संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका क्रममा बिहान राजमार्ग खुलाउने क्रममा प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुँदा स्थानीयवासी ३५ वर्षीय राजीव राउतको मृत्यु भएको हो ।

त्यस्तै सोही ठाउँका दीपक साह, देवनारायण विश्वासलगायत छ व्यक्तिसमेत घाइते भएको स्थानीयवासी गङ्गाप्रसाद साहले बताउनुभयो । उनीहरुको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको बताइएको छ । प्रदर्शनकारीले ट्राफिक प्रहरी बिटमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।
सो क्रममा प्रहरीले १७ राउन्ड हवाई फयर गर्नाका साथै ३२ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले सो ठाउँको अवस्था तनावग्रस्त छ । प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।
यसैबीच प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ताको मृत्यु भएको भन्दै मोर्चाका कार्यकर्ताले सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह र सिरहासँग जोडिएको लहानमा हजाराँै गाडी रोकिएका छन् ।
Post a Comment