
पुनर्निर्माण गर्नुपर्ने छ । मानिसहरु घरभत्काउन मान्दैनन् । अब के गर्ने ? मेरो पालो शक्तिशाली व्यक्तिहरुकै घर भत्काएर पुनर्निर्माण रोकिँदैन भन्ने सन्देश दिएँ । सञ्चारमन्त्री मिनेन्द्र रिजालको घर, वनमन्त्री महेश आचार्यको घर, पूर्वमन्त्री जेपी गुप्ताको घर, कोइराला निवासको केही भाग, सुजता कोइरालाको कम्पाउण्ड वाल भत्काउन लगाएँ । बहालवाला मन्त्रीहरुकै घर सडक विस्तारका लागि भत्कन थालेपछि विराटनगरवासीमा विश्वास भयो, काम त उपमहानगरपालिकाले नरोक्ने रैछ । अब सडकमा परेको घर भत्काउनै पर्छ भन्ने बल्ल लाग्यो । अहिले कतै डोजर लगाउनु परेको छैन । एकजना शक्तिशालीले गृहमन्त्री, डिआइजीसँग कुरा भइरहेको छ, मेरो घर भत्काउन पर्दैन, भत्काउन दिन्न भनिरहेका रैछन् । भत्काउ भन्दा अटेर गरे । डोजर नै लगाउनु पर्यो ।
तेरो परिवारलाई उठाइदिन्छु, तलाई सिध्याइदिन्छु, यो गर्छु, त्यो गर्छु भनेर धम्की त कति कति । धम्कीबाट डराएर पछि सर्ने हो भने काम कहिले गर्ने ? कसरी गर्ने ? विराटनगर स्थापना भएको १ सय वर्ष पूरा भयो । सहरको हालत खराब छ । म कुनै मेयर हैन, जनप्रतिनिधि पनि हैन । सरकारी कर्मचारी हुँ । तर विराटनगर मै जन्मी हुर्की गरेको र अहिले उपमहानगरपालिकाको कार्यकारी अधिकृत पनि भएकोले जनप्रतिनिधिले गर्न नसक्ने काममा हात हालँे । यो काम जनताबाट चुनिएकाहरुका लागि निक्कै गाह्रो हुन्छ । किनभने उनीहरुले जनताको मत लिएका हुन्छन् । अपजस लिन कोही नचाहने, तर मनमा विराटनगरका सडक विस्तार र पुर्निर्माण गर्नुपर्छ भन्ने सबैको मनमा थियो । अहिले विराटनगरका गल्ली गल्ली भत्केका छन् । हिड्डुल गर्न अति गाह्रो छ । बिहान सातबजे कार्यालय पुग्छु, साँझसम्म काम गर्छु, कामसँगै आलोचना, गाली धम्की खेपिरहन्छु । भत्काउन जान्नेले बनाउने चाहिँ कहिले हो ? सबैले यहि प्रश्न सोध्छन्, सबैलाई भन्ने गरेको छु, कम्तिमा एक वर्ष दुःख गरिदिनुस् ।
‘कलर जोन’ र २२ वडामा २२ किसिमका फूल
मेरो चाहना विराटनगरका मानिसहरुले टोलटोल र सडक छेउमा फूलेका फूलको रङ हेरेर वडा नम्बर थाह पाऊन् भन्ने छ । २२ वडामा २२ किशिमका फूलका रुख, वा बुट्यान रोप्ने र सहरलाई हरियाली र सुन्दर बनाउने छ । सबैभन्दा गाह्रो बिरुवा हुर्काउन छ । सडक छेउमा बिरुवा रोप्यो, गाईवस्तुले खाइदिन्छन् । कसैले गाइवस्तु धपाउँदैनन् । सडक विस्तार होस, बिरुवा रोप्ने ठाउँ निस्कन्छ । अनि हुर्केकै बिरुवा रोप्ने योजना बनाएको छु । केही समय लाग्ला । अहिले भत्कदै गरेका घरका मालिकहरुलाई भनेको छु, भत्काएपछि जब घर बनाउनु हुन्छ, बाहिरी भागमा रङ नलगाउनु होला । एउटै किशिमको रङ सबै घरमा नगरपालिकाले नै लगाइदिन्छ । कम्तिमा डेढ वर्ष सरुवामा परिन भने विराटनगरलाई ‘कलर जोन’ बनाएरै छाड्छु ।

पैसाको जोहो
विराटनगरलाई ‘रि–कन्स्ट्रक्ट’ गर्ने चाहना मात्रै भएर हुँदैन थियो । पैसा पनि चाहिन्थ्यो । मझौला एकीकृत सहरको वातावरणीय सुधार आयोजनामा विराटनगर उपमहानगरपालिका पनि पर्यो । एसियाली विकास बैंक(एडिबी)को परामर्शदाताले सहर सुधारका लागि ७ अर्ब लाग्छ भन्यो । एडिबीले २ अर्ब ३७ करोड दिन्छु भन्यो । मैले दिने भए काम टुंगोमा पुग्ने गरी देऊ नत्र चाहिँदैन भने । त्यति भनेपछि १० मिलियन डलर अर्थात करिब १ अर्ब थप्यो । नगरपालिकाकै केही लगानी, केही सफ्ट लोन जोडेर पैसा पुग्छ जस्तो लाग्यो । अनि आँटे । एडिबीले दिएको यो पैसा चाहिँ खास ढलको लागि हो । राजमार्ग पश्चिममा ४ र पूर्वमा ४ वटा ढल बनाउने काम जारी छ । ढल बनाउँदा सडक खन्नु पर्छ । फेरि बनाउनु पर्छ । अनि साँघुरो सडक फेरि बनाउनुको के अर्थ ? अनि विस्तारलाई पनि यहि बेला जोडिदिएँ । अब डेढ वर्षपछि विराटनगरको स्वरुप बेग्लै हुन्छ । गरिएका काम गुणस्तरीय हुनेछन् । त्यो ग्यारेन्टी गर्छु ।
भू–माफियासँगको टक्कर
विराटनगर बजारको मुख्य क्षेत्रमा नगरपालिकाको चारवटा टुक्रा जमिन छ । ती जमिनको मूल्य करोडौंमा जान्छ । ती मध्ये २ टुक्रा जमिनमा ३० सालदेखि भू–माफियाले ओगटेर व्यापार गर्न अरुलाई दिएका थिए । त्यहाँ तरकारी बजार थियो । जमिन उपयोग गर्ने तर भाडा चाहिँ नबुझाउने चलन थियो । अशोक कोइराला, रमेशचन्द्र पौडेल, प्रल्हाद साह बाहेक पञ्चायतकालका मेयरहरुले पनि नगरपालिको जमिन माफियाको चुंगलबाट जोगाउन सकेका थिएनन् । भाडा लिन जाने कर्मचारीलाई तरबारले लखट्न थालेपछि त्यो जमिन खाली गर्ने निर्णयमा पुगेँ । तर त्यहाँका केही व्यापारी र केही माफियाहरु मान्छे जम्मा गर्छौ, कसरी हटाउँछस् हेर्छौ भन्न थाले । मान्छे जम्मा गर्ने धम्की पछि मैले पनि नगरपालिकाका सफाइ मजदुरदेखि सबै कर्मचारीलाई जमिन खाली गराउँने दिन सोही क्षेत्रमा आएर हाजिर गर्नु भन्ने निर्देशन दिएँ । किनभने नगरपालिकामा पनि ४–५ सय त थियौं । तर त्यस्तो केही भएन । भत्काउन थालेपछि अगाडि कोही सरेनन् ।
दिनहुँ धम्की, दिनहुँ प्रतिवाद
अहिले विराटनगरमा जताततै भत्केको मात्रै देखिन्छ । बनाउका लागि सुरुमा त भत्काउनै पर्यो । भत्केको बिग्रको सडक भवन आदिले मानिसहरुलाई धेरै गाह्रो भएको छ । धेरैको घर भत्काउनु परेको छ । कतिपय रिसाएका छन् । फोनबाट, सोझै आएर पनि कतिपयले धम्क्याउँछन् । ज–जसले जे जे भनेर गाली गरे पनि मैले उनीहरुलाई दूईवटा विकल्प दिने गरेको छु । ती दुई विकल्प भनेको काम गर्न दिनुस वा मेरो सरुवा गराई दिनुस भन्ने मात्रै हो । मेरो विरोध गर्नेलाई म यति भन्छु,‘ जे जे गर्नुछ गर्नुस, तर काम चाहिँ हुन दिनुस् ।
-kathmandutoday
Post a Comment