ग्रिनकार्ड समेत नभएका नेपालीहरु एकैपटक अमेरिकाको नागरिक बन्न सक्ने भएकाले यो कार्यक्रमप्रति अमेरिकामा रहेका तर ग्रिनकार्ड नभएका नेपाली युवाहरुको आकर्षण पनि बढ्दो रहेको छ ।
कसरी पाउने अमेरिकी नागरिकता ?
यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले झण्डै तीनमहिनामा नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ ।
त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ । अमेरिकी सेनाका बटालियन सर्जेन्ट मेजर डानियल मर्फी र अमेरिकी सेनाका क्याप्टेन डेभिड भिलारोलका अनुशार सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमसम्म सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।
माभ्नी कार्यक्रमबाट अमेरिकी नागरिक बनेका नेपाली ‘सोल्जर अफ द इयर’
यो कार्यक्रमप्रति जति नेपालीहरुको आकर्षण छ, विभागमा नेपालीहरुप्रतिको विश्वास पनि बढ्दो छ । किनभने केहीसमय अगाडि यो कार्यक्रमबाट अमेरिकी सेनामा प्रवेश गरेका एकजना नेपालीले ‘सोल्जर अफ द इयर’ को सम्मान र उपाधी नै प्राप्त गर्न सफल भए । काठमाडौंमा जन्मिएका र काठमाडौंमा नै हुर्किएका सरल कुमार श्रेष्ठले यस्तो विशिष्ट उपाधी प्राप्त गरेका हुन् । १७ वर्षको उमेरमा अध्ययनको शिलशिलामा अमेरिकामा आएका श्रेष्ठ सुरुमा फिलाडेल्फिया आएका थिए भने पछि नेब्रास्कामा गए ।
यत्तिकैमा सन् २००९ मा अमेरिकी सरकारको रक्षा मन्त्रालयले अमेरिकी नागरिकता वा ग्रिनकार्ड विना पनि अमेरिकी सेनामा भर्ती हुन सकिने माभ्नी कार्यक्रम ल्यायो । श्रेष्ठ यो कार्यक्रम अन्तरगत भर्ती भए र सन् २००९ को सेप्टेम्बरमा आधारभूत तालिममा गए । तालिम सकिनासाथ उनले अमेरिकी नागरिकता पनि प्राप्त गरे । सन् २०११ मा अफगानिस्तानमा खटिएका श्रेष्ठले लगातार कडा मिहिनेत गरे । जब उनी अमेरिकामा फर्के एउटा प्रतियोगितामा भाग लिएर वर्षकै उत्कृष्ट सिपाहीबाट सम्मानित भए । यसरी सरलका लागि माभ्नी कार्यक्रम बरदान सावित भयो ।
त्यस्तै नेपाली क्रिकेटमा सुनसरी टिमको कप्तानी गर्दा गर्दै अध्ययनको शिलशिलामा अमेरिकामा आएका थिए सुधाकर घले । उनी पनि माभ्नी कार्यक्रम अन्तरगत अमेरिकी सेनामा भर्ति भए । उनी भन्छन् –“ मेरो एमबीए सकिन लागेको थियो । ग्रयाजुएसनपछि के गर्ने भन्ने अन्यौल पनि थियो । रोजगारको त्यति राम्रो अवशर पनि थिएन । त्यसैले अमेरिकी सेनामा भर्ना भए“ ।” अस्थायी रुपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई स्थायी रुपमा बसोबासको सपना साकार गराउने भएकाले पनि सुधाकरको अमेरिकी सेनामा आकर्षण बढेको थियो । सुचिकृत भाषीका शिक्षित आप्रवासीहरुलाई अमेरिकी सेनामा भर्ना लिने सरकारी कार्यक्रम माभ्नी अन्तरगत सुधाकर जस्ता सयौं नेपाली युवाहरु अमेरिकी सेनामा भर्ना भएका छन् ।
आठ वर्षमा अमेरिकी सेनामा गएका १६८ नेपालीलाई नागरिकता
माभ्नी कार्यक्रम अन्तरगत ग्रिनकार्ड विना नै अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ भने ग्रिनकार्ड भएको व्यक्ति अमेरिकी सेनामा प्रवेश गरेमा पनि उसले अमेरिकी नागरिकताका लागि ५ वर्ष कुर्नुपर्दैन । माभ्नी कार्यक्रम आउनुअगाडि पनि ग्रिनकार्ड भएका कैयन नेपालीहरु अमेरिकी सेनामा प्रवेश गरेर अमेरिकी नागरिकता प्राप्त गरेका छन् । माभ्नी कार्यक्रम आउनु अगाडि सन् २००६ देखि सन् २००८ सम्म ३९ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर तुरुन्तै अमेरिकी नागरिकता प्राप्त गरेका थिए । सन् २००६ मा ११ जनाले , सन् २००७ मा १४ जनाले र सन् २००८ मा १४ जनाले यसरी अमेरेकी नागरिकता प्राप्त गरेका थिए । त्यो भन्दा अगाडि सन् २००५ मा ६ जनाले अमेरिकी सेनामा प्रवेश गरेर अमेरिकी नागरिकता प्राप्त गरेपनि त्यो भन्दा अगाडि यो प्रकृयाबाट कति जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरे भन्ने तथ्य अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छैन ।
माभ्नी कार्यक्रम आइसकेपछि अमेरिकी सेनामा भर्ती भएर अमेरिकन नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या ह्वात्तै बढ्यो । सन् २००९ मा माभ्नी कार्यक्रम लागु भएकै वर्ष जम्मा १० जना नेपालीहरुले अमेरिकी सेनामा प्रवेश गरेर अमेरिकन नागरिकता प्राप्त गरेका थिए । यो वर्ष अमेरिकी यसरी अमेरिकी नागरिकता पाउने तीनजना नेपाली त महिलाहरु थिए । त्यस्तै आर्थिक वर्ष २०१० मा ८१ जना नेपालीहरु अमेरिकी सेनामा प्रवेश गरेर अमेरिकी नागरिकता प्राप्त गरे । आर्थिक वर्ष २०१० को पहिलो ३ महिनासम्म माभ्नी कार्यक्रम जारी रहेकाले यति धेरै नेपालीहरुले अमेरिकी नागरिकता पाउन सफल भएका हुन् । तर त्यसपछि माभ्नी कार्यक्रम रोकिएकाले सन् २०११ मा भने अमेरिकी सेनामा प्रवेश गरेका जम्मा १४ जना नेपालीले अमेरिकी नागरिकता प्राप्त गरे । सन् २०१२ मा १८ जना नेपालीले अमेरिकी सेनामा प्रवेश गरेर अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।
लेखक न्युयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् ।
source:-zoomnp
Post a Comment