
ड्यालस (अमेरिका)– गत साता दुर्घटनामा निधन भएका नेपाली वैज्ञानिक किरण लामिछानेको मंगलबार ड्यालसमा नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
दाहसंस्कार अघि स्व. किरणप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । उक्त सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले स्व. किरणको निधनबाट नेपालले एउटा असल र क्षमतावान व्यक्तित्वलाई गुमाउनु परेको बताए । उनले परिवारलाई पर्न गएको पीडालाई कुनैपनि शव्दले व्यक्त गर्न नसकिने उल्लेख गरे ।
स्व. किरणका दाजु तथा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रममा बाल्यकालदेखिका प्रसंगहरु निकाल्नुहुँदै सानैदेखि सारै भलादमी भएका कारण हजुरआमाले ‘साधु’ नाम राखेको चर्चा गरे । पछि काठमाडौं आएपछि भाईको इच्छामा आफैंले नाम फेरेर किरण नाम राखेको प्रसंगसम्म राख्नुहुँदा उपस्थित नेपालीहरुको मन निकै भक्कानिएको थियो ।

कार्यक्रममा स्व. किरणका साथीहरुले किरण देख्दा सामान्य, जीवनशैली सरल भएपनि उनको सोचाई अनि विचार असाधारण अनि अद्वितीय रहेको चर्चा गरेका थिए ।
कार्यक्रममा ड्यालस मात्र नभएर स्व. किरणलाई चिन्नेजान्ने ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो । स्व. किरणको शवमा दाई नाता पर्ने कोलोराडोबाट अाएका बुद्धि लामिछानेले दागबत्ति दिएका थिए ।
Post a Comment